के हो युवामा हुने ‘बाइपोलर इल्नेस’ ?



Download our app to get more features

बाइपोलर इल्नेस एक किसिमको कडा मानसिक रोग हो । नकारात्मक सोचाइ, दैनिक गतिविधि, निद्रामा गडबडी भई मन असन्तुलित हुनु यो रोगको लक्षण हो । कहिले धेरै उदासीपन तथा कहिले असामान्य रूपमा मन रमाउने पनि हुन्छ ।  जीवनभरिमा यो रोग लाग्न सक्ने सम्भावना ०.३५ देखि १.५५ प्रतिशतसम्म हुन्छ । बाइपोलर इल्नेस पनि बाइपोलर–१ र बाइपोलर–२ गरी दुई प्रकारका छन् । यो रोग लाग्न सक्ने औसत उमेर  २०र२१ वर्षमा हो । यो रोग महिला वा पुरुष दुवैलाई समान रूपमा लाग्न सक्छ ।

रोगको कारण

यो रोग लाग्ने कारणका बारेमा वैज्ञानिक तथा चिकित्सकहरूले अनुसन्धान गरिरहेका छन् । जैविक, सामाजिक, मनोवैज्ञानिक असरका कारणले यो रोग लाग्न सक्ने सम्भावना रहन्छ । जैविकअन्तर्गत वंशानुगत, मस्तिष्कका विभिन्न भागमा रासायनिक पदार्थको मात्रामा आएको असन्तुलन, मस्तिष्कको संरचनामा असन्तुलन वा गडबडी आदि पर्दछ ।  सामाजिक कारणअन्तर्गत बेरोजगारी, असन्तुलित सम्बन्धहरू, बिग्रँदो पारिवारिक तथा साथीभाइसँगको सम्बन्ध आदि पर्छन । त्यस्तै, मनोवैज्ञानिक कारणअन्तर्गत आत्मसम्मानमा ठेस पुग्नु, व्यक्तित्वमा बिचलन, अन्तर्मनको द्वन्द्व आदि पर्दछन् ।

रोगका लक्षण
रोगको चरणअनुसार बिरामीमा विभिन्न किसिमका लक्षण  देखापर्न सक्छन
पहिलो चरणमा देखापर्ने लक्षण
अस्वाभाविक रूपमा मन रमाउनु वा अत्यधिक खुसी हुनु
अनावश्यक रूपमा धेरै रिसाउने वा अत्यधिक चिडचिड हुने
निद्रा धेरै कम लाग्ने तथा कम समय सुते पनि चुस्त स्फूर्त नै देखिनु
सामान्यभन्दा अत्यधिक बोलिरहने तथा जोसँग पनि कुरा गर्न खोज्ने
अत्यधिक सोचाइ आउने तथा मन धेरै अस्थिर तथा चञ्चल हुने
सामाजिक रूपमा अपाच्य हुने किसिमका गतिविधि गर्ने
अत्यधिक रूपमा यौन चाहना बढ्ने वा विपरीत लिंगीप्रति असामान्य रूपमा आकर्षण बढ्ने

डिप्रेसिभ चरणमा देखिने लक्षण
धेरै उदासीन भइरहने
अनावश्यक रूपमा शरीर सिथिल हुने
पहिलेजस्तो जाँगर वा चाहना कुनै काममा नहुने
काममा ध्यान केन्द्रित नहुने तथा अनावश्यक रूपमा स्मरण शक्ति कमजोर हुने
अनावश्यक रूपमा हीनताबोध हुने
निराशावादी सोचाइ आइरहने तथा भविष्य अन्धकार देख्ने
निद्रा नलाग्ने, खान अरुचि हुने तथा यौन चाहना घट्दै जाने
आत्मविश्वास घट्दै जाने
बाँच्ने चाहना नहुने तथा आत्महत्याका सोचाइ आउने

रोगको उपचार
मानसिक तथा शारीरिक स्वास्थ अवस्थाको परीक्षण गर्ने । शारीरिक आवरण, मनको अवस्था, सोचाइमा देखिएको असन्तुलन तथा अरू लक्षणका बारेमा जानकारी लिएर रोगको निदान गर्ने गरिन्छ्र । अन्य शारीरिक रोग तथा नशालु पदार्थको सेवनबाट पनि यो रोगका लक्षण देखिन सक्ने हुनाले बाइपोलर इल्नेसको परीक्षण गर्नुपर्ने हुन्छ ।

बाइपोलर इल्नेसको उपचार रोगको चरणसँग सम्बन्धित छ । अन्य पक्षहरू जस्तै रोगको गहनता, मादक पदार्थको सेवन, रोगबाट प्रभावित व्यक्तिको व्यक्तित्व आदिले पनि उपचार प्रक्रियालाई प्रभावित पार्ने गर्छ ।

मुख्यतया औषधिको प्रयोग तथा मनोवैज्ञानिक पद्धतिद्वारा यो रोगको उपचार गरिन्छ ।  । मनोवैज्ञानिक पद्धतिअन्तर्गत कोग्निटिभ बिहेभिएर थेरापी, इन्टपर्सनल रिदम थेरापी, फ्यामिली थेरापीजस्ता पद्धति प्रयोग गरिन्छ । कहिलेकाहीँ इलेक्ट्रोकन्भुल्सिभ थेरापी पनि प्रयोग गर्ने गरिन्छ । परिवारका कुनै सदस्यमा यो रोग हुनु, व्यक्तित्वको असन्तुलित अवस्था, कम उमेरमा यो रोगबाट ग्रसित हुनु, धेरै उन्मादका लक्षणहरू देखा पर्नु, नशालु पदार्थको सेवन आदिले यो रोगको उपचारमा प्रतिकूल प्रभाव पर्छ ।
 

Last modified on 2018-10-07 07:21:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts