मुलुकी ऐन संशोधन गराउन चिकित्सक संघले यसरी लगायो ‘हाइप्रोफाइल बिजनेशमेनको ज्याक’



Download our app to get more features

काठमाण्डौ, ८ असोज । मुलुकी ऐनलाई विस्थापन गर्न बनेको मुलुकी अपराध संहिता तथा मुलुकी देवानी संहितामा कयौं विवादास्पद दफा भएसँगै समाजका विभिन्न पेशाकर्मीहरुले संशोधनको माग राखिरहेका छन् ।

यसैक्रममा मुलुकी अपराध संहितामा भएका बुँदाहरुमा असन्तुष्टि जनाउँदै चिकित्सा क्षेत्र आन्दोलित भएको एक महिना नाघिसकेको छ । मुलुकी अपराध संहितामा भएका व्यवस्थाहरुले उपचारै गर्न नसकिने अवस्था आएको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा संघर्षका कार्यक्रम सुरु भएका हुन् । सोक्रममा नेपाल चिकित्सक संघको आह्वानमा अस्पताल बन्दसम्मका घटना भइसकेका छन् । स्वास्थ्य मन्त्रालय र संघबीच ६ बुँदे ऐन संशोधन प्रस्ताव लैजाने सहमति भएसँगै सेलाएको चिकित्सकहरुको संघर्षले त्यसयता नयाँ स्वरुप धारण गरेको छ । 

'कनेक्सन एण्ड सोर्सफोर्स'को नीति
यसअघि संघर्षका लागि बन्द हड्तालको नीति अपनाएको नेपाल चिकित्सक संघले अहिले भने 'कनेक्सन एण्ड सोर्सफोर्स'को नीति अपनाएको छ । त्यसो त मुलुकी ऐनलाई लिएर चिकित्सकहरुले सुरु गरेको आन्दोलनमा पहिलेदेखि नै अस्पताल सञ्चालकहरुले साथ दिएका छन् । निजी अस्पतालहरुको छाता संस्था अफिनले चिकित्सकको आन्दोलनलाई साथ दिँदै अभूतपूर्व रुपमा ओपिडी बन्द गर्नुका साथै सडकमा समेत उत्रिए । जसमा स्वास्थ्य क्षेत्रलाई सार्वजानिक र सुलभ सेवा बनाउने माग गर्ने डा. गोविन्द केसीदेखि कर्पोरेट अस्पतालका आइकन बसन्त चौधरीसम्म एउटै मोर्चामा देखिएका थिए । 

बिजनेशमेनहरुको समेत साथ पाएको नेपाल चिकित्सक संघले संशोधन प्रकृयालाई टुंग्याउन अस्पतालमा बन्द हड्ताल भन्दापनि नेक्ससका आधारमा ठूला नेताहरुको साथ खोजिरहेका छन् । जसअनुरुप संघले नेताहरुकोमा डेलिगेसन जानका लागि अस्पताल क्षेत्रका हाइप्रोफाइल बिजनेशम्यानको 'ज्याक' लगाएका छन् ।

प्रचण्डलाई भेट्न बसन्त चौधरी, सुवास नेम्वांगकहाँ उपेन्द्र महतो
एकजना पदाधिकारी बाहेक काँग्रेसको वर्चस्व रहेको चिकित्सक संघका पदाधिकारीले नेकपाका ठूला नेतासँग भेट्न ठूला व्यवसायीकै साथ लिएका छन् । धेरै नेता तथा अधिकारीकहाँ आफु आफु नै डेलिगेशन गएको संघले सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाकै संसदीय दलका उपनेता सुवास नेम्वांगलाई भेट्न नेपाल मेडिसिटी अस्पतालका सञ्चालक एवं गैरआवासी नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको ज्याक लगाएका छन् । 

यसअघि प्रचण्डलाई भेट्न नर्भिकका सञ्चालक समेत रहेका चौधरी घरानाका बसन्त चौधरी जाँदा खासै चर्चा भएन । किनकी उनी निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनको अध्यक्ष हुन् । चिकित्सकहरुको आन्दोलनमा अफिनले पनि ऐक्यवद्धता जनाएको छ । तर, चौधरी प्रचण्डसँग भेट्नमात्र गए । अन्यत्र चिकित्सक संघका अधिकारीमात्र पुगे । त्यसैक्रममा सोमवार भने संघका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष, कानून मन्त्रीका साथै नेकपाका संसदीय दलका उपनेतालाई भेटेका छन् । त्यसमध्ये सुवास नेम्वांगसँग डा. महतोको राम्रो सम्बन्ध भएकाले संघले उनलाई लिएर गएको हो । संघका एकजना अधिकारीले भने 'नेपालको राजनीति यस्तै रहेछ बल्ल बुझ्दैछौं सडकभन्दा सोर्सफोर्स नै बलियो रैछ ।' महतो र नेम्वांगको पुरानो सम्बन्ध भएकाले सहजीकरण भएको उनको दावी छ । यसअघि पनि नेम्वांगसँग भेटेको संघको पदाधिकारीले खास राम्रो रेस्पोन्स नपाएपछि महतोलाई साथ लगेको हो । उनले थपे 'उहाँले मेडिकल हब बनाउने उद्देश्य बोक्नुभएको छ । ऐनले त त्यो सम्भावनलाई न्यूनीकरण गर्छ । डाक्टरले नेपालनै छोड्न पर्ने भएपछि कसरी उहाँले नेपालमा हब बनाउनुहुन्छ । त्यसैले उहाँलाई पनि लगेको हो । उहाँ अफिनबाट भन्दा पनि व्यक्तिगत रुपमा हामीसँगै जानुभएको हो ।' उनका अनुसार महतोले नेम्वांगसँग चिकित्सकहरुले निर्भिकतापूर्वक काम गर्न पाउने अवस्था निर्माण गर्न माग गरेका थिए । 


प्रचण्डसँग चाहीँ बसन्त चौधरीको 'राम्रो' सम्बन्ध भएको चाल पाएर उनलाई लगेको संघका ती पदधिकारीले दावी गरे । 'प्रचण्डज्यूसँग बसन्त चौधरीको राम्रो भएकाले उहाँलाई सँगै लगेका थियौं । अहिले डा. महतोलाई । जसको नेक्सस छ उसैलाई आग्रह गरेर भएपनि छिटै ऐन संशोधन गराउनु छ ।' उनले थपे । 

संघले नेपाल चिकित्सक संघले मुलुकी अपराध संहिता संशोधन सम्बन्धमा विभिन्न समितिका सभापतिहरूलाई भेटेर सचेत गराएको छ । राष्ट्रिय सभाको विधायन समितिले भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध फौजदारी संहिता २०७५ मा चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहनेगरी संशोधन गराएपछि संघले प्रतिनिधि सभाबाट पनि संशोधन प्रस्ताव पारित गराउन राजनीतिक लविङ्ग गरिरहेका छन् । 

Last modified on 2018-09-25 13:17:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts