विश्व हातधुने दिवस

के तपाईँको हात धुने तरिका ठिक छ ?



Download our app to get more features

ज विश्व हात धुने दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । विशेषज्ञहरुका अनुसार मानिसले सफासँग हात धुने बानी बसालेमात्र पनि धेरै रोगहरुबाट मुक्ति पाइन्छ । नियमित सफासँग हात धुने गरेमा धेरैजसो संक्रमणजन्य रोगहरु लाग्नबाट जोगिन सकिन्छ ।

हात धुनुलाई हामी सामान्य काम र हलुका रुपले लिन्छौं । हामी कतिको बानी त आफुले सम्झिएको बेला मात्रै हात धुने पनि गर्छौं । तर, यहि सामान्य केही मिनटको कामले हाम्रो स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । हात धुनाले हामीलाई सामान्य झाडापखाला देखि हेपाटाइटिस लगायतका प्राणघातक संक्रमणहरुबाट बचाउँछ ।

हात किन धुनुपर्छ ?

हामीले छुने हरेक वस्तुबाट हाम्रो हातमा दुषित बनाउने किटाणुहरु सरिरहेका हुन्छन । आँखाले प्रत्यक्ष नदेखिने हुनाले हेर्दा सफा लागेपनि हाम्रो हातमा बिभिन्न रोग लगाउने किटाणुहरुको भण्डार हुन्छ । कुनै कुरा खाँदा खानासँगै हामीले त्यो किटाणु पनि खान्छौं र त्यसले हाम्रो शरीरमा बिभिन्न रोगहरु निम्त्याउन सक्छ । त्यसैले हरेकपल्ट जुनसुकै कुरा खाँदाखेरी वा हात मुखमा लानुभन्दा अगाडी हात धुनु जरुरी छ ।

हात धुनाले कस्ता रोगबाट बचाउँछ ?

हात धुनाले पानीजन्य संक्रमणबाट सर्ने रोगहरुबाट बच्न सकिन्छ । झाडापखाला, हैजा, आउँ, टाइफाइड, हेपाटाइटिस ए, इ आदि रोगहरु दुषित हातको माध्यमबाट हाम्रो शरीरमा पस्न सक्ने भएकाले हात धुनाले यी रोगहरुबाट बच्न सकिन्छ । 
विशेषत बालबालिका र बुढाबुढीहरुमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने भएकाले यो उमेर समूहका मानिसहरु यी रोगबाट बढी संक्रमित हुन्छन ।

केही तथ्यहरु

  • पाँच वर्ष मुनिका बालबालिकाहरुको मृत्युको सबैभन्दा ठूलो कारण झाडापखाला र पानीजन्य संक्रमणबाट सर्ने रोगहरु हुन् ।
  • सहि तरिकाले साबुन पानीले हात धोएमा यसले संसारमा झाडापखालाबाट हुने मृत्युलाई आधा भन्दा बढी घटाउन मद्दत पुर्याउँछ ।
  • लन्डनमा गरिएको एक अध्ययनका अनुसार सबैले सहि तरिकाले हात धोएमा यसले वर्षेनी दस लाख मानिसहरुलाई मृत्युबाट जोगाउँछ ।
  • हात धुनाले हामीलाई केही हदसम्म आँखाको रोग ‘ट्राकोमा’, पेटमा पर्ने जुका, स्वासप्रश्वासबाट सर्ने रोगहरुबाट पनि बचाउँछ । 

कतिबेला हात धुने?

  • खाना खानु अघि 
  • दिशापिसाब गरेपछि 
  • खाना पकाउनु अघि
  • बिरामीहरुसँगको अन्तरक्रियापछि
  • कुकुर, बिरालो लगायत अरु कुनै घरपालुवा जनावरलाई छोएपछि
  • कुनै पनि फोहोर वस्तु छोएपछि

हात धुने सहि तरिका के हो ?

थोरै समय लगाएर वा पानीले मात्रै हात धुँदा यसले हाम्रो हातलाई पुरै किटाणुमुक्त गराउँदैन । त्यसैले हातलाई किटाणुमुक्त बनाउन सहि तरिकाले साबुनपानीले मिचिमिची हात धुन आवश्यक पर्छ ।

हात धुँदा विश्व स्वास्थ्य संगठनले तयार पारेको निम्न विधि अवलम्बन गर्नु जरुरी छ 

  • हातलाई पानीले भिजाउने र हातको अगाडी पछाडी दुवैतर्फ साबुन दल्ने
  • दुवै हातलाई एक आपसमा दल्ने र साबुन फिजाउने
  • दाहिने हातलाई देव्रे हातमाथि राख्ने र औंलाहरुको बिचमा पनि पर्ने गरि दल्ने र देव्रे हातमा पनि सो दोहोराउने
  • दुवै हात जोडेर औंलाहरूको बीचमा सफा गर्ने
  • दुई हातलाई एक आपसमा मुट्ठी पारेर कस्ने र औंलाको पछाडीको भाग सफा गर्ने
  • दाइने बुढी औलालाई देव्रे मुठ्ठीले समात्ने अनि सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने
  • देव्रे औंलाको टुप्पोहरुले दाहिने हातको हत्केला सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने
  • सफा पानीले हात पखाल्ने
  • हातलाई सफा रुमालले पुछ्ने

यो सबै प्रकियालाई कम्तीमा ४० देखि ६० सेकेन्ड समय लगाउन जरुरी छ ।

सुरुसुरुमा यो प्रक्रिया गाह्रो र झन्झटिलो हुने भए पनि यो विधिअनुसार हात धोएमा यसले हातको सबै भागमा सफा गर्छ र किटाणुमुक्त बनाउँछ । यसलाई सजिलो तरिकाले चित्रमा यसरी देखाइएको छ ।

आफ्नो हात धुन एक मिनटको समय खर्च गरेमा यसले हाम्रो शरीरलाई स्वस्थ राख्न त मद्दत गर्छ नै, आफ्नो बालबच्चाहरुमा हुने अकालको मृत्युबाट पनि बचाउँछ । त्यसैले हरेक दिनको केही मिनेट हात धुनलाई छुट्टाएर आफू पनि स्वस्थ जीउने र साथसाथै आफ्नो परिवारलाई पनि स्वस्थ जीवनको उपहार दिने कि ।

 

Last modified on 2018-10-16 07:15:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts