अझै खुल्न चाहँदैनन् एचआइभी सङ्क्रमितहरु



Download our app to get more features

कुश्मा, ७ कात्तिक । फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । उनी एचआइभी सङ्क्रमित युवा हुन् । उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैन । आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको हुन् । 
उनी आफ्ना कारण नभई आफ्ना अभिभावक (बुवा÷आमा) का कारण एचआइभी÷एड्स सङ्क्रमित भएका हुन् । हाल एचआइभी सङ्क्रमणकै कारण उनले परिवारका सबै सदस्य गुमाइसकेका छन् । परिवारमा बाँकी रहेकी एउटी दिदीको पनि दुई वर्ष अघि विवाह भइसकेको छ । दिदी भने एचआइभी सङ्क्रमित होइनन् । समाजले एचआइभी सङ्क्रमितहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न नसकेका कारण जिल्लामा आफू लगायतका थुप्रै सङ्क्रमितहरु खुल्न नसकेको उनले बताए । 

यस्तै, फलेवास नगरपालिकाभित्रैका वर्ष २९ का अर्का एक युवक पनि समाजले सङ्क्रमितहरुप्रति गर्ने व्यवहार पेचिलो भएका कारण आफू जस्तै साथीहरु खुल्न र सहज ढङ्गबाट प्रस्तुत हुन नसकेको बताउँछन् । अहिलेसम्म विवाह बन्धनमा नबाँधिएका उनको परिवारमा उनी मात्रै एचआइभी सङ्क्रमित हुन् । शुरुमा एचआइभी सङ्क्रमण छ भन्ने थाहा पाउँँदा आफू छाँगाबाट खसेजस्तै भएको उनी बताउँछन् । उनी भन्छन् – “शुरुमा त मैले आत्महत्या गर्ने प्रयास पनि गरेको थिएँ । पछि कम्युनिटी सर्पोट गु्रपले धेरै सहयोग ग¥यो र थप बाँच्ने प्रेरणा भ¥यो । अहिले म आफूलाई मात्र होइन म जस्तै अरुलाई पनि सम्झाउन सक्ने भएको छु ।” 

‘एचआइभी आफैंमा रोग होइन, यसले त रोगप्रतिरोधात्मक क्षमता कमजोर गराउने मात्र हो । पथपरहेजमा बस्न सक्यो र एआरटी नियमित प्रयोग ग¥यो भने आयु लम्ब्याउन सकिन्छ । सङ्क्रमित भएपछि पनि मानिस ३०–४० आँंै वर्ष बाँच्न सक्छ ।’ उनले भने – “विगतमा हामी आफ्ना लागि मात्र बाँचेका थियौं तर अहिले जीवन के हो थाहा पायौं र अरुका लागि पनि केही गरौं भनेर बाँचिरहेका छौं ।” 

उनले आफू भारतको मिजोरम स्टेटमा रहेको र त्यहाँ केटी साथीहरुसँग खुल्ला यौन सम्पर्क गरेका कारण एचआइभी सङ्क्रमित भएको खुलासा गरे । उनले भने – “सत्र–अठार वर्षको उमेरमा ड्रक्स युज गर्ने केटी साथीहरुको सङ्गत थियो । उनीहरुमा सङ्क्रमण भएको मलाई थाहा भएन । खुल्ला यौन सम्पर्क गरें जसका कारण म आफैं सङ्क्रमित भएँ ।” समाजले आफूहरुप्रति हेर्ने दृष्टिकोण र गर्ने व्यवहार जबसम्म परिवर्तन हुँदैन तबसम्म सङ्क्रमितहरु खुल्न नसक्ने उनले दोहो¥याए । 

त्यस्तै, कुश्मा नगरपालिकाभित्रैका वर्ष ४० का एक पुरुष पनि एचआइभी सङ्क्रमित छन् । ऊ पनि खुलेर कुरा गर्न चाहँदैन । भारतमा काम गर्न गएको बेला उनले त्यहीँका स्थानीय महिलासँग विवाह गरेका थिए । पछि श्रीमतीले छाडेर हिँडे पछि उनी नेपाल फर्किए । सामान्य बिरामी भइरहने र बेहोस भइरहने समस्या उसमा पहिलेदेखि नै देखिइरहन्थ्यो । उनले गोर्खा माइत भएकी एक महिलासँग विवाह गरे । खुशीसाथ नयाँ जीवन सँगिनीसँग रमाइरहेका उसलाई विवाह गरेको सात महिना पछि एकाएक एचआइभी सङ्क्रमण भएको थाहा भयो । उनी छाँगाबाट खसे जस्तै भए । शुरुमा श्रीमतीलाई पति बताउन सकेनन् । कहाँ जाउँ ? के गरुँ ? मरुँ वा बाँचु ? यस्तो तनावमा जीवन व्यतित गर्नपरेको उनी बताउँछन् । समय घर्किँदै गएपछि नबताएर पनि साध्य लागेन । विस्तारै सबै कुरा उनले श्रीमतीलाई बताए । श्रीमती एचआइभी सङ्क्रमित भने होइन । यद्यपि तिनले नियमित स्वास्थ्य जाँच गराइरहेकी छन् । आफूले दायाँबायाँ यौन सम्पर्क नगर्ने गरेको भएपनि पहिलाको श्रीमतीबाट आफू सङ्क्रमित भएको हुनसक्ने उनको अनुमान छ । 

यी र यस्ता धेरै सङ्क्रमितहरुले कम्युनिटी सपोर्ट गु्रप पर्वतबाट सहयोग लिइरहेका छन् । तर उनीहरु सबै अझै पनि समाजमा खुल्न भने चाहिरहेका छैनन् । राज्यले सङ्क्रमितहरुका लागि केही न केही सहयोग उपलब्ध गराइरहेको छ भने विभिन्न सङ्घसंस्थाहरुले एचआइभी÷एड्स सङ्क्रमितहरुको क्षेत्रमा काम गरिरहेका छन् । सबैमा चेतनाको स्तर धेरै माथि पुगिसकेको भए पनि समाजमा अझै सङ्क्रमितहरु खुल्न नसकेको अवस्था विद्यमान छ । 

सङ्क्रमितहरु खुल्ने वातावरण तयार गर्न राज्यस्तरबाट समुदायमा अझै थप चेतनामूलक कार्यक्रमहरु ल्याउन जरुरी भएको कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सङ्क्रमित भएपछि समाजले गर्ने हेला होचोका कारण उहाँहरु खुल्न नसक्नु भएको हो । हामीहरुले एचआइभी सङ्क्रमितहरुलाई अन्य मानिस सरह व्यवहार गर्न जरुरी छ ।” 

पर्वत जिल्लामा एचआइभी÷एड्सको क्षेत्रमा काम गरिरहेको कम्युनिटी सपोर्ट गु्रपका कार्यक्रम संयोजक प्रेम केसीले दिएको जानकारी अनुसार हाल यस जिल्लामा १०७ एचआइभी सङ्क्रमित छन् । यसमा पुरुष ४८ र महिला ५९, १८ वर्ष मुनिका किशोर तीन र किशोरी चार जना छन् । सिएसजीको पछिल्लो तथ्याँक अनुसार अन्य जिल्लाबाट सेवा लिन आएका १७ जना, प्रवासी ८ जना र सेवा लिन छाडेका तीन जना छन् भने निरन्तर सेवा लिइरहेका ६९ जना छन् । सङ्क्रमितमध्ये ८ जनाको मृत्यु भइसकेको छ । 

उहाँका अनुसार अधिकाँश सेवाग्राहीहरु भारत तथा अन्य मुलुकमा रोजगारका लागि जाने क्रममा सङ्क्रमित हुने गरेको र उनीहरुबाटै श्रीमती तथा छोराछोरीलाई सङ्क्रमण हुने गरेको छ । अहिलेको तथ्याँक हेर्दा धेरैजसो दलित र विपन्न परिवारका सदस्यहरु एचआइभी सङ्क्रमणमा परेका छन् । 

पर्वत जिल्लामा एचआइभी÷एड्स सङ्क्रमितको सङ्ख्या विगत वर्षहरुको तुलनामा बढ्दै गएको छ । गु्रपले दिएको जानकारी अनुसार गत वर्ष १०३ जना सङ्क्रमित भएकामा यो वर्ष बढेर १०७ पुगेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी लिनेको सङ्ख्या भने लगभग त्यसको आधा मात्रै रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स फोकल पर्सन जनार्दन गिरीका अनुसार पर्वत जिल्लाको एआरटी सेन्टरबाट हाल ५६ जना सङ्क्रमितले मात्र एआरटी सेवन गरिरहेका छन् । केहीले छिमेकी जिल्लाहरुबाट पनि यो सेवा लिइरहेका छन् । 
रासस
 

Last modified on 2018-10-24 13:49:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts