जापान सरकारद्वारा त्रिवि शिक्षण अस्पताललाई एक अर्ब बराबरको उपकरण सहयोग



Download our app to get more features

काठमाडौं, ८ असोज । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ । 

तेस्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले करीब एक अर्ब बराबरको भौतिक एवं चिकित्सकीय उपकरण अस्पताललार्इ हस्तान्तरण गरेको हो। यहाँ आज आयोजित कार्यक्रममा प्रदान गरिएका ती सामग्रीमा डिजिटल मनोग्राफ, सिएम एक्सरे मेसिन, भेन्टिलेटर, प्याटिएण्ट मनिटर, एनेथेसिया मसिन, भिडियो अर्थस्कोपी सेटलगायत छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई नेपालका लागि जापानका राजदूत मासामिसी साइगो र जाइकाका नेपाल प्रतिनिधि जुन साकुमाले ती सामग्री हस्तान्तरण गरेका हुन् । जाइकाले त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधार एवं उपकरणका लागि सन् १९८३ मा सर्वप्रथम र सन् १९९२ मा दोस्रो पटक सहयोग प्रदान गरेको थियो । करीब सात सय शय्याको सो अस्पतालमा चिकित्सा विधाका सबै तहका अध्ययन एवं अध्यापन हुने गर्दछ । शिक्षण अस्पतालमा सबै भौतिक संरचना जापानी नमूनामा बनेका छन् । सन् २०१५ को विनाशकारी भूकम्पले अस्पतालको भौतिक संरचनालाई क्षति पु¥याएको थिएन । 

जापान सरकारको सहयोग महत्वपूर्ण : शिक्षामन्त्री
कार्यक्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा र स्वास्थ्य सेवा सुधारमा जापान सरकारको सहयोग महत्वपूर्ण रहेको बताए । ‘जापानी राजदूत साइगोले नेपालको आर्थिक एवं सामाजिक विकासमा आगामी दिनमा जापान सरकारले निरन्तर सहयोग जारी राख्नेछ’ उनले भने । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनिया, चिकित्सा अध्ययन संस्थानका डिन प्राडा जगदीश अग्रवाल, अस्पतालका पूर्व कार्यकारी निर्देशक प्राडा दीपकप्रकाश महराले शिक्षण अस्पतालको विकासमा जापान सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद दिए । रासस

Last modified on 2018-09-25 07:14:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts