पाँच वर्षमुनिका बालबालिकालाई किन खुवाउने भिटामिन ए 



Download our app to get more features

काठमाडौं, १३ कात्तिक । शिशु जन्मेको ६ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ  भने भोलि पायक पर्ने बुथमा लिएर जाने तयारी गर्नुहोला । आफ्ना शिशुलाई स्वस्थ बनाउन एकै पटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयंसेविका/स्वास्थ्यकर्मी तयारी अवस्थामा छन् । 

१४ र १५ कात्तिक गरी दुई दिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्छ । यसवर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले १४ र १५ कात्तिकमा सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका गाउँपालिका÷नगरपालिकाले गर्दैछन् ।

‘देशभरका ७ सय ५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो’ बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भने । उनका अनुसार भिटामिन ए क्याप्सुल ६ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा छ । ‘भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ’, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. झलक गौतमले भने ।

चार प्रतिशत बालबालिकामा भिटामिन ए अभाव
भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावले समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ । सन् २००८ देखि ६ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरु गरिएको थियो । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउनु पर्छ । कारिब ६ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र एक सय ८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । 

पाखुराको नाप किन ? 
स्वास्थ्य मन्त्रालयले ६ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । ‘पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ’, पोषणशाखा प्रमुख पराजुलीले भने  । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ । 

बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् ।  रासस

Last modified on 2018-10-30 16:33:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts