कान्तिपुर डेन्टलले शुरु गर्यो 'स्पेशल निड्स' उपचार कक्ष



Download our app to get more features

काठमाडौं, २१ असोज । जनरल अस्पतालसमेत सञ्चालन गरिरहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले अशक्त व्यक्तिको दाँत उपचारका लागि विशेष उपचार कक्ष सञ्चालनमा ल्याएको छ । 

रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, रोटरी क्लव अफ् काठमाडौँ नर्थ, रोटरी क्लब उकु ताइवान डिस्ट्रिक ३४९० को सहयोगमा अस्पतालले ओरल कियर सेन्टर फर स्पेशल निड्स सञ्चालनमा ल्याएको हो ।  ती संस्थाहरुकै सहयोगमा केडिसीले आफ्नो पोखरास्थित डेन्टल हस्पिटलमा ओरल हेल्थ एजुकेशन कक्षा समेत सञ्चालनमा ल्याएको छ । आइतबार अस्पतालमा आयोजित समारोहमा रोटरी क्लब उकु ताइवान डिस्ट्रिक ३४९० का प्रमुख डा.एचसी हुवाङले स्पेशल निड्स कक्षको उद्घाटन गरे । सो क्रममा उनले नयाँ कक्षले नेपालमा रहेका शारीरिक र मानसिक रुपमा अशक्त व्यक्तिको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आफूहरुले छोटो अवधिको परियोजनामा सहयोग गरेको भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकारले समेत सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याए । 

कार्यक्रममा कान्तिपुर डेन्टल कलेज एण्ड जनरल अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले रोटरीको सहयोगमा नेपालमै पहिलोपटक विशेष हेरचाह चाहिने व्यक्तिहरु (स्पेशल निड्स पिपल)का लागि मुख तथा दन्त स्वास्थ्य सम्वन्धी सेवा शुरु गरेको बताए । विशेष सतर्कता अपनाएर उपचार गर्नुपर्ने व्यक्तिका लागि आफूहरुले दक्ष जनशक्ति र उपयुक्त प्रविधि तयार पारेको डा. श्रेष्ठले जानकारी दिए ।  नेशनल ताइवान युनिभर्सिटीका प्राडा एचएम चेनले शारीरिक तथा मानसिक रुपमा अशक्त व्यक्तिको उपचार कसरी गर्ने भन्ने बारेमा तालिम दिइरहेका छन् । सो तालिम पश्चात दन्त चिकित्सक तथा हाइजिनिस्टहरुले विशेष सहयोग चाहिने व्यक्तिहरुको उपचार सहज ढंगले गर्न सक्नेछन् । 

रोटरीको ग्लोबल ग्राण्ड प्रोजेक्ट ३४९० अनुसार कान्तिपुर डेन्टलले यो कार्यक्रम शुरु गरेको हो । कान्तिपुर डेन्टल हस्पिटलका म्याग्जिलो फेसियल सर्जन डा. सुमित सिंहले अटिजम सहितका अन्य डाउनसिन्ड्रम भएका व्यक्तिले यस कक्षबाट लाभ लिन सक्ने बताए । ‘यस्ता खालका व्यक्तिको उपचारमा विशेष ध्यान पुर्याउनुपर्छ । तर, त्यस्तो खासै भएको पाइदेन । हामीले अब त्यसका लागि विशेष कक्ष नै तयार पार्यौँ । अव कान्तिपुरमा त्यस्ता व्यक्तिका लागि स्पेशल सेवा उपलव्ध छ ।’ उनले भने । रोटरीको सहयोगमा शुरु भएको सो परियोजनाको उद्घाटन गर्न ताइवानबाट डा चिङ हुई होङ, डा युन, डा चेन स्यान लि लगायतका व्यक्ति नेपाल आएका छन् । 
 

Last modified on 2018-10-07 20:22:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts