वरिष्ठ डाक्टरको स्वास्थ्य कस्तो छ ?



Download our app to get more features

काठमाडौं, २२ असोज । आम मानिसलाई लाग्न सक्छ नाम कमाएका वरिष्ठ चिकित्सकहरु त बिरामी नै हुँदैनन् होला । अथवा बिरामी भए पनि उनीहरुलाई लाग्ने रोग धेरै दिन टिक्दैन होला । तर, त्यसो होइन । वरिष्ठ चिकित्सक पनि विभिन्न स्वास्थ्य समस्यासँग जुध्दै आएका छन् । जानौं कुन चिकित्सकलाई कस्ता स्वास्थ्य समस्या छन् र उनीहरु को सँग उपचार गराउँछन् ।

‘पाँच बर्षदेखि निरन्तर प्रेसरको औषधि सेवन गरिरहेको छु’
डा जागेश्वर गौतम
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

मलाई ब्लड प्रेसरको समस्या छ । प्रेसरका कारण मैले पाँच बर्षदेखि निरन्तर औषधि सेवन गरिरहेको छु । कहिले काही निकै समस्या पार्छ । प्रेसर भन्दा बाहेक कुनै रोग अहिले सम्म देखिएको छैन । ओम अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डा. चन्द्रमणी पौडेललाई नियमीत स्वास्थ्य परिक्षण गराउँदै आएको  छु ।

‘१९ वर्षदेखि प्रेसरको समस्या छ’
डा. ढुण्डिराज पौडेल
नाक, कान, घाटी रोग विशेषज्ञ

०५६ साल देखि मलाई ब्लड प्रेसरको समस्याले सताएको छ । मेरो परिवारमा पनि प्रेसरको समस्या भएकाले त्यसको प्रभाव मलाई परेको हो । प्रेसर भएको जानकारी पाए देखि नियमीत औषधि सेवन गरिरहेको छु । विभागीय डाक्टरहरुबाटै हरेका वर्ष स्वास्थ्य परीक्षण गराउछु ।

‘ढाड र गर्धन दुख्छ ’
डा. लोचन कार्की
वरिष्ठ फिजिसियन

अहिलेसम्म गम्भीर कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन जसले औषधि खानु परोस । नियमीत बिरामीको स्वास्थ्य उपचारमा खटिएका कारण ढाड दुख्ने समस्या भने छ । ढाड र गर्धन दुख्छ तर, औषधि सेवन गर्नुपरेको छैन । आफै फिजिसियन भएकाले स्वास्थ्य परिक्षण गराएर रिपोर्ट हेर्छु । पछिल्लो समय ब्लड प्रेसर बड्ने अवस्थामा पुगेको छ । प्रत्येक वर्ष स्वास्थ्य जाँच गराउँछु ।

‘जोर्नी दुख्ने समस्या छ’
डा. मानबहादुर केसी
वरिष्ठ, मुटुरोग विशेषज्ञ

मलाई स्वास्थ्यमा कुनै समस्या छैन । गाउँमा जन्मेको खेलेका कारणले पनि होला अलिहे सम्म स्वास्थ्यमा समस्या देखिएर औषधि खाएको छैन । घर परिवारमा कसैलाई रोग छैन । मुटुरोग विशेषज्ञ भएका नाताले पनि प्रत्येक वर्ष मुटु सम्बन्धी सम्पुर्ण जाँच गराउँछु । कुर्सिमा नियमीत बसेका कारण र अप्रेशनमा उभिनु परेकाले जोर्नी दुख्ने समस्या छ । मैले शिक्षण अस्पताल महाराजगञ्जका अर्थोपेडिक डाक्टर दिनेश काफ्लेलाई नियमीत स्वास्थ्य जाँच गराउँदै आएको छु ।

‘मुटुमा समस्या छ’
डा. भोला रिजाल
बरिष्ठ, स्त्री रोग विशेषज्ञ

नियमीत स्वास्थ्य परिक्षणका बेला मुटुमा समस्या देखिए पछि मैले तत्काल उपचार गर्ने निर्णय लिए । नेपालमा सक्षम चिकित्सक र उपकरण भएका कारण मेरो उपचार मुटुरोग विशेषज्ञ डा. भरत रावल, डा. लव जोशी र डा यादव भट्टले गरे । अहिले मुटुमा कुनै समस्या छैन । मेरो ढाड दुख्ने समस्या छ । यसका लागि पनि डा. बसन्त देवकोटा र डा. गौरवराज ढकालले हेरेका छन् । अहिले नियमीत स्वास्थ्य परिक्षण ओम अस्पतालमा डा. चन्द्रमणी पौडेलले गर्छन ।

 

Last modified on 2018-10-09 07:49:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts