अत्यावश्यक औषधि अभाव हुँदा मिर्गौला प्रत्यारोपण रोकियो



Download our app to get more features

काठमाडौँ, ११ असोज । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र मानव अंग प्रत्यारोपण केन्द्रमा एन्टी थाइमोसाइट ग्लोभिन (एटीजी)नामक औषधिको अभाव हुँदा मिर्गौला प्रत्यारोपण रोकिएको छ ।

औषधि अभाव नहुँदासम्म प्रत्यारोपण केन्द्रले सातामा ७ देखि ९ वटासम्म मिर्गौला प्रत्यारोपण गर्दै आएको र औषधि अभावकै कारण पछिल्लो दुई सातादेखि प्रत्यारोपण रोकिएको केन्द्रका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बताए । उनले अझै कति दिन अभाव हुने हो भन्ने यकिन गर्न नसकेको बताए ।

इम्युनिटी घटाउने काममा प्रयोग हुने औषधि एटीजी प्रत्यारोपण गरेको दिन र त्यसपछिको दुई दिनसम्म बिरामीलाई दिइने गरिन्छ । स्विट्जरल्याण्डमा बनेको औषधि भारतमा समेत अभाव हुँदा नेपालको स्वास्थ्य सेवामा समेत समस्या परेको हो । ‘स्विजरल्याण्डमा बनेको औषधि हो । भारत हुँदै नेपालमा आउने गर्दथ्यो । तर सप्लायर्सले अहिले भारतमा समेत अभाव भएको बताएको छ । त्यसैले अलिकति समस्या देखिएको हो,’ डा. श्रेष्ठले भने ।

उनले एटीजीको सट्टामा प्रयोग हुने बैकल्पिक औषधि सिमिल्याक्ट समेत अहिले नहुँदा समस्या परेको बताएका छन् । स्विजरल्याण्डमै बनेको औषधिको भण्डारण मापदण्ड नपुगेको भन्दै अहिले यो औषधि नेपालमा आउन छाडेको छ ।
‘अरु केही हप्ता जान्छ कि भन्ने छ । एन्टी थाइमोसाइट ग्लोभिन (एटीजी) औषधि प्रत्यारोपणको लागि चाहिने औषधि हो । त्यो औषधि नेपालमा अभाव त भयो भयो भारतमा समेत अभाव भएको छ । विकल्पको रुपमा अर्को औषधि सिमिल्याक्ट आइएलटी व्लकर प्रयोग हुन्थ्यो तर अहिले त्यो पनि उपलव्ध नभएको र ‘ कम्पनीले नै त्यो औषधि ल्याउन दिएको छैन । स्टोरेजको समस्या छ भनेर,’डा.श्रेष्ठले भने

पाँच बर्षमा पाँच सय जनाको प्रत्यारोपण, एक बर्षमै १ सय ५३ जनाले गराए

प्रत्यारोपण केन्द्रमा सेवा सञ्चालनमा आएको पाँच बर्षमा पाँच सय जनाको प्रत्यारोपण भएको छ । केन्द्रले गतवर्ष मात्रै १ सय ५३ जनाको प्रत्यारोपण सफल रुपमा भएको जनाएको छ । केन्द्रका निर्देशक भन्छन, ‘संसारकै नामुद मानिएका प्रत्यारोपण केन्द्रमा पनि यो भन्दा धेरै प्रत्यारोपण हुँदैन् । त्यसैले केन्द्रले गरेको यो प्रत्यारोपण भनेको ठूलो सफलता हो ।

निर्देशक डा.श्रेष्ठले अहिले चारसय जना प्रत्यारोपणको लिष्टमा रहेको र ५० जनाभन्दा बढीले कागजी प्रक्रिया सबै सकेर तयारी अवस्थामा रहेकोर अरु चार सयभन्दा बढी डायलासिसको क्रममा रहेको बताए । उनले थपे, ‘त्यसैले अहिले प्रत्यारोपण केन्द्रमा १५ सयभन्दा बढी बिरामीको प्रत्यक्ष भार परेको छ ।’

Last modified on 2018-09-28 07:12:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts