चिकित्सक–नर्स : काममा सँगसँगै, अधिकारमा फरक 



Download our app to get more features

काठमाडौं, १ असोज । नेपाल नर्सिङ परिषद्का अनुसार नेपालमा करिब ८० हजार नर्स छन् । यस्तै नेपाल चिकित्सक संघका अनुसार नेपालमा हाल २० हजारको संख्यामा चिकित्सक छन् । डाक्टरले बिरामीको चेकजाँच गरिसकेपछि बिरामीको सम्पूर्ण रेखदेख गर्ने नर्सले नै हो । नर्सले आफ्नो भूमिका यदि सक्रिय रूपमा निर्वाह गरेनन् भने बिरामीको अवस्था झन् नाजुक हुनसक्छ । किनकी बिरामीले खाने औषधिदेखि बिरामीको सम्पूर्ण अवस्थाको ख्याल गर्ने भनेको नर्स नै हुन् । अस्पतालमा डाक्टर र नर्सको सम्बन्धका कारण नै बिरामीको सेवा सुविधा दिन सहज हुने गर्छ र बिरामी निको भएर घर फर्कने गर्छ । 

बिरामीको रेखदेखका लागि यदि नर्स भएन भने डाक्टरहरूले लेखेको वा के भनेको छ भन्ने बुझ्न बिरामीलाई निकै समस्या हुन्छ । यसकारण अस्पतालमा यी दुईको महत्व कसैले पनि बुझ्न सक्दैन । तर, जब नर्स वा डाक्टहरूको अधिकारको लागि आन्दोलन गर्छन त्यसबेला नर्स र चिकित्सक बिलकुलै फरक हुन्छन । उनीहरूको बाटो सँधै अलग हुन्छ । चिकित्सकको आन्दोलन हुँदा नर्सको सहभागिता हुँदैन भने नर्सको आन्दोलनमा चिकित्सको भूमिका हुँदैन । २० हजार चिकित्सकका लागि सबैले आ–आफ्नो स्थानबाट प्रयास गर्दै अघि बढ्छ भने नर्सलाई महिला भएकै कारण हेप्नेहरूको संख्या पनि धेरै छ । खासमा नर्सका कुराहरू उठाइदिने, उनीहरूको समस्या समाधान गरिदिने र नर्सलाई सम्मानका साथ सबै स्थानमा राख्नका लागि पनि खासै सबैको प्रयास भएको देखिदैन । 

अचम्म लाग्दो अवस्था त्यस बखत हुन्छ जब डाक्टरको आन्दोलनमा नर्सको संलग्नता हँुदैन र नर्सको आन्दोलनमा डाक्टरको भूमिका हुँदैन । डाक्टर बिना नर्स र नर्स बिना डाक्टरको काम अधुरो हुन्छ । तर, यी दुईबीच नै समन्वय नहुँदा यी दुईको तालमेल अन्य काममा पनि सोचे अनुसारको हुँदैन ।नर्सहरूका लागि मुलुकका ठूला निकायहरूमा भएका पदहरू पनि खारेज गरेर नर्सको अस्तित्व नै सरकारले धरापमा पार्न खोज्दा पनि नर्सको लागि आवाज उठाउने कोहि भेटिँदैन । हुन त नर्सको हकहितका लागि भनेर नेपाल नर्सिङ संघ त छ तर नर्सको मागमा भने सरकारकै पनि खासै चासो देखिँदैन । डाक्टरहरूको आन्दोलन हुँदा सम्पूर्ण डाक्टरका साथै मानवअधिकारकर्मी, सर्वसाधारण सडकमा उत्रिन्छन् तर नर्सको आन्दोलनलाई सँधै दबाइएको देखिन्छ । 

नर्सका अधिकार डाक्टरलाई थाहा नहुनसक्छ : डा. कार्की
जसरी डाक्टरको अधिकारका लागि सबै एकजुट हुन्छन् त्यसरी नै नर्सहरूको आन्दोलनमा कोहीपनि अगाडी आएको देखिदैन । डाक्टरहरूले किन नर्सको आन्दोलनमा सहभागिता जनाउँदैन भन्ने जिज्ञासाको बारेमा नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की भन्छन्, ‘सबैको हक हितका लागि संस्थाहरू छन् । उनीहरूले आफ्नो हक अधिकारका लागि आफैंले आवाज उठाउन सक्नुपर्छ ।’

डा. कार्कीका अनुसार नर्सहरूको आफ्नै पीडा भएको हुँदा आफूले कुन मागलाई कसरी उठाउने भन्ने नै थाहा नहुँदा समस्या भएको हो । उनले भने, ‘आन्दोलनमा जाँदा वा कुनै पनि समस्या हुँदा डाक्टरहरूको साथ खोज्ने भन्दा पनि आफैं बलियो भएर अगाडी आउनुपर्छ । फेरि यस्तो बेलामा डाक्टरले पाउने अधिकार नर्सलाई पनि उस्तै हुन्छ भन्ने हुँदैन । सबैको हक अधिकार फरक फरक हुन्छ ।’ उनले थपे, ‘नर्स र डाक्टर एकै सिक्काका दुई पाटा हुन्, त्यहि भएर हामी सँधै समानान्तर ढंगबाट अघि बढ्न खोज्छौं । तर, नर्सहरूले नै हामीलाई वास्ता गर्दैनन् ।’ 

 

विधेयकमै विभेद : पोखरेल
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमै असन्तुष्ट रहेको नर्सिङ संघले विधेयकको नाम परिवर्तन गर्नुपर्छ भन्दै आएको छ । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले चिकित्सा शिक्षा विधेयकमा नर्सको सम्बन्धमा कुनैपनि कुरा उल्लेख नगरेको भन्दै विधेयक हामीलाई स्वीकार्य नहुने बताइन् । उनले भनिन्, ‘चिकित्साको अर्थ चिकित्सा क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्ति हो तर, चिकित्सा शिक्षा विधेयकमा नर्सिङको बारेमा कतै उल्लेख नै छैन । त्यसकारण यो विभेदकारी विधेयक स्वीकार्य हुँदैन ।’
अध्यक्ष पोखरेलले नर्सलाई समस्या परेको बेला चिकित्सकले वास्ता नगर्ने हुनाले उनीहरूको आन्दोलनमा सहभागिता नजनाएको बताइन् । 
समग्रमा हेर्दा नर्सको आन्दोलनमा सरकारले निर्वाह गरेको भूमिका डाक्टरको आन्दोलमा गरेको भूमिका भन्दा फरक हुने गरेको छ । सरकार २० हजार चिकित्सकका लागि ठोस निर्णय, नीति निर्माण गर्छ भने ८० हजार नर्सहरूको लागि भएको पदहरू खोस्दै जाँदा नर्सहरूको अस्तित्व नै जोखिममा पारेको देखिन्छ ।

सरकारले गरेको यो भेदभावबाट नर्सहरूदुखि हुनु पनि स्वभाविक हो । किनकी हाल मुलुकमा प्रतिवर्ष सरदर ७ हजार ७ सय ४० को संख्यामा विभिन्न तहका नयाँ नर्सिङ्ग जनशक्तिको उत्पादन भइरहेका छन् । अर्कोतिर वर्षेनी करिब एक, दुई सयको हाराहारीमा नयाँ बिएस्सी नर्सिङ्ग विदेशबाट अध्ययन गरी फर्किन्छन् । हाल नेपाल सरकार मातहतको सरकारी तथा सरकारी स्वामित्वमा रहेका अस्पतालहरूमा साधारणता एक नर्स बराबर २०–२५ जना बिरामीलाई जनरल वार्डमा सेवा पु¥याउँदै आइरहेको देखिन्छ । यति धेरै संख्यामा नर्सहरू उत्पादन हुँदा पनि उनीहरूलाई बेवास्ता गर्नाले स्वास्थ्य क्षेत्रमा यसै पनि ठूलो प्रभाव पर्ने देखिन्छ ।

हजार जनाका लागि ५ जना नर्स
सन् ०१२ को तथ्याङ्क अनुसार नेपालमा प्रति हजार जनसंख्यामा ०.०५ नर्सिङ्ग जनशक्ति रहेको देखिन्छ । जबकी विश्व स्वास्थ्य संगठनको अनुसार गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न प्रति हजार जनसंख्यामा २३ नर्सिङ्ग जनशक्तिको व्यवस्था हुनुपर्छ भनी निर्धारण गरेको छ । कुनै पनि राष्ट्रको स्वास्थ्य क्षेत्रको मानव संसाधन सम्बन्धी दीर्घकालीन, मध्यकालीन तथा अल्पकालीन नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नु राज्यको दायित्व हो ।  

मानव संसाधन योजनाको मूल उद्देश्य विद्यमान अवस्थाको विश्लेषण गरी मुलुकको जनसंख्यामा भावी दिनहरूमा आउने परिवर्तन, जनस्वास्थ्यका चुनौतिहरू पहिल्याउनु पर्ने हुन्छ । स्वास्थ्य क्षेत्रको मानव संसाधन योजना महत्वपूर्ण रूपमा अन्तर्राष्ट्रिय जगतमा लिएको पाइन्छ ।  यसो गर्न सके मात्र लक्ष्य अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नको लागि सहयोग मिल्छ । विद्यमान अवस्था विश्वभर स्वास्थ्य सेवा क्षेत्रमा स्वास्थ्य जनशक्ति मध्येको ठूलो हिस्सा ओटेको नर्सिङ्ग जनशक्ति रहेको अवस्था जगजाहेर छ । 

नर्सिङ्ग तथा मिड्वाइफ्री जनशक्ति र जनसंख्याको अनुपातका साथै चिकित्सक र जनसंख्याको अनुपात देशको आर्थिक र सामाजिक स्तरको विकासको अवस्थासँगै फरक फरक रहेको पाइन्छ । सामान्यतया स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्ने राष्ट्रहरूमा स्वास्थ्य जनशक्तिको बलियो उपस्थिति देखिन्छ ।  यसको अनुपात विकासशील मुलुकहरूको दाँजोमा विकसित मुलुकमा राम्रो रहेको पाइन्छ ।

(हाम्रो डक्टर म्यागजिनबाट)

Last modified on 2018-09-18 07:33:13

1 Comments

  1. I want to inform that if medical officer doctor want to achieve the higher education of MD/ MS they have a lots of MOH seat but we nurses if we want to study Master in nursing there is only 1 seat at MNc and 4 seat for PHAS. why a lots of different in rules and regulation .plz advocate for nursing knowledge at in satisfactory way.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts