बिसिजी सुईको मौजाद सकियो, दाता गुहार्दै सरकार

धुनषाका सैयौं बालबालिकाका सुई लगाउनबाट वञ्चित



Download our app to get more features

काठमाडौं १४ कात्तिक । बिसिजी सुई अभावले सेवा रोकिने भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपतकालिन रुपमा युनिसेफलाई गुहारेको छ । जन्मेदेखि एकवर्ष सम्मका बच्चालाई क्षयरोगविरुद्ध लगाइने बिसिजी अभाव हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालीन मौजादका लागि युनिसेफ गुहारेको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको बाल स्वाथ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बिसिजी भ्याक्सिन केही जिल्लामा अभाव भएको बताए । अधिकारीहरुका अनुसार भ्याक्सिन अभाव हुँदा खोप सेवा नै प्रभावित हुनपुग्छ । गत वर्ष बिसिजी भ्याक्सिन खरिद भएको थिएन । उक्त भ्याक्सिन खरिद नभएका कारण मौजाद रहेको भ्याक्सिन सकिन थालेको अधिकारीहरुले बताए ।

जिल्लाहरुले भ्याक्सिन अभावको जानकारी गराउन थाले

परिवार कल्याण महाशाखाका अनुसार हाल बिसिजी भ्याक्सिन मौजाद केन्द्रमा न्युन मात्रामा रहेको छ । डा. गौतमका अनुसार बिसिजी भ्याक्सीन अभावको खबर जिल्लाहरुबाट क्रमिक रुपमा आउन थालेको छ । ‘कतिपय जिल्लाहरुबाट भ्याक्सिन सकियो भनेर खवर आएको छ’ डा. गौतमले भने, ‘तर, देशभर अभाव भन्ने छैन । हामीले मेडिकल स्टोरहरुमा केही भ्याक्सिन पठाएका छौं । तत्कालका लागी अभाव भएका जिल्लाहरुले मेडिकल स्टोरबाट ल्याउन सक्नेछन् ।’ भ्याक्सिन अभावले आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सकरारले दातृ निकाय गुहार्न पुगेको हो । जिल्लाहरुबाट अभाव भएको जानकारी आउन थालेपछि विभागले आपतकालीन भ्याक्सीन संकलन कार्यलाई तीव्रता दिएको छ । भ्याक्सिन वितरण गर्दा बढी गएका जिल्लाहरुबाट फिर्ता गराएर प्रत्येक मेडिकल स्टोरमा आपतकालीन अवस्थाका लागि भनेर पठाएको छ ।

दुई हप्ताभित्र उपलब्ध गराउने युनिसेफको प्रतिवद्धता

भ्याक्सिन अभाव हुन नदिन सरकारले युनिसेफलाई सहयोग मागेको हो । गौतमका अनुसार दुई हप्ता भित्र युनिसेफले आपत्कालीन सेवाका लागी तीन महिनालाई पुग्ने भ्याक्सिन उपलब्ध गराउने सहमति भएको छ । हरेक वर्ष १ लाख ३० हजार बच्चालाई क्षयरोग विरुद्धको बिसिजी खोप दिने गरिन्छ । यो जन्मेदेखि एक वर्ष सम्मका बच्चालाई ०.५ एमएल दिइन्छ । सरकारले यस वर्ष ९ लाख भ्याक्सिन खरिदका लागि टेण्डर गरेको छ । सो भ्याक्सिन आउन केही महिना लाग्ने भएकाले त्यस बिचको समयलाई धान्न आपतकालिन अवस्थाका लागि युनिसेफले दिने सहमति जनाएको हो ।

धुनषाका सैयौं बालबालिकाका सुई लगाउनबाट वञ्चित

नवजात वच्चाहरुलाई लगाउनुपर्ने पहिलो सुइको रुपमा रहेको बिसिजी सुइको सिरिन्च धनुषामा अभाव हुँदा महिनौ देखि सयांै बच्चाहरु सुइ नलगाई घर फर्किनु परेको छ । सुइको अभाव हुन नदिनका लागि आवश्यकताभन्दा बढि सुइ खरिदका लागि खरिद प्रक्रिया अगाडी बढाइए पनि प्राविधिक समस्याका कारण खरिद हुन सकेको छैन ।

धनुषामा शिशुका लागि अति अवाश्यक बिसिजी सुई अभाव भएको छ । जनस्वास्थ्य कार्यालय धनुषामा नै सुई सकिएपछि सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महासंघका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठका अनुसार विसीजी सुइको अभाव हुन नदिनका लागि आवश्यकता भन्दा पनि बढि सुइ खरिदका लागि खरिद प्रक्रिया अगाडी बढाइएपनि प्राविधिक समस्याका कारण सफल हुन सकेको छैन ।

महाशाखाले ११ लाख विसीजी सुइका लागि ५८ लाख बजेट छुटयाएर खरिद प्रक्रिया पनि अगाडी बढाएको थियो । विसीजी सुइको अभावको बारेमा महाशाखमा गम्भीर रहेको र वच्चाहरुले समयमा सुइलगाउनुपर्नेमा वच्चाहरुको अधिकारको हनन हुने भएकोले छिटै नै समस्याको निराकरण गर्ने प्रतिवद्धता जनाएका छन ।

यता वच्चाहरुको लागि अति आवश्यक रहेको विसीजी सुइ सकिनुभन्दा पहिले नै महाशाखा संग किन माग गर्नुभएन भनेर धनुषाका जनस्वास्थ्य प्रमुख हरिशचन्द्र साहसँग प्रश्न गर्दा उनले मुलुक संघियतामा गएकोले कर्मचारीहरु यताबाट उता पठाउनुपर्ने समस्याका कारण समयमानै ध्यान दिन नसकिएको वताए । यद्यपी उनले अब समस्या आउन नदिने दावी गरेका छन् । 

वच्चाहरुलाई क्षयरोग टिवी रोग लाग्नबाट वचाउनका लािग जन्मेको एक वर्ष भित्रमा जती छिटो होस विसीजी सुइ लगाउनुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ । प्रदेश नं २ का केहि जिल्लामा अभाव हुने स्थितीमा रहेपनि धनुषा जिल्लामा विसीजी सुइको हाहाकार नै भएको छ ।
 

Last modified on 2018-10-31 14:01:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts