डाक्टर आफै बिरामी भए कोसँग गराउँछन् उपचार ?



Download our app to get more features

काठमाडौं, १८ असोज ।
घटना १
२२ असार ०७३ मा डा. शशांक कोइराला अकस्मात बिरामी परे । वरिष्ठ आँखारोग विशेषज्ञ डा. कोइरालाले २१ असार राती पिज्जा खाएका थिए । पिज्जा खाएको केही समयपछि उनलाई वान्ता सुरु भयो । रातभर वान्ता भएपछि कोइरालालाई २२ असार बिहान चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरियो । अधिक वान्ताका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै इन्फेक्सन भइ उनी अचेत भए । 

स्वास्थ्य अवस्था गम्भीर भएका डा. कोइरालाई राजनीतिक दलका नेता तथा कार्यकर्ता र आफन्तले भारत लैजान जोडबल गरे । तर, ओम अस्पतालमा कार्यरत उनकी श्रीमती डा. सुपात्रा कोइरालाले नेपालमै सक्षम चिकित्सक र उपकरण भएको भन्दै रोकिन । उनको ओम अस्पतालमै उपचार भयो । उपचारमा श्रीमती डा. सुपात्रा कोइराला, डा. यादवदेव भट्ट, डा. लव जोशी लगायत सम्लग्न थिए । डाक्टर भएका नाताले सबै चिकित्सकहरु उनको उपचार स्वदेशमै गर्न जुटेका थिए ।  

घटना २
दुई वर्षअघि हेल्पिङ हेन्ड्स सामुदायीक अस्पतालका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठ घरबाट अस्पताल आउँदै थिए । उनी बाटोमा एक्कासी बेहोस भए र ढले । उनी लामो समयसम्म अचेत बने । उनलाई उपचारका लागि तत्काल नर्भिक अस्पताल लगियो । चिकित्सकहरू समेत उनको अवस्था देखेर अत्तालिए । नर्भिक हस्पिटलमा उनलाई नसारोग विशेषज्ञ डा. पङ्कज जलानले हेरेका थिए । एक सातापछि उनी ठिक भए हाल डा. कृष्ण ढुङगानालाई नियमित देखाँउदै आएका छन् । 

घटना ३
वरिष्ठ डा. सोमनाथ अर्याल ९ वर्षअघि विशेष कामले चितवन गएका थिए । त्यही बेला उनलाई हृदयघात भयो । चिकित्सकहरूले भरतपुर मेडिकल कलेजमा सामान्य उपचार गरे । स्वास्थ्य अवस्था गम्भीर भएपछि हेलिकोप्टरमार्फत उनलाई थापाथलीस्थित नर्भिक अस्पताल ल्याईयो । उनलाई हृदयघात भएको जानकारी पाएपछि सबै विशेषज्ञ चिकित्सकहरु आए र उपचारमा सरसहयोग गरे । तत्काल स्टेन्ट हालियो । हाल उनी मेडिकेयर अस्पतालमा नाक, कान, घाटी रोग विशेषज्ञको रुपमा सेवा दिईरहेका छन् । उनले डा. यादव भट्टलाई नियमित स्वास्थ्य जाँच गराउँछन् । 


स्वदेशमै उपचार सम्भव ठान्छन् चिकित्सक
नेपालमा सबै किसिमका उपचार सम्भव भएको चिकित्सकहरुले बताउँछन् । उनीहरूले उपचारकै नाममा विदेश जानुपर्ने अवस्थाको अन्त्य भइसकेको पटकपटक बताउने गरेका छन् । नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्की भन्छन् ‘स्वास्थ्यमा कुनै सम्झौता हँुदैन, नेपालमा पनि उपचार सेवा निकै राम्रो छ । हामी विदेशमा  उपचार गराउन जान छोडिसक्यौं ।’ डा. कार्कीका अनुसार नेपालका चिकित्सकलाई नेपालको स्वास्थ्य सेवामा विश्वास छ । ‘हामी कतिपय कुरा सिक्नका लागी बाहिर जान्छौं तर, उपचारमा भने स्वदेशकै चिकित्सकमाथि विश्वास छ,’ उनले भने । नेपालमा कार्यरत चिकित्सकको क्षमता र योग्यताका बारेमा पुर्ण जानकारी भएर पनि चिकित्सक उपचारका लागी विदेश जाँदैनन् । 

जटिल उपचारमा सफलता
नेताहरू बिरामी भए भने जुन अस्पतालमा भर्ना भएका छन् उनीहरूले मात्रै उपचार गर्छन । सम्बन्धित अस्पताल भन्दा बाहिरबाट चिकित्सक उपचारका लागि आउँदैनन । नेपाल मेडिकल काउन्सिलका प्रवक्ता कृष्ण अधिकारीले भने  ‘तर, चिकित्सक बिरामी भए सबै अस्पतालबाट सम्बन्धित विशेषज्ञ चिकित्सक उपचारका लागि आउँछन् ।’ साथी भएका कारणले खास चिकित्सक उपचारका लागि आउँने उनको भनाइ छ । जसका कारण चिकित्सक बिरामी हँुदैमा विदेश जानु पर्दैन । स्वदेशमा उपलब्ध भएका सबै प्रविधि उपयोग गरी चिकित्सकको उपचार स्वदेशमै हुने गरेको छ ।

विश्वमा भएका नयाँ नयाँ प्रविधिहरू नेपालका अस्पतालमा भित्री सकेका छन् । जसले चिकित्सकलाई उपचारका लािग विदेश जानुपर्ने बाध्यता छैन । ‘अपवाद बाहेक सबै उपचार नेपालमा छ भन्ने, सबै चिकित्सकहरुलाई जानकारी छ’ अधिकारीले भने, ‘त्यसैले सामान्य उपचारदेखि जटिल शल्यक्रियासम्म नेपालमै चिकित्सकले गराउँछन् ।’


यसकारण उपचार गर्न विदेश जान्छन् नेताहरू
चिकित्सकहरूका अनुसार दोस्रो व्यक्ति (चिकित्सक बाहेक) को उपचार गर्दा सम्बन्धित अस्पतालले अर्को अस्पताल वा चिकित्सकको साहारा लिदैनन् । उपचारमा जोखिम मोल्न चिकित्सक तयार हुँदैनन् जसले गर्दा चिकित्सकहरु नेताहरुलाई उपचार गर्न अरु अस्पतालमा रिफर गर्ने र चिकित्सक बोलाउने भन्दा विदेश लैजान सल्लाह दिने गरेको संघका प्रवक्ता अधिकारीले बताए । 

जानकारहरूका अनुसार अन्य अस्पतालका चिकित्सक अनुमती बिना दोस्रो व्यक्तिको उपचारका लागि जादँैनन् । अरु चिकित्सक बोलाउँदा आफु कमजोर हुने भएपछि चिकित्सकले बिरामी उपचारका लागि बाहिर लैजान सिफारिस गर्छन । नेताहरु कहिल्यै आफ्नो कारणले बिदेश जाँदैनन् । उनीहरू डाक्टरका कारणले मात्रै उपचारका लागि विदेश जाने गरेका छन् । प्रवत्ता डा. अधिकारी भन्छन, ‘स्वदेशमा उपचार नहुने भएर विदेश जानु पर्ने भए सबै भन्दा बढी डाक्टरहरु उपचारका लागि विदेश जाने थिए । डाक्टरहरु बिरामी भएर राम्रासाथि खोजीखोजी उपचार गराउछन् । नेता आए संगठित हुन्छन् र विदेश पठाउँछन ।’ अधिकारीका अनुसार नेताहरूको स्वास्थ्य उपचारको जोखिम चिकित्सकहरु मोल्न चाहदैनन् । 


यही सक्षम छौं बाहिर जानुपर्दैन 
डा. शोमनाथ अर्याल
नेपालमा उपचार सम्भव हँुदैन भन्ने एक प्रकारको भ्रम छ । केही उपचारमा बाहेक कोही पनि व्यक्ति स्वास्थ्य उपचारका नाममा विदेश जानुपर्दैन । सोही कारण मैले नेपालमै उपचार गराएको हुँ । तर, केही अप्रेशन एकादुई मात्रै भएको छ भने, चिकित्सकले जोखिम लिनु हँुदैन । धेरै अप्रेशनहरू गरिएको छ भने, त्यही विषयलाई लिएर अप्रेशन गर्न विदेश जानु उचित हुँदैन । 


विदेशमा स्वास्थ्य परीक्षण समेत गर्दिन 
डा. गुप्तबहादुर श्रेष्ठ 
म बिरामी हँुदा नेपालमा उपचार गर्छु । पछिल्ला केही वर्षयता अत्याधुनिक उपकरणहरु नेपालमा भित्रीएको अवस्था छ । राम्रो र सक्षम चिकित्सक स्वदेशमै छन् । त्यसैले पनि मलाई उपचार गराउन विदेश जानुपर्दैन । सरकार बलियो भएको खण्डमा सबै सेवा यही हुन्छ । म स्वास्थ्य परीक्षण समेत विदेशमा गर्दिन । म डा. रत्नमणि गजुरेललाई नियमीत स्वास्थ्य परीक्षण गराउँछु । 

Last modified on 2018-10-05 08:21:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts