३ वर्ष बितिसक्दा पनि ट्रमा सेन्टरले दिन सकेन पूर्ण सेवा, एमआरआई समेत छैन



Download our app to get more features

काठमाण्डौ, १० असोज । देशको एक मात्रै राष्ट्रिय ट्रमा सेन्टर सञ्चालनमा आएको ३ वर्ष भइसक्दापनि अहिलेसम्म बिरामीलाई पूर्णरुपमा पूर्ण रूपमा सेवा दिन सकेको छैन । ट्रमा सेन्टरले अत्यावश्यक एमआरआई मेसिन समेत किन्न सकेको छैन । दुर्घटनामा परी चोटपटक लागेका घाइतेको उपचार गरिने ट्रमा सेन्टरमा एमआरआई समेत छैन भन्दा धेरैलाई अचम्म लाग्नसक्छ । आफुसँग एमआरआई नहुँदा अस्पतालले सँगैको वीर अस्पतालसँग भर पर्न पर्ने अवस्था विद्यमान छ । जबकी, वीर अस्पतालकै बिरामीले एमआरआई गर्न कम्तिमा महिनादिन कुर्नुपर्ने अवस्था छ । कमिशनको लोभमा अनावश्यक मेसिन किनेर बिना प्रयोग थुपार्ने बानी परेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अत्यावश्यक एमआरआई खरिद नगर्दा विपन्न बिरामी महंगो तिरेर निजीमा जान बाध्य छन् । जहाँ उनीहरुले ५० प्रतिशतभन्दा महंगो पैसा तिर्न बाध्य हुन्छन् । 

भारत सरकारको लगानीमा निर्माण भएको ट्रमा सेन्टरले अत्यावश्यक एमआरआई मेसिन समेत अहिलेसम्म किन्न नसक्दा बिरामीहरु मारमा परेका छन् । ट्रमा सेन्टरमा आउने प्राय विरामी दुर्घटनामा परेका हुन्छन् उनीहरुलाई एमआरआई गर्नैपर्ने हुन्छ । 

दुर्घटनामा परेका बिरामी, ढाँड भाँचिएको, मेरुदण्डमा चोटपटक लागेको र शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको बिरामीलाई अपरेसन गर्नु अघि एमआरई गर्नुपर्ने हुन्छ । तर, ट्रमा सेन्टरमा एमआरआई मेसिन उपलव्ध हुँदा वीर अस्पतालको एमआरआई मेसिनको भर पर्नु  परेको ट्रमा सेन्टरका समाजिक इकाईका शाखा अधिकृत अर्जुनप्रसाद भेटवाल बताउँछन् । ट्रमा सेन्टरमा एमआराई मेसिन किन्नको लागि सरकारले बजेट नछुट्याएको र स्वास्थ्य मन्त्रालयलाई बारम्बार पत्रचार गरे पनि कुनै निश्कर्ष नआएको भेटवालले बताए । 

उनका अनुसार वीर अस्पतालमा बिरामी धेरै भएको र अन्य ठाउँबाट पनि बिरामी आउने हुँदा तत्काल काम नहुने र अन्य अस्पतालको पनि भर पर्नुे परेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा एमआराई नहुँदा अन्यन्त्र अस्पतालमा लैजाँदा ९ हजार देखि १५ हजार सम्म शुल्क तिर्नुपर्ने हुन्छ ।  नेपालको एकमात्र ट्रमा सेन्टरमा नै एमआराई उपलव्ध नहुुन लज्जाको विषय हो । बिरामीलाई अन्य अस्पतालमा गएर घन्टौ सम्म लाईन बसेर मंहगो पैसा तिरेर स्वास्थ्य परीक्षण गरिरहेका छन् । तर, सरकारले यसमा कुनै चासो दिएको छैन ।
 

Last modified on 2018-09-27 07:09:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts