गर्भपतन ! रहर होइन बाध्यता



Download our app to get more features


नारी भन्ने बित्तिकै माया, प्रेम, सहनशिल र मातृत्व शब्दसँगै आउने गर्छन् । हरेक नारीलाई ममताका देवीका रुपमा लिने गरेको यर्थाथलाई समाजले स्वीकार गरेको पाईन्छ । त्यस्तै हरेक नारीमा आमा बन्ने रहर रहने गरेको पाइन्छ । यी सबै वास्तविक्ताहरुसँगै दिनप्रतिदिन गर्भपतन गराउनेहरुको संख्यामा बृद्धि भएको तथ्याङ्कले देखाउँछ । 

नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको १५ बर्ष भईसक्दा करिब दश लाख महिलाले सुरक्षित गर्भपतन गराईसकेको तथ्याङ्क आईपास नामक संस्थाले प्रकाशन गरेको छ । विश्व स्वास्थ्य संघ (डब्लुएचओ) ले २०१८ फेब्रुअरीमा प्रकाशन गरेको तथ्याङ्क अनुसार हरेक बर्ष ५ करोड ६० लाख महिलाहरुले गर्भपतन गर्छन, जुन कुल गर्भको २५ प्रतिशत हुन्छ । विश्व स्वस्थ्य संगठनले गर्भपतनका कारण करिब ८० लाख महिलाहरुको ज्यान जोखिममा रहने गरेको र २ करोड ५० लाख महिलाहरुले असुरक्षित गर्भपतन रोज्ने गरेको तथ्याङ्क सार्वजानिक गर्दैगर्दा नेपालमा “अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य” नाराका साथ चौथौ राष्ट्रिय सुरक्षित गर्भपत दिवस २६ सेप्टेम्बर अर्थात असोज ९ गते मनायौं । यस नाराले असुरक्षित गर्भपतन रोक्नुपर्छ र सुरक्षित गर्भपतन मात्र रोज्नु पर्छ भन्ने सन्देश दिन्छ । २८ सेप्टेम्वरमा अन्तराष्ट्रिय गर्भपतन दिवस मनाउने गरिन्छ । यसवर्ष गर्भपतनका बारेमा सबैलाई जानकारी पुगोस् भन्ने उद्देश्यले ‘लेट्स टक’ अर्थात गर्भपतनका बारेमा कुरा गरौं भन्ने नाराका साथ संसार भरी मनाइँदैछ ।

गर्भपतन सम्बन्धि हामी कुरा गर्न खोज्दैनौं । यसको चर्चा गर्न खोज्दैनौं । हामीलाई लाग्छ यो सामाजिक विकृति हो । हामीमध्ये धेरैले अनैतिक सम्पर्कले रहेको गर्भहरु फ्याँक्ने वा गर्भपतन गराउँछन् भन्ने धारणा राख्ने गरेको पाइन्छ । मेलै गर्भपतन सेवा दिईरहेको थाहा पाएका मित्रहरुले अविवाहित, विधुवा, वा समाजिक मर्यादा पार गरेर रहेको गर्भ कति आउने गर्छन भन्ने प्रश्न राख्ने गर्छन । तर वास्तिविक्ता अर्कै छ । हरेक महिलाहरुको बच्चा जन्माउने चाहना तीव्र रहेको हुन्छ । ३५ वर्षिया रीता घिमिरे(नाम परिवर्तन)को एकल परिवार छ । उनको परिवारमा १५ बर्षिया छोरी, १२ बर्षको छोरा र श्रीमान् मात्र छन् । आर्थिक अवस्था कमजोर रहेको हुनाले कामको लागि श्रीमान् हालैमा खाडि मुलुक गए । उनको श्रीमानको भिसा लागिसकेपछि उनले प्रयोग गरिरहेको परिवार नियोजनको साधन ‘पिल्स’ थपिनन् । त्यसैले उनको गर्भ रहन गयो । अब उनले कसरी बच्चा पाउने ? एकातिर छोरी पन्ध्र बर्षकी भईन् र अर्कातिर श्रीमान् पनि परदेशमा । यस्तो समस्या रीताको मात्रै हुदैनन् । त्यस्तै रमिला प्रधान (नाम परिवर्तन) २५ बर्षिया जागिरे हुन् । उनले एक बर्ष अगाडि अप्रेसन गरेर बच्चा पाएको हो । बच्चाले दुध खाईरहेको बेला परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न रुचाईनन् र अर्को गर्भ रह्यो । तर तुरुन्तै अर्को बच्चा.......? अफिसका बिदा कसरी मिलाउनु, अनि बच्चालाई कसरी हुर्काउनु, फेरी अप्रेसन गरेको एक बर्ष न पुग्दै फेरी अर्को अप्रेसन.. । 

धेरैजसो महिलाहरुको शैक्षिक वा नोकरीमा बाधाहरु परेर, बैबाहिक स्थितिमा परिवर्तन आएर (सम्बन्ध बिच्छेद भएर) तथा आर्थिक समस्याले पनि गर्भपतन गर्न बाध्य हुने गरेको पाईन्छ । कुनै कुनै अवस्था परिवार नियोजनका साधन असफल भएर रहेको गर्भ, बलात्कार वा सन्तानका रहर पुगेर रहेको गर्भ पनि गर्भपतन गराउनु पर्ने हुनसक्छ । गैरबैवाहिक सम्बन्धबाट रहेको गर्भ वा अविबाहितहरु तथा बिधवा, श्रीमान् विदेशमा रहेको बेलाको गर्भ  गर्भपतन गराउनु पर्नेहरुको संख्या धेरै नै न्युन रहने गरेको देखिन्छ । सोह्र बर्ष पार गरेकी महिलाले कसैको मन्जुरी विना पनि हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी व्यवस्था छ । त्यसो त कानूनले बलात्कार वा हाडनाता करणीका कारण गर्भ रहेको अवस्थामा १८ हप्ता र गर्भवतीले बच्चालाई जन्म दिएको अवस्थामा गर्भवती वा जन्मिले बच्चाको शारिरिक र मानसिक स्वास्थ्यमा गम्भिर असर पुग्ने चिकित्सकको सिफारिस भएको अवस्थामा गभपर्तन गराउन पाउने हुन्छ । तर जनुसुकै अवस्थामा सूचिकृत चिकित्सकले सूचिकृत संस्थामा मात्र गभपर्तन गराउन पाउने भनिएको छ । 

हाल नेपालको ७५ वटै जिल्लाका जिल्ला अस्पतालहरु र सीमित प्राथामिक स्वास्थ्य केन्द्रहरु तथा निजि अस्पतालहरुमा पनि सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । औषधीद्वारा गरिने गर्भपतन सेवा ५१ वटा जिल्लाहरुका केहि स्वास्थ्य संस्थाहरुमा र १३ हप्ता वा सो भन्दा माथिकोे गर्भपतन सेवा २९ वटा अस्पतालहरुमा उपलब्ध छ । नेपाल सरकारले सन् २०१६ देखि सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भपतनलाई निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पनि सेवा विस्तार गरिएको छ, तर निजी संस्थाहरुमा निःशुल्क सेवा गरिएको छैन । सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्प्रिरेशन (एम.भि.ए.) अर्थात प्लाष्टिकमा क्यालुनाद्वारा खालि पारिएको सिरिञ्जको मद्दले गरिने गर्भपतन सेवा सँगसँगै एम.ए. अर्थात मेडिकल एर्बोसन (औषधिद्धारा गरिने गर्भपतन) सञ्चालनमा आएको छ । तर गर्भपतन सेवा दिने संस्था र चिकित्सक दुवै सूचिकृत हुनुपर्छ । यस्ता सूचिकृत संस्थामा सूचिकृत अर्थात तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनका समस्याका कारण हालसम्म एक महिलाको पनि मृत्यु भएको छैन भने एक प्रतिशत भन्दा पनि कममा मात्र केहि समस्या आउने गरेको तथ्याङ्कहरुले देखाएको छ । तर असुरक्षित गर्भपतनले गर्भपतन राम्ररी नहुने जसका कारण अत्याधिक रक्तश्राव हुने सम्भावना हुन्छ । अत्याधिक रक्तश्रावका कारण महिलाको मृत्यु समेत हुनृ गरेको पाईन्छ । त्यस्तै असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनअङ्गहरु नै बिग्रिने हुनसक्छ । यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालिनरुपमा बाँझोपन हुनसक्ने सम्भावना रहन्छ । असुरक्षित गर्भपतनका कारणले पाठेघरमा संक्रमण हुने र बेलैमा संक्रमणलाई नियन्त्रण गर्न नसकेको अवस्थामा महिलाको ज्यान जाने खतरा रहन्छ । त्यसैले असुरक्षित गर्भपतन रोक्नु आवश्यक रहेकाले यस पर्षको नारा “अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य” दिएको हुनुपर्छ । हाम्रो देशमा केवल ४२ प्रतिशत महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको थाहा छ । त्यसैले अधिकांश महिलाहरु थाहा नपाएर पनि असुरक्षित गर्भपतन रोज्न बाध्य भएको हुनसक्छ । हामीले गर्भपतनका बारेमा कुरा गर्न शुरु गर्न आवश्यक छ । 

गर्भपतन सुरक्षित हुँदाहँुदै पनि यो पटक पटक गर्नु राम्रो होइन । तर गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुदैन । यस अवस्थामा निर्णय लिन धेरै दम्पतिहरुलाई गा¥हो हुने गरेको पाइन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यस्का लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ । सबै दम्पतिहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफुलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ बारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर साधन छनोट गर्नु राम्रो हो । परिवारको आकार पुरा भए पछि वा सन्तानको रहर पुगीसके पछि स्थायी बन्ध्याकरण पनि उचित हुनसक्छ । सुरक्षित यौनव्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यत्मक अवस्था नआउन सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।


 

Last modified on 2018-09-29 06:48:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts