‘विवाहवारी २० वर्ष पारी’ नारा मात्रै, एक चौथाइको विवाह २० वर्ष भन्दा कम उमेरमा

किशोरावस्थामै गम्भीर रोगको शिकार



Download our app to get more features

विराटनगर, ९ असोज । सुनसरीकी इन्दिरा कार्की भर्खरै १९ बर्षकी भईन् । उनको विवाह करिब २ बर्ष अगाडि सोही ठाउँका दिपकसँग भएको थियो । विवाह भएको एक वर्षपछि नै इन्दिरा गर्भवती बनिन् । उनले केही दिन अगाडि मात्र एक किलो ६ सय ग्रामको छोरा जन्माइन् । उनकोे गर्भको अवधि ३३ साता नपुग्दै अर्थात ७ महिना १८ दिनमै ब्यथा लागेर विराटनगरस्थित मोरङ सहकारी अस्पताल आइन् । उनको पाठेघरको मुख खुलिसकेका कारण ब्यथा रोक्न सकिएन र कम तौल तथा अवधि नपुगेको (प्रिटर्म) बच्चा जन्मियो । किशोरी अवस्थामा गर्भवती हुने र गर्भको जटिलता तथा स्वास्थ्यमा आउने समस्या भोग्नु पर्ने इन्दिरा पहिलो किशोरी भने होइन् । 

पछिल्लो समय कम उमेरमा विवाह गरि किशोरी अवस्थामै गर्भवती हुनेहरूको संख्या निरन्तर बढदो छ । यस्तो अवस्थामा उनीहरुको स्वास्थ्य जोखिममा पर्ने चिकित्सकहरु बताउँछन् । जनचेतनको कमीका कारण युवतीहरु २० बर्ष नपुग्दै विवाह गर्छन् । उमेर नपुग्दै विवाह गर्ने युवतीमा गर्भवतीको बेला जोखिम बढ्छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको तथ्यांक अनुसार २० वर्ष नपुग्दै धेरै युवतीहरू गर्भवती हुने गरेको तथ्याङ्गकले देखिएको छ । 

एक चौथाइको विवाह २० वर्षभन्दा कममा
तथ्यांक अनुसार आर्थिक वर्ष ०७२/०७३ मा २४ दशमलव ५९ प्रतिशत गर्भवती महिला २० वर्ष मुनिका थिए । यो तथ्यांकमा केही कमी आउँदा आर्थिक वर्ष ०७३/०७४ मा पनि २० वर्षमुनिका गर्भवती महिलाको संख्या २१ दशमलब ३३ प्रतिशत रहेको थियो । कम उमेरमा गर्भवती हुनेहरुको दर बढेर आर्थिक वर्ष ०७४÷०७५ मा गर्भवती महिलाको संख्या पुनः २७ प्रतिशत पुगेको छ । आर्थिक वर्ष ०७२/७३ मा २९ हजार ८६ जना गर्भवती महिलामध्ये २० वर्ष मुनिकाको संख्या ७ हजार १ सय ५४ थियो ।

आर्थिक वर्ष ०७४/७५ मा भने २८ हजार ८ सय ४९ जना गर्भवती महिला मध्ये ६ हजार १ सय ६५ जना महिला २० वर्ष मुनिका थिए । आर्थिक वर्षमा  २९ हजार ५१  जना गर्भवती महिला मध्ये ८ हजार १ सय  जना महिला २० वर्ष मुनिकाको रहेको जनस्वास्थ्यको तथ्याङ्ग शाखा प्रमुख उमेश लुईटेलले जानकारी दिए । स्वास्थ्य संस्थाको पहुँचमा नआइ गर्भवती हुने र सुत्केरी गराउनेको तथ्यांक भने यसमा छैन । कम उमेरमा गर्भवती हुनुमा जनचेतनाको कमी, परिवारको दबाब, सानै उमेरमा प्रेम गरेर भागी विवाह गर्नु र जबर्जस्ती विवाह गराइदिनु नै रहेको जानकार बताउँछन् । सरकारले छोराको उमेर २२ र छोरीको उमेर २० वर्ष कटेपछि गरेको विवाहलाई परिपक्व विवाह मान्दै आएको छ । यद्यपि,  ३ वर्षको तथ्यांक हेर्दा यो अवस्था घटेको देखिदैन । 

कम्तीमा २० वर्ष उमेर पुरा नभई गर्भवती भए उनीहरूमा यौनजन्य समस्या वा जटिलता देखा पर्ने गरेको वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. बालकृष्ण साहको भनाइ छ ।  चिकित्सकको रूपमा काम गर्दा २० वर्ष नभई गर्भवती हुँदा आइपरेका जटिल समस्या देखेको बताउँदै डा. साहले उमेर नपुग्दै विवाह गर्दा धेरै बच्चा पाउने, जन्मान्तर कम हुने, महिलामा पाठेघरको क्यान्सर, आङ खस्ने समस्या, कम तौलका बच्चाको जन्म हुने र आमालाई उच्च रक्तचापको समस्या हुने गरेको बताए । कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ता भन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यस सम्बन्धी जटिल्ताहरु थपिने सम्भावना बढि हुने गरेको उनले बताए । ‘गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होईन गर्भको बच्चामा पनि प्रतिकुल असर पर्दछ,’ डा. साहले भने ।

विश्वभर औषत विवाह उमेर साढे १७ वर्ष  
‘डेमोग्राफी एन्ड हेल्थ सर्भे ०११’ ले प्रकाशन गरेको तथ्यांक अनुसार विश्वभर औसत महिलाको विवाह १७ दशमलव ५ वर्षमा हुने गरेको छ । ७१ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको छ । सन् ०१६ को तथ्यांकअनुसार औसत महिलाको विवाह गर्ने उमेर १७ दशमलव ९ वर्ष छ भने ५२ प्रतिशत महिलाको विवाह किशोरावस्थामा अर्थात् १८ वर्ष नपुग्दै हुने गरेको छ ।

Last modified on 2018-09-26 08:13:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts