आफूलाई नराम्रो ठान्नु पनि मानसिक रोग 



Download our app to get more features

२८ वर्षीया दिपा पुन (नाम परिवर्तन) आफ्नो नाक बाङ्गो छ भन्ने कुरा मनमा लिएर ज्यादैँ चिन्ता व्यक्त गर्छिन । सानोमा लडेर नाकमा चोट लागेको भए पनि अहिले उनको नाकमा खासै समस्या भने छैन । तर, पनि उनलाई त्यही कुराले पिरोल्ने गर्छ । ‘मेरो नाक कुरुप छ । म राम्री छैन...आदि आदि ।’
यही सोचाइका कारण उनी मान्छेको अगाडि पर्नै चाहदिनन् । आँखामा आँखा जुधाएर कुरा गर्न सक्दिनन् । कसैले उनलाई हे¥यो भने अप्ठ्यारो महसुस गर्छिन र अर्काेतर्पm फर्केर हिड्छिन् । सकेसम्म कसैसँग कुरा गर्न नपरोस, भेट्न नपरोस भन्ने चाहन्छिन । उनी आफ्नो घर भन्दा बाहेक अरु कसैकोमा पनि जादिनन् । भोज, समारोह, जमघट कही कतै सहभागी हुन्नन् । उनको यस्तो व्यवहार देखेर कतिले उनलाई घमण्डी, ठुलो पल्टेकी पनि भन्छन् । कतिले त पागल भईसम्म भन्ने गरेको उनी बताउँछिन् । आफ्नो नाक बाङ्गो र कुरुप छ । म राम्री छैन भन्ने सोचबाट उनी १६ वर्षको उमेरदेखी नै खिन्न बन्न थालेको बताउँछिन् । मनमा कुरा खेल्ने, रिंगटा लाग्ने, डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निराश हुने, आत्महत्याको सोच मनमा आउने, रुन मन लाग्ने, मुटु ढुकढुक हुने, टाउको दुख्ने जस्ता समस्या पनि उनमा देखिएका छन् । 

ललितपुर बस्ने २० वर्षीय कृष्ण श्रेष्ठ (नाम परिवर्तन) प्रायः जसो घरमा मात्रै बसी रहन्छन् । बाहिर काही जानुप¥यो भने रात परेपछि मात्रै निस्कन्छन् । उनले पढाइ पनि बिचैमा छोडे । उनलाई पनि एउटै कुराले सताउने गर्छ । ‘मेरो अनुहार राम्रो छैन । अनुहार भरी डन्डीफोर र दागैदाग छ । अरुले केही भन्छन कि भनेर लाज लाग्छ ।’ तर, उनले भने जस्तो उनको अनुहारमा त्यस्तो नराम्रो केही पनि खराबी छैन । 

२५ वर्षीय पवन शर्मा (नाम परिवर्तन) अहिले एमए पढ्दै छन् । उनी आफु दुब्लो भएकोमा ज्यादै चिन्ता लाग्ने गरेको बताउँछन् । उनले भने, ‘मोटाउन भनेर धेरै उपाय खोजे । कयौं ठाउँमा धाए । तर केही लागेन ।’ पातलो जीउ भएकोमा आफैलाई केटाकेटी जस्तो देख्ने गरेको उनको भनाइ छ । विवाह गर्ने उमेर भो केटीले मन पो नपराउने हुन की भन्ने चिन्ताले दिनरात सताउने गरेको उनले बताए । तर, उनको शरीरमा पनि उनले भनेजस्तो अनाआर्कषक लाग्ने केही चिज छैनन् । 

म शारीरिक रुपमा शुन्दर तथा आकर्षक छैन । शारीरिक बनावट राम्रो छैन । म सधँै नराम्रो नै देखिन्छु । मेरो शरीरका अंगहरु बाङ्गो छ, बिग्रेको छ, मिलेको छैन, भन्ने महसुस हुन्छ वा शरीरको कुनै भागमा भएको सामान्य खराबीलाई लिएर वास्तविक भन्दा निकै कुरुप छु भन्ठान्ने गुर्नुहुन्छ भने त्यो एक प्रकारको मानसिक रोग हो । जसलाई शारीरिक कुरुपता विकार (बडी डिस्मोर्फिक डिसअर्डर) भनिन्छ । यो रोग लागेकाहरू आफु र आफ्नो शारीरिक अंगप्रति ज्यादै संवेदनशील हुने गर्छन् । शरीरमा सामान्य घाउ, दाग आयो भने पनि त्यसलाई ठुलो सम्झिने, आफ्नो शारीरिक रुपलाई लिएर लज्जाबोध गर्ने गर्छन । नाक बाङ्गो, चुच्चो, ठुलो छ, आँखा साना छन, ओठ मिलेका छैनन् । शरीरमा रौ नै रौ छ, कपाल राम्रो छैन, कपाल झरेको छ, पातलो छ, छालामा नशा नै नशा छन्, स्तन सानो वा ठुलो छ, होची र मोटी छु भन्ने जस्ता भावना केटीहरूमा अलि बढी आउने गर्छ । पुरुष भने मांसपेशीको बनावट र आकारलाई लिएर, चिन्ता व्यक्त गर्छन् । प्राय: १५ देखि ३० वर्षको उमेरमा यो समस्या देखिने गर्छ । पुरुषमा भन्दा महिलामा यो समस्या बढी देखिन्छ । 

अविवाहितमा यस्तो समस्या बढी
प्राय: अविवाहित महिला पुरुषमा यस्तो समस्या बढी देखिन्छ । किशोरावस्थामा पुगेपछि विशेषगरी किशोरकिशोरीहरू आफ्नो शरीर र शारीरिक परिवर्तनप्रति बढी नै सम्वेदनशील हुन्छन् । शारीरिक कारणले अरुबाट अपहेलित वा लज्जित हुनु पर्ला की भन्ने चिन्ताले उनीहरूलाई सताउने गर्छ । आफ्नो शरीरप्रति बढी नै संम्वेदनशील हुँदा वा चासो राख्दा यो रोग लाग्ने सम्भावना हुन्छ । 

यो रोग लागेकाहरू आफुलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने तरीकाको खोजीमा तल्लिन रहन्छन् । बढी मेकअफ गर्ने, कपालको कलर र स्टाइल परिवर्तन गरिरहने, गेटअपको माध्यमद्वारा आफु शुन्दर हुने प्रयास गर्ने, म कस्तो देखिएको छु भनेर बारम्बार अरुलाई सोध्ने, कपडा बारम्बार बदल्ने, शरीर मोटो भो भनेर भोकै बस्ने वा अति शारीरिक व्यायाम गर्ने, बारम्बार ऐना हेर्ने, मोटो वा पातलो भएकोमा चिन्ता गर्ने, आफुमा केही न केही कमी भएको महशुस गर्ने, अरुले राम्रो देखिएको छ, सुन्दर छौ भन्दा पनि विश्वास नगर्ने जस्ता व्यवहार देखाउने गर्छन । उनीहरूलाई सधै अरुले उसको शारीरिक वनावटको बारेमा टिकाटिप्पणी गरिरहेको मजाक उडाइरहेको जस्तो लाग्छ । अरु जस्तो आफु छ छैन भनेर अरुसँग तुलना गर्ने गर्छन् । आफुलाई अरुले स्वीकार गरुन भन्ने चाहना उनीहरु गर्छन् । 

यो रोगसँग अरु मानसिक स्वास्थ्य समस्या पनि जोडिएर आउँछ । यो समस्याबाट प्रभावित झन्डै ९० प्रतिशत व्यक्तिहरु आफ्नो जीवनकालमा डिप्रेसनबाट प्रभावित हुने गरेका छन् भने करिब ७० प्रतिशतले डर, चिन्ताको समस्या (एन्जाइटी)को अनुभुति गर्ने गर्छन् । यो रोगबाट प्रभावित हुने हुनेहरूले आत्महत्याको प्रयास गर्ने, नसा तथा लागुपदार्थको सेवन गर्ने, खाना सम्बन्धी समस्या देखिने, विचार र व्यवहार पटक पटक दोहोरिने समस्या (ओसीडी) पनि देखिन सक्छ । 

यो रोग लाग्नुका कारणहरू 
यो रोग लाग्नु पछाडी निश्चित कारण हुँदैन । तर, पनि वंशाणुगत, वातावरण, सँस्कृति, बाल्यकालको दुव्र्यवहार, शोषण, तनाव, डर, मस्तिष्कको संरचनामा आएको परिवर्तन, मस्तिष्कमा रासायनिक तत्वको प्रभाव आदि कारणले यो रोग लाग्न सक्छ । पछिल्लो समय धेरै सेल्फी खिच्ने र सोसियल मिडियामा हाल्ने जस्ता व्यवहारले पनि यो रोग बढ्दै गएको देखिन्छ । 

केटाकेटीहरू तथा किशोरकिशोरीहरूलाई मोटे, मोटी, काले काली, नेप्टे। नेप्टी, डल्ले, डल्ली, घोडानाके, ओठे आदि जस्ता नामले बोलाउने, जिस्काउने जस्ता व्यवहार गर्दा उनीहरुको मस्तिष्कमा यही कुराको छाप पर्न जान्छ । जसले गर्दा उनीहरु आफ्नो शरीरको अंगलाई लिएर बढी संवेदनशील हुने, सोच्ने र चिन्ता गर्ने गर्छन् । बिस्तारै यो रोगको रुपमा विकास हुन्छ । महिलाको शरीरको सुन्दरतालाई बढी महत्व दिने कारणले गर्दा पनि यो रोग महिलामा बढी लाग्ने गर्छ ।

यसरी गर्नुहोस पहिचान
धेरैलाई यस्तो पनि रोग हुन्छ र आफुलाई यो रोग लागेको हो भन्ने थाहा नहुन पनि सक्छ । तर, घरपरिवारका सदस्यले उसको असामान्य व्यवहारलाई पहिचान गर्न सक्छन् । आफ्नो शरीरिक सुन्दरताको लागि धेरै खर्च गर्ने, साथीभाई घरपरिवारका सदस्यहरुसँग पनि टाढा हुने, पढाई काम छोड्ने जस्ता व्यवहारले उनीहरूको व्यक्तिगत, सामाजिक, व्यवसायीक जीवनमा असर पु¥याउँछ । शरीरको भागलाई सुन्दर बनाउन कस्मेटिक वा प्लास्टिक सर्जरी गर्न समेत पुग्छन् । तर, यो त्यति प्रभावकारी हँुदैन । यसले पनि म राम्रो छैन भन्ने उनीहरूको सोचलाई नहटाउन सक्छ । यो रोगमा मनोपरामर्श, साईकोेथेरापीका विधिहरू प्रभावकारी छन् । कतिपय अवस्थामा औषधिको पनि आवश्यकता पर्नसक्छ । यो रोग लागेकाहरूमा आउने सोचाई वास्तविक होइन यस्तो सोच आउनु रोगकै लक्षण हो भन्ने कुरा बुझाउन आवश्यक छ । यो रोग लागेपछि घरपरिवारको भुमिका पनि महत्वपुर्ण हुन्छ । 

(ढकाल मनो सेवा केन्द्र मार्क नेपालमा आबद्ध छन्)

 

Last modified on 2018-10-10 07:20:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts