भेरी अञ्चल अस्पतालमा १० वर्षमा ११ प्रमुख फेरिए



Download our app to get more features

बाँके, १२ कात्तिक । एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि हालसम्म सो अस्पताल लगभग निमित्त मेडिकल सुपरिटेन्डेण्टका भरमा चलिरहेको छ ।

राजनीतिक हस्तक्षेपले सरकार परिवर्तनसँगै सरकारी अस्पतालमा प्रमुख फेरिने गरेका छन् । बितेको १० वर्षमा भेरी अञ्चल अस्पतालमा ११ पटक प्रमुख फेरिएका छन् । तीमध्ये आठ जना त निमित्त भएका छन् । स्थापनाकालदेखि अहिलेसम्म भएकामध्ये केही निमित्त मेसु स्वास्थ्य नियमावली विपरीत पनि नियुक्त भएको तथ्य खुलेको छ ।

स्वास्थ्य नियमावलीअनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्डेण्ट नियुक्ति गर्न पाउने व्यवस्था छ तर, निमित्तका रूपमा रेडियोलोजिस्ट पनि यस अस्पतालका प्रमुख भएका छन् । विगतमा सरकारले विनोद ढकाललाई प्रमुख मेडिकल सुपरिटेण्डेटमा नियुक्त गरेको थियो । अस्पतालले दिएको तथ्याङ्कअनुसार अहिलेसम्म तीन जना मात्रै प्रमुखका रूपमा नियुक्त भएका छन् भने अन्य सबै निमित्त नियुक्त भएका हुन् ।

यसअघि सरकारले गत वर्ष प्रकाश थापालाई निमित्त मेसुमा नियुक्त गरेको थियो तर, राजनीतिक हस्तक्षेपका कारण उनी छोटो समयमै सो पदबाट निकालिएका थिए  अहिले ुसो स्थानमा डा. रूपानन्द अधिकारीलाई निमित्त मेसु तोकिएको छ । अहिले पनि एक वर्षदेखि भेरी अञ्चल अस्पताल निमित्त प्रमुखकै भरमा चलिरहेको छ । तीन तीन महीनामा निमित्त प्रमुख फेरिने गरेकाले विकासे काम मात्र होइन उपचारका लागि आउने बिरामीसमेत समस्यामा पर्न थालेका छन् ।

अस्पतालको कामकारवाही र विकासका योजनाबारे जानकारी लिन नपाउँदै निमित्त प्रमुख फेरिने गरेकाले समस्या हुने गरेको चिकित्सकले बताएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा बिरामीले सामान्य उपचार पाउने गरेका छन् । बिरामी महँगो पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । राजनीतिक खिचातानीका कारण छिटोछिटो प्रमुख फेरिने गरेको अस्पतालका कर्मचारीले बताएका छन् । रासस

Last modified on 2018-10-29 14:42:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts