प्राडा डिएन शाह न्याम्सको उपकुलपति बन्ने करिब पक्का 



Download our app to get more features

काठमाडौं, १ असोज । प्राडा डिएन शाह चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको उपकुलपति बन्ने करिब पक्का भएको छ । सरकारी चिकित्सक संघसहित न्याम्सका विद्यार्थीले प्रतिष्ठान बाहिरबाट उपकुलपति बनाउन नहुने माग गरिरहदा पनि छनौट समितिले प्राडा डिएन शाहलाई एक नम्बरमा राख्दै उपकुलपतिमा सिफारिस गरेपछि यस्तो पुष्टि भएको हो । समितिले प्राडा शाहसहित  डा. ढुन्डी पौडेल र प्राडा अजित रायमाझीको नाम सिफारिस गरेको छ ।

उपकुलपतिका सर्ट लिष्टेड ६ मध्ये कार्ययोजना प्रस्तुतिमा उत्कृष्ट ठहरिएका ३ जनाको नाम सिफारिस गर्ने निर्णय भएको समितिले जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रीको संयोजकत्वमा गठित समितिले छनोटमा परेका ६ जनाको कार्ययोजना आइतबार सुनेको थियो ।  कार्ययोजना सुनेपछि आज बसेको छनोट समितिको बैठकले डा. डिएन शाह, डा ढुण्डी पौडेल र डा. अजित रायमाझीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। 

यसअघि न्याम्सका प्राध्यापक तथा विद्यार्थीले न्याम्स भन्दा बाहिरको व्यक्तिलाई उपकुलपति बनाउन लागेको भन्दै विरोध गरेका थिए । सिफारिसमा परेका मध्ये डा. ढुण्डी पौडेल न्याम्स अन्तर्गत कार्यरत छन् भने डा. डिएन शाह ग्रान्डी अस्पतालमा कार्यरत छन । यस्तै डा. अजित रायमाझी कान्ति बाल अस्पतालमा कार्यरत छन् । समितिले उपकुलपतिका लागि आवेदन दिएका २२ जनामध्ये ६ जनालाई प्रारम्भिक रुपमा छनोट गरेको थियो। 

समितिले छनोट गरेको नामका आधारमा प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपकुलपति नियुक्तीका लागि कुलपति तथा प्रधानमन्त्रीलाई नाम सिफारिस गर्नेछन्। सोही आधारमा प्रधामनमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन्। तीन सदस्यीय छनोट समितिमा मन्त्री उपेन्द्र यादव, प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटा सदस्य छन्। 

Last modified on 2018-09-18 07:32:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts