के हो रेटिनोब्लास्टोमा ?



Download our app to get more features

रेटिनोब्लास्टोमा भनेको बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो । यो रोग प्रायः जसो बालबालिकामा मात्रै हुन्छ । यदि बाबुआमामा रेटिनोब्लास्टो छ भने बालबालिकामा देखिने सम्भावना उच्च हुन्छ । तर, कहिले काही बाबुआमामा यस्तो समस्या नभए पनि रेटिनोब्लास्टो देखिन सक्छ । 
विश्वको अन्य देशमा विशेषगरी १८ महिनासम्मका बालबालिकामा यस्तो समस्या देखिदै आएको छ । तर, नेपालमा भने अलि एड्भान्स उमेर समूह वा ३÷४ वर्षसम्मका बालबालिका यस्तो समस्या लिएर आउने गरेका छन् । यो अरु क्यान्सर जस्तो फैलिन्छ ।

लक्षण

  • आँखाको नानी सेतो भएर आउँछ ।
  • असामान्य रुपमा आँखा रातो हुनु ।
  • आँखाको आकार ठुलो हुने ।  
  • आँखा बाङ्गो हुन्छ ।
  • आँखा नदेख्ने ।
  • आँखा धेरै दुख्ने ।
  • पाँच वर्ष मुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्छ ।

कसरी पता लगाउने

  • बाबुआमाले बच्चाको आँखामा सेतो देखेमा ।
  • बच्चाको आँखाबाट आसु आइरहेमा ।
  • बच्चाले बिस्तारै आँखा देख्न छाडेमा ।
  • दृष्टिमा कमी आउन थालेमा । 
  • बच्चाले दैनिक गर्ने क्रियाकलाप गर्न नखोज्ने । 
  • आँखारोग विशेषज्ञद्वारा बच्चालाई बेहोश गरी आँखामा पर्दाको जाँच गरी यो रोग पता लागाउन सकिन्छ ।
  • आँखाको अल्ट्रसाउण्ड, आँखा तथा मस्तिष्कको सिटीस्क्यान, एमआरआई गर्ने  ।

उपचार 

  • यसको मुख्य उपचार भनेको क्यान्सरविरुद्धमा दिइने औषधि नै हो । यस्ता औषधि नशाबाट दिइन्छ जसलाई केमोथेरापी भनिन्छ । जटिल अवस्थामा पुगेका बिरामीलाई केमोथेरापी दिइन्छ । केमोथेरापी आँखाको भित्रका नशामा पनि दिन सकिन्छ ।
  • बिरामीको अवस्था हेरी रेडियो थेरापी, लेजर, क्रायोथेरापी, किमोथेरापी तथा रेडियोथेरापी गर्ने गरिन्छ । उपचारमा ढिलो भए आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन्छ ।
  • क्रायोथेरापी भनेको अत्याधिक चिसो तापक्रम प्रयोग गरी क्यान्सर भएको तन्तुलाई नष्ट गर्ने विधि हो  । 

सुझाव 
माथिका लक्षण बालबालिका देखिए तुरुन्त विशेषज्ञ चिकित्सकलाई देखाउनु पर्छ । उपचारमा ढिला भए बालबालिकाको ज्यानै जाने सम्भावना पनि हुन्छ । तर समयमै उपचार गरे यो रोग पूर्ण निको हुन्छ ।

(डा. आचार्य त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा आवद्ध छन् ।)

Last modified on 2018-09-26 19:36:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts