दशैँ: खानपानमा होसियारि



Download our app to get more features

दशैं भन्नासाथ अधिकांश नेपालीहरुले खानपान र रमाइलो गर्ने कुरामा जोड दिने गरेको पाइन्छ । खासगरि चाडपर्वका बेला मसालेदार र चिल्लो खानपानमा जोड दिदा दिर्घरोगको समस्या निम्तिने चिकित्सकहरु बताउँछन् । खानपानका होसियारि नअपनाउँदा स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या ह्वात्तै बढ्छ । चिकित्सकलाई बिरामी जाँच्न भ्याईनभ्याई हुन्छ । वीर अस्पतालका निर्देशक तथा ग्यास्ट्रोइन्टोलोजिस्ट प्रा. डा. भूपेन्द्र बस्नेत दशैंका बेला खानपानमा लापरवाहि गर्दा यूरिक एसिड, उच्च रक्तचाप, मुटु, ग्यास्ट्रिक, पेटजन्य समस्या, झाडापखाला, फूड प्वाइजिनिङ्ग लगायतका स्वास्थ्य समस्या लिएर अस्पताल जाने बिरामीको संख्या बढ्ने बताउँछन् ।

दशैं भन्नासाथ विभिन्न परिकारका खानेकुरा जोडिएर आउँछन् । खानपान मानव जीवनको एउटा अभिन्न अंग र अत्यन्त सम्बेदनशिल कुरा पनि हो । अत्यधिक चिल्लो पदार्थ भएका खानेकुराको सेवन पनि रोगको प्रमुख कारक तत्व हो ।  वीर अस्पतालका प्रा. डा. बस्नेत भन्छन्, “असन्तुलित खानेकुराले धेरै रोग निम्त्याउँछ । सन्तुलन मिलाएर सेवन गरेमा धेरै रोगबाट बच्न सकिन्छ ।” नेपाली समाजमा दशैंको समयमा मासुका विभिन्न परिकारसँगै मसलेदार र अत्यधिक चिल्लो खानेकुरामा बढि जोड दिने गरिएको छ । 

दशैंजस्ता चाडपर्वमा मासुजन्य परिकार र अत्याधिक चिल्लो खानेकुरा, मदिरा, अखाद्य पदार्थ मिसाइएका विभिन्न प्रकारका मिठाईका परिकारको सेवनले स्वास्थ्यमा समस्या निम्त्याउँछ । प्रा.डा. बस्नेत दशैको समयमा खानपानको असरले निम्त्यिाउने स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या बढ्ने गरेको बताउँछन् । उनी भन्छन्, “मीठा परिकारको सेवनले केहि समयका लागि आनन्द देला । तर यसले दिर्घकालका लागि फाईदा गर्दैन ।” प्रा. डा. बस्नेत खानामा ध्यान नदिएका कारण चाडपर्व नै रोग निम्त्यिाउने समय बन्ने गरेको बताउँछन् ।  उनी चाडपर्वका नाममा भोजभतेर गरेर जाँड रक्सीजस्ता असन्तुलित खाद्यपदार्थको सेवन नगर्न सुझाव दिन्छन् । 

तर ‘मासु नै नखाए के को दशै’ पनि भन्ने गरिन्छ । चाडपर्वका नाममा खाईने पोलेकोे र भुटेको मासु स्वास्थ्यका लागि हानिकारक हुनुका साथै यसले क्यान्सर रोग निम्त्याउने खतरासमेत रहेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्यका लागि शाकाहारी भोजन गर्नु उत्तम मानिन्छ । मासुका विभिन्न परिकार तत्कालको स्वादको लागि मात्र हो । चिकित्सकहरु निश्चित परिमाणको सेतो मासु सेवन गर्न सुझाउँछन् । 

दशैमा मासुसँगै सागसब्जी, फलफुल तथा रेसादार खानेकुरा खाएमा पाचन प्रणालीमा हुने क्यान्सर कम गर्न सकिन्छ ।  प्रा. डा. बस्नेत माछा, मासुमा मात्र जोड दिनुभन्दा हरीया साग सब्जी, सलाद, फलफुल जस्ता सन्तुलित भोजनमा पनि जोडदिए स्वास्थ्यकालागि फाइदा हुने बताउँछन् । 

मासुका परिकारमध्ये सबैभन्दा हानिकारक पोलेको र भुटेका मासु हो । सेकुवा बनाउँदा आगोमा सेकाइने मासु र आगोको बीचमा अँगार बन्छ । मासु डढेर अँगार बन्छ । र, त्यसमा विभिन्न रसायन उत्पन्न हुन्छन् । क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल मासुमा नाइटोसमिन भन्ने रसायन उत्पन्न हुने र उक्त रसायनले पाचन प्रणालीमा क्यान्सर गराउने बताउँछन् । ‘सेकुवा बनाउँदा कालो भएन भने मासु राम्रोसँग पाक्दैन,’ डा. बराल भन्छन्, ‘पकाउनका लागि कालो नै बनाउनु पर्ने भएकाले यसले क्यान्सर निम्त्याउँछ ।’ तारेको र भुटेको मासुमा धेरै चिल्लो हुने भएकाले अल्सर हुने संभावन पनि धेरै हुन्छ । डा. बराल भुटेको र तारेको मासुले ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढी हुने बताउँछन् । 

चिकित्सकहरु चाडपर्वका बेला भान्सामा सकेसम्म मासु र चिल्लो पदार्थको प्रयोग कम गर्न सुझाव दिन्छन् । तर यसको ठिक विपरित भान्सामा विभिन्न प्रकारका चिल्ला खानेकुरा नै तयार भइरहेका हुन्छन् । यस्तै, मीठाई तथा मरमसला बनाउदा तेल वा घ्युलाई धेरै पटक तताएर पटक–पटक प्रयोग गर्ने गरिएको छ । धेरै पटक तताउँदा त्यसमा हुने ट्रान्सफ्याट निस्कन्छ । चिकित्सक धेरै पटक तताउँदा निस्कने तत्व मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् । 

अत्याधिक चिल्लो, पिरो र मसालेदार खाना स्वास्थ्य मैत्री मानिदैनन् । यस्ता खानाकुराले जोखिमको नजिक रहेका र लक्षण नदेखिएका रोगहरु निम्तिने सम्भावना रहने रहन्छ । त्यसैले चाडपर्वको समयमा खानापानमा विशेष ध्यान नदिदा दिर्घको रोगको जोखिम बढी हुन्छ । 

मासुको सेवनले बालबालिका तथा बृद्ध उमेर समूहका मानिसमा फाइदाभन्दा धेरै बेफाईदा गर्छ । स्वस्थ मानिसमा समेतसमेत हानीकारक मासुले कोलेस्ट्रोल, उच्च रक्तचाप, यूरिक एसिड, मुटुरोग, बाथरोेगका जस्ता समस्या निम्त्याउन सक्छ । 
मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मस्तिष्क रोग, मृर्गौला रोग, मोटोपनको समस्याबाट पिडित भएका व्यक्तिले मात्र नभई स्वस्थ मानिसले पनि आफूले खाने खानाको गुण र अवगुणमा ध्यान दिनु जरुरी हुन्छ । रातो मासुमा प्रशस्त सेचुरेटेड फ्याट हुने भएकोले उच्च कोलेस्ट्रोलका बिरामीले कहिल्यै पनि रातो मासु खानु हुँदैन । तर, दशैका नाममा सेवन गर्ने बानीका कारण उनीहरुलाई स्वास्थ्य समस्याले झनै सताउँछ । स्वस्थ व्यक्तिले पनि थोरै परिमाणमा मात्रामा रातो मासुको सेवन गर्न सक्छन् । मुटुरोग विशेषज्ञ डा. ओममुर्ती अनिलका अनुसार मासु प्रोटिनको राम्रो स्रोत हो । तर मासुमा कोलेस्ट्रोल, ट्राइग्लीसेराइड र चिल्लो पदार्थ अत्याधिक मात्रामा पाइने भएकाले सन्तुलित रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ । 

रातो मासु (खसी, बोका, राँगा)मा प्रोटिनका साथै फ्याटी एसिड पनि प्रशस्त हुन्छ ।   त्यसैले रातो मासुभन्दा सेतो मासु (कुखुरा, हाँस) सेवन गर्नु उचित हुन्छ । सेतो मासु प्रोटिनका लागि उत्तम र रातो मासुको तुलनामा चिल्लो पदार्थ पनि कम रहेको हुन्छ । डा. अनिल कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले रातो मासुभन्दा छाला नभएको सेतो मासु कम तेलको प्रयोग गरी थोरै मात्रामा पकाउने वा उसिनेको मासु सेवन गर्न सकिने बताउँछन् । 

दशैमा बिदा हुने भएकाले मानिसहरु रमाइलोका लागि तास पनि खेल्छन् । चाडपर्वमा रमाइलो गर्न केही समय खेल्नु स्वास्थ्यका लागि फाइदा पनि हुन्छ । तर, रमाइलोका नाममाम रातभर तास खेल्ने चलन पनि छ । यसरी रातभर अनिदो बसेर तास खेल्दा अर्को दिनभर मानिसलाई आलश्य बनाउँछ । मानिसमा काम गर्ने शक्ति पनि हुदैन । रातभरको अनिदोका कारण दिउसो घुम्न निस्कदा दुर्घटना समेत हुने गरेको छ । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. कपिलदेव उपाध्याय रमाइलोको बाहानामा रातभर तास खेल्दा निद्राको सर्कल बिग्रिने बताउँछन् । निन्द्राको सर्कल बिएिपछि रिसाउने र चिडचिडापन हुने समस्या निम्तिन्छ । तास खेल्दा हार्दै गएमा जित्नु पर्ने समस्याले तनाव बनाउँछ । डा. उपाध्यायले भन्छन्, ‘केही समय तास खेल्दैमा स्वास्थ्यलाई ठूलो असर गर्दैन । तर रमाइलोको लागि रातभर अनिन्द्र बस्दा निन्द्रा नलाग्ने समस्या देखिन सक्छ ।’ धेरै समय अनिदो बस्दा दिर्घकालमा डिप्रेशन हुने, मन आत्तिने जस्ता समस्याहरु पनि देखिन सक्छन् । त्यसैले चाडपर्वमा रमाइलो गर्न दिनमा २ देखि ४ घण्टा तास खेले पनि रातभर नखुल्नु उत्तम हुन्छ । 

दशैमा खानपान गर्दा मिर्गौलाका बिरामीले पनि विशेष ध्यान दिनुपर्छ । मासुमा अत्यधिक मात्रामा हुने प्रोटिनले मिर्गौलाका बिरामीलाई फाईदा गर्दैन । मिगौला रोग विशेष डा. अनिल बराल शरिरमा प्रोटिनको मात्रा बढ्दै मिर्गौला छिटो बिग्रने सम्भावना हुने बताउँछन् । मिर्गौलाका बिरामीले नुनको मात्रा कम नगर्दा उच्चरक्तचापको समस्या पनि निम्तिन सक्छ ।  उच्च रक्तचापले बिरामीको मिगौला छिटो बिग्रार्न सहयोग गर्छ । फलफुलमा पोटासियमको मात्रा धेरै हुने भएकाले मिर्गौलाका बिरामीले अत्यधिक मात्रामा फलफुल सेवन गर्नुपर्छ । 

डा. बराल स्वस्थ मानिसलाई मासुको सेवनले मिर्गौलालाई धेरै असर नपारे पनि मिर्गौलाका बिरामीले विशेष सावधाानी अपनाउनु पर्ने बताउाछन् । “मिर्गौलाबाट पिडीत बिरामीले उच्च प्रोटीन र पोटासियमको मात्रा कम गर्नुपर्छ” डा. बराल भन्छन्, “डायलासिस गराइरहेका बिरामीले दशै आयो भन्दैमा मासु खाने र फलफूल धेरै खाने भएकाले झनै स्वास्थ्य समस्या थपिन्छ ।”
 

Last modified on 2018-10-20 14:16:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts