‘एलोफिवर भ्याक्सिन’ अभाव हुँदा १५ जना उच्च अधिकारीको भ्रमण अन्यौलमा



Download our app to get more features

काठमाडौ ४ असोज । ‘एलोफिवर भ्याक्सिन’ अभावले गर्दा १५ जना सरकारी उच्च अधिकारीहरुको अफ्रिका भ्रमण अन्यौलमा परेको छ ।

दुई महिना देखि शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा एलोफिवर भ्याक्सिनको अभाव भएको छ । देशभर टेकु अस्पतालमा मात्रै उपलब्ध हुने एलोफिवर भ्याक्सिनको अभावले तय गरिसकेको १५ जना सरकारी उच्च अधिकारीहरुको अफ्रिका भ्रमण अन्यौलमा परेको हो । ‘प्राविधिक कारणले भ्याक्सिन अभाव हुन पुगेको हो ।’

अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेले भने, ‘हामी उपलब्ध गराउने प्रयास गरीरहेका छौं ।’ प्रत्येक दिन सरकारी अधिकारीहरुको एलोफिवर भ्याक्सिन लगाउन आउने क्रम बढिरहेको छ । एसियाका देशहरुमा जापानीज इन्सेफ्लाइटीसको समस्या छ भने अफ्रिकन देशमा एलोफिवरको समस्या रहेको छ ।

चिकित्सकका अनुसार एकपटक लगाएको एलोफिवर भ्याक्सिनले दश वर्षसम्म काम गर्छ । अफ्रिकी देश जाने संघीय, परराष्ट्र र अर्थका कर्मचारी बढी अस्पतालका अनुसार प्रत्येक महिना कम्तिमा ५० जना नेपालीहरुलाई एलोफिवर भ्याक्सिन लगाउने गरिन्छ । तर, दुई महिनादेखि भ्याक्सिन अभाव भएका कारण सेवा अवरुद्ध भएको छ ।

अफ्रिकी देशहरुमा फैलिएको रोग नेपालमा र नेपालमा भएका रोग अफ्रिका नजाओस भनेर एलोफिवरको भ्याक्सीन दिने गरिन्छ । बाहिर बजारमा एलोफिवर भ्याक्सिन उपलब्ध भएपनि टेकु अस्पतालले मात्रै प्रयोग गर्ने प्रावधान रहेको छ । बाहिर लगाएको भ्याक्सिनलाई मान्यता नदिने भएकाले नेपालभर टेकु अस्पतालको मात्रै मान्यता रहेको छ ।

डा. पाण्डेले भने, ‘भ्याक्सिन बाहिर बजारमा पनि पाइन्छ । तर, हाम्रो अस्पतालमा भ्याक्सिन लगाएको पहेलो कार्ड नहुँदा सम्म एयरपोर्टबाट स्वीकृति दिइदैन ।’ उच्च सरकारी अधिकारीहरुले एलोफिवर भ्याक्सिन लगाउँन भन्दै दिनहु भ्रमणमा जानेको सूचि पठाएपछि शहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल दवावमा परेको छ ।

लामखुट्टेबाट लाग्ने यस रोगबाट जोगिनका लागि यो भ्याक्सिन लगाउने गरिन्छ । विशेषगरी अफ्रिकी मुलुकमा महामारीको रुपमा देखिएको येल्लो फिवरबाट जोगिनका लागि नेपालीहरुलाई यो भ्याक्सिन लगाउने गरिएको छ। कुनैपनि नेपाली अफ्रिकन मुलुक जाँदै गरेको वा जान चाहन्छन् भने र पछिल्लो समय ल्याटिन अमेरिका र मरिससमा पनि यो रोग देखिएकोले त्यस क्षेत्रमा पनि जाने नेपालीलाई रोगबाट जोगिनका लागि यो भ्याक्सिन लगाउने गरिएको छ ।

Last modified on 2018-09-20 13:42:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts