पतञ्जलीको औषधि बेच्न रोक लगाएपछि स्वीकृति दिलाउन भारतीय दूतावास सक्रिय, बालकृष्ण काठमाडौंमा



Download our app to get more features

काठमाडौं, १७ असोज । पतञ्जली योगपीठका आचार्य बालकृष्ण आफ्ना आयुर्वेदिक उत्पादन नेपालमा बिक्री गराउन नसकेपछि लविंग गर्न आफै नेपाल आइपुगेका छन् । 

पतञ्जली योगपीठ अन्तर्गत रहेको उनको दिव्या फार्मेसीले उत्पादन गरेका आयुर्वेदिक औषधिलाई नेपालको औषधि व्यवस्था विभागले बेच्न रोक लगाइदिएपछि बालकृष्ण आफै नेपाल आएका हुन् । औषधि बिक्री  खुलाउन चलखेल गर्न आएका उनले निहुँ भने विश्वविद्यालय खोल्ने बनाएका छन् । सके उच्चस्तरीय पहुँच प्रयोग गरेर औषधि बेच्ने नसके विस्तारै यतै उद्योग बनाएर औषधि उत्पादन गर्ने लक्ष्य उनले लिएका छन् । औषधि व्यवस्था विभागले औषधि दर्ता गराउँदा सिओपीपी (सर्टिफिकेट अफ फर्मास्युटिकल प्रडक्ट) अनिवार्य गरेसँगै पतञ्जलीका आयुर्वेदिक उत्पादन नेपाली बजारमा बेच्न रोक लागेको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पतञ्जलीले सिओपिपी नल्याउँदा औषधि दर्ता नगरिएको बताए । बिस्तारै सिओपिपी ल्याउने तर, तत्काललाई बेच्न अनुमति माग गर्दै पतञ्जलीका अधिकारीहरु आफु कहाँ आएको ढकालले बताए । भारतका झण्डै दुई दर्जन आयुर्वेदिक कम्पनीका उत्पादन नेपालमा आउन खोजेको उनले बताए । तर, ती मध्ये दुईचारवटा कम्पनीले मात्र भारतको औषधि नियमन गर्ने केन्द्रीय संस्था (सिडिएससिओ) ले जारी गरेको सिओपिपी विभागलाई बुझाएका छन् । ढकालले भने ‘२०–२५ वटा कम्पनीले औषधि दर्ता गराएर बिक्री  गर्न खोजेका छन् । तर, थोरैले मात्र औषधि उत्पादनको प्रमाणपत्र बुझाएका छन् ।’ उनका अनुसार भारतको हिमालयन, तरक, डाबर, वेलेक्स लगायत कम्पनीले मात्र आवश्यक उत्पादन प्रमाणपत्र बुझाएका छन् । 

औषधि स्वीकृत गराउन दूतावास सक्रिय
पतञ्जलीद्वारा सञ्चालित दिव्या फार्मेसीको औषधि विभागले दर्ता गर्न नमानेपछि भारतीय दूतावासले स्वीकृति दिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमार्फत चिठि पठाएको छ । दूतावासले पतञ्जली लगायत अन्य आयुर्वेदिक कम्पनीको औषधि बेच्न दिन आग्रह गरेको विभागका महानिर्देशक ढकालले बताए । तर, विभागले एलोपेथिकमा मात्र नभई आयुर्वेदमा समेत सिओपिपी अनिवार्य गराएसँगै बाटो बन्द भएको हो । ढकालले भने ‘परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासले आग्रह गरेको छ । तर, विज्ञहरुसँग छलफल गर्दा आधिकारिक प्रमाणपत्र नभई स्वीकृति दिन नहुने राय आएपछि रोकेका छौं ।’ 

बालकृष्ण आफै आए नेपाल, आयुर्वेदको विश्वविद्यालय खोल्ने निहुँ 
औषधि बिक्री  बितरण गर्न नपाएसँगै पतञ्जलीले नेपाली बजारमा कसरी प्रवेश गर्ने रणनीति बनाइरहेको छ । सोही शिलशिलामा उसले नेपलमै विश्वविद्यालय खोल्ने, खेल इन्स्टिच्यूट बनाउने जस्ता घोषणा गरेको छ । काठमाण्डौमै रहेका बालकृष्णले बुधवार पत्रकार सम्मेलन गर्दै नेपालमा आयुर्वेदको अध्ययन एवं अनुसन्धान गर्ने विश्वविद्यालय खोल्ने योजना सुनाएका छन् । यद्यपी उनले कहाँ र कस्तो प्रकारको विश्वविद्यालय वा खेलशाला बनाउने भन्ने चाहीँ भनेनन् । पत्रकार सम्मेलनका क्रममा उनले भने, ‘नेपालमा आयुर्वेदको अध्ययन अनुसन्धान गर्ने निकायसँगै खेलकुदको अध्ययन संस्थान पनि बनाउने विचार आएको छ ।’ सोही क्रममा उनले औषधि व्यवस्था विभागले सिओपिपीको नाममा औषधि रोकेको गुनासो पनि गरे । 

दिव्या फार्मेसीले उत्पादन गरेका केही औषधि गुणस्तरहिन भएको पाइएसँगै औषधि व्यवस्था विभागले आयुर्वेदिक उत्पादनमा पनि सिओपिपी अनिवार्य गरेको हो । विभागका अनुसार यो नियम एकदशक अघि नै ल्याइएको भएपनि राम्रोसँग कार्यान्वयन भएको थिएन । 

नेपालको पतञ्जली योग समितिमा विद्रोह, भारतीय पतञ्जली नेपालमा अवैध भएको निश्कर्ष
नेपालस्थित पतञ्जलीमा वर्षौं संलग्न योग अभियन्ताहरुले विद्रोह गर्दै नयाँ योग समिति समेत गठन गरेका छन् ।

पतञ्जलीमा विद्रोह गरेकाहरुले सुदर्शन सुवेदीको अध्यक्षतामा पातञ्जल योग समिति गठन गरेका छन् । पातञ्जल योग समिति गठन गरेकाहरुले पतञ्जलीलाइ नेपालमै वैधानिक, आधिकारिक, स्वायत्त र स्वतन्त्र संस्थाका रुपमा विकास गर्ने नेपालस्थित नेतृत्व तयार नभएपछि आफुहरु वैकल्पिक समिति गठन गर्न बाध्य भएको दाबी गरेका छन् । 

समितिले सोमबार पत्रकार सम्मेलन गर्दै संस्था दर्ता गरि सञ्चालनमा ल्याएको जानकारी दिएको हो । सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष सुवेदीले पतञ्जली नेपाललाइ भारतबाट सञ्चालित हुने प्रथाको अन्त्य गर्न नेपालस्थित नेतृत्व तयरा नभएपछि पतञ्जलीमा विद्रोह गर्न बाध्य भएका स्पष्ट पारे ।  ’पतञ्जलीलाई नेपालको कुनै पनि निकायमा दर्ता गर्न, संस्था सञ्चालन गर्ने विधिविधान बनाउन नेतृत्व नयार भएन,’ उनले भने ’दर्ता नभएको, आफ्नै विधिविधान नभएको संस्था र यसले गर्ने सम्पूर्ण क्रियाकलाप अवैधानिक हुन्छ । पतञ्जली पनि नेपालको लागि अवैधानिक संस्था हो । त्यसैले हामीले वैधानिक रुपमा पातञ्जल योग समिति नेपाल दर्ता गरेका हौं ।’  त्यसो भए पतञ्जली योग समिति नेपाल अवैधानिक संस्था हो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष सुवेदीले पतञ्जली अवैधानिक मात्रै नभई यसले नेपालमा रकम उठाई भारत पठाउनु राष्ट्रघातसमेत भएको दावी गरे ।
 

भिडीयो हेर्नुहोस:

Last modified on 2018-10-05 06:58:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts