सर्वोच्चको आदेश अवज्ञा गर्दै अस्पताल भित्र निजी फार्मेसी, गलत औषधि बिक्रि गरेको खुलासा



Download our app to get more features

काठमाडौं, ५ असोज । जनकपुर अञ्चल अस्पतालको ओपीडीमा गर्भवती जाँचका लागि आएका सेवाग्राहीलाई डा. विजय कापरले पोलिक एसिड सेवन गर्न सुझाव दिए ।

डाक्टरको सल्लाहअनुसार गर्भवती महिलाले अस्पताल परिसरकै प्रिन्स फार्मेसीबाट औषधि खरिद गरिन् । खरिद गरेको औषधि कन्फर्म गराउन पुनः डा. कापरसँग भेटन आउँदा फार्मेसीले अर्कै औषधि दिएर पठाइएको पाइयो । कापरले फार्मेसी सञ्चालकलाई बोलाएर ल्याउनभन्दा फार्मेसी सञ्चालकले औषधि फिर्ता लिएर ग्राहकलाई अन्तै औषधि खरिद गर्न पठाइदिए । फार्मेसी सञ्चालकले कम्पोजिसन मिलाएर मुनाफा हुने औषधि दिएको डा.कापरले बताए ।

फार्मेसी सञ्चालकले डाक्टरले सुझाएको औषधिभन्दा पनि मुनाफा बढी पाइने कम्पनीको औषधि बिरामीलाई थमाएपछि यहाँ उपचार गराउन आउनेहरू ठगीमा पर्ने गरेको कापरले बताए । अस्पताल परिसरकै फार्मेसीले लापरवाही गरेको छ, डा. कापरले भने, ‘अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा आइसकेपछि परिसरभित्र फार्मेसी चलाउन पाइँदैन । अटेरी गरेर परिसरभित्र सञ्चालनमा रहेको फार्मेसी औषधि बिक्री वितरणमा लापरवाही गर्दै आएको छ ।’ 

जनकपुर अञ्चल अस्पतालमा उपचार गराउन आउने बिरामीलाई सहुलियत दरमा औषधि उपलब्ध गराउन अस्पतालले फार्मेसी सञ्चालन गरेको छ । अस्पतालको फार्मेसी सञ्चालन भएपछि परिसरभित्रका फार्मेसी पटकपटक खाली गर्न अस्पताल प्रशासनले पत्राचार गरेपनि निजी फार्मेसीले अटेर गर्दै आएको छ ।

अस्पताल परिसरभित्र रहेर भाडा नतिर्ने फार्मेसीहरूले औषधिमा सेवाग्राहीसँग चर्को शुल्क र प्रायोजित औषधि बिक्री गर्ने गरेको छ । फार्मेसीले कमिसन बढी आउने र उपहार प्राप्त हुने औषधि बेच्दा बिरामी मारमा पर्दै आएका छन् । 

स्वास्थ्य मन्त्रालय र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनलायले अस्पतालको फार्मेसीलाई प्रभावकारी बनाउन परिसरभित्र रहेको निजी फार्मेसी बन्द गर्न दिर्नेशन दिएको छ । तर, जनकपुर अञ्चल अस्पतालको निजी फार्मेसी निर्वाद रूपमा सञ्चालन भइरहेको छ । अस्पताल प्रशासनले परिसरभित्रको निजी फार्मेसी खाली गराउन पटकपटक पत्रचार गर्दा पनि अटेरी गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरिक्षण यादवले बताए ।

यस्तै, बारा जिल्ला अस्पताल, कलैयाको सटरमा पनि गैरकानुनी ढंगले निजी फार्मेसी सञ्चालनमा रहेको पाइएको छ । अस्पतालको मूख्य प्रवेशद्वारसँगै रहेका सटरमा केही व्यवसायीले बर्षौंदेखि अवैध तरिकाले फार्मेसी सञ्चालन गर्दै आएका छन् । 

सर्वोच्च अदालतले २०७२ असार १३ मा चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र अन्य सबै सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने र अस्पताल परिसरका निजी फार्मेसी बन्द गराउने आदेश दिएको थियो । 

सर्वोच्चको आदेशपछि कलैया अस्पतालले फार्मेसी सञ्चालनमा ल्याए पनि निजी फार्मेसीलाई बन्द गराउन सकेको छैन ।

Last modified on 2018-09-21 13:09:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts