भैरहवामा पोलियो दिवसको अवसरमा दौड प्रतियोगिता  



Download our app to get more features

भैरहवा ७ कार्तिक । विश्व पोलियो दिवसको अवसर पारेर भैरहवामा क्रियाशिल ६ वटा संस्थाहरुले १२ किलोमिटर दौडको आयोजना गरेका छन । 

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी र रोट्रयाक्ट क्लब अफ भैरहवाले बुधबार विश्व पोलियो दिवसमा दौडको आयोजना गरेका हुन ।

विश्वमा पोलियो नियन्त्रण गर्न अह्म भूमिका खेल्दै आएको रोटरी इन्टरनेशनल र त्यसका शाखाहरुले प्रत्येक वर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउँदै आएका छन् ।

 विश्वलाई पोलियो मुक्त घोषणा गरिए पनि हालसालै पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा लगायतका देशहरुमा पोलियो देखिएको भन्दै त्यसलाई अन्य मुलुकहरुमा फैलन नदिन जनचेतनामूलक दौड गरिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष सञ्जिव शर्मा रेग्मीले बताए । 

खुल्ला सीमा क्षेत्र भएकाले यहाँ पनि पोलियो सर्न सक्ने भन्दै रोटरीले सचेत रहन सबैलाई आग्रह गरेको छ । राष्ट्रियस्तरका धावकहरु सहित १ सय १८ जनाको सहभागिता रहेको दौडमा जुम्लाका दुर्गा बहादुर पुन बुढा प्रथम, राजविराजका अजित कुमार यादव द्धितीय र बाग्लुङका तिर्थ पुन तृतीय भएको रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष माधब न्यौपानेले बताए । 

दौडमा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रो हुनेलाई २१ हजार र तेस्रो हुनेलाई ११ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै दौडमा १०औं स्थान सम्म पर्न सफल धावक र महिला धावकहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । 

भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको दौड बर्मेलीटोल, नयाँसडक, जनकपथ, बसन्तपुर बाइपास हुँदै सशस्त्र क्याम्प डण्डा, आँखा अस्पताल, देवकोटाचोक, बैंक रोड, मिलनचोक, हुँदै विद्रोही चोकमा पुगेर समापन भएको थियो । दौडमा धावकलाई हौसला प्रदान गर्न दक्षिण एसियाका म्याराथन रेकर्डधारी तथा आइकन बैकुण्ठ मानन्धर पनि सहभागी भएका थिए ।

Last modified on 2018-10-24 14:24:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts