धन्वन्तरी जयन्ती: के हो आयुर्वेद ? यस्तो छ नेपालमा इतिहास


Download our app to get more features
Birat Hospital

के हो आयुर्वेद ?
आयु र वेद शब्दको योगले आयुर्वेद बन्छ । शरीर इन्द्रिय मन र आत्माको संयोगलाई आयु भनिन्छ । आयु भनेको जीवन हो । हिन्दुशास्त्र अनुसार सामाजिक, सांस्कृतिक तथा मानसिक रूपमा स्वस्थ आयुसम्बन्धी ज्ञान दिने शास्त्रलाई आयुर्वेद भनिन्छ । शरीरका सबै अंग सुन्दर, स्वस्थ र सबल रहेर व्यक्तिगत, पारिवारिक, सामाजिक र मानसिक सबै पक्षमा आनन्दसाथ जीवनयापन गर्नु स्वस्थ आयु हो । स्वस्थ मानिसको स्वास्थ्यको रक्षा गर्नु र रोग लागेको अवस्थामा रोगको निवारण गर्नु आयुर्वेदको उद्देश्य हो । समष्टिगत रूपमा आयुर्वेदशास्त्रले मानव प्राणीको आयुमा बाधा पु¥याउने रोगका कारण, लक्षण र उपचारविधिको विस्तृत रूपले विवेचना गरेकोे छ ।

आयुर्वेदको इतिहास
आयुर्वेदको रचनाकाल ईसापूर्व ३ हजारदेखि ५ हजार वर्षपहिले भएको मान्यता छ । प्राचीन समयमा ऋषि अत्रेयले आयुर्वेदको विद्या आफ्ना ६ शिष्यलाई बाँडेका थिए भन्ने कथन छ । ती ६ शिष्यहरूमा– अग्निभेष, भेल, अतुकर्ण, पराशर, हारित र क्षारपाणी थिए । सुश्रुतसंहिताअनुसार भगवान् इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान धनवन्तरीलाई दिएका थिए । अन्त्यमा धनवन्तरीले आयुर्वेदको ज्ञान आफ्ना सातजना शिष्य औषधेनव, वैतरण, उरभ गोप्ररक्षित, पौषकलावत, करविर्य र सुश्रुतलाई दिएका थिए । कश्यपसंहिता अनुसार इन्द्रले आफूले प्राप्त गरेको आयुर्वेदको ज्ञान कश्यप वशिष्ठ भृगु अत्रीलाई दिएका थिए । यसरी बिभिन्न कालखण्डमा आयुर्वेदको ज्ञान एकबाट अर्कोमा हस्तान्तरण हुँदै आएको धर्मग्रन्थहरूमा उल्लेख छ ।

नेपालमा आयुर्वेद
परम्परागत चिकित्सापद्धति आयुर्वेदले जडीबुटी प्रयोग गरी गाउँघरमै विभिन्न रोगमा उपचार गरी स्वास्थ्यसेवा प्रदान गर्ने प्रचलन नेपालको अति प्राचीन परम्परा हो । संवत् १७९० को दशकमा राजा रणजित मल्लले पादरीमार्फत पश्चिमा संसारमा लोकप्रिय बन्दै गरेको औषधि तथा आधुनिक चिकित्साविधि नेपाल भित्र्याएको मानिन्छ । त्यसताका नेपालमा करिब ८० प्रतिशतभन्दा बढी मानिसले प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा आयुर्वेद चिकित्सापद्धतिमार्फत जडीबुटीद्वारा उपचार गर्ने गर्थे । नेपालमा चार हजारभन्दा बढी प्रभावशाली जडीबुटी पाइन्छन् । नेपालको माटो दल्दामात्रै शरीरको ७५ थरीका रोग निको हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । विभिन्न हरिया वनस्पतिको धूवाँ सुँघाएर मात्रै १३ वटा रोग निको पार्न सकिन्छ ।

सिंहदरबार वैद्यखाना 
काठमाडौंको अनामनगरस्थित सिंहदरबार वैद्यखाना मुलुकको एकमात्र सरकारी आयुर्वे्दिक औषधि उत्पादन गर्ने उद्योग हो । उसले आयुर्वेदसँग सम्बन्धित सम्पूर्ण परामर्श निःशुल्क दिने गरेको छ । वैद्यखानालाई व्यवस्थित बनाउन औषधि व्यवस्था विभाग, आयुर्वेदिक विभाग तथा उत्पादक संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । वैद्यखानाका आयुर्वे्दिक औषधिको माग बजारमा अत्यधिक भए पनि वैद्यखानाले पूर्ति गर्न सकेको छैन ।

आयुर्वेद औषधि उद्योग बढ्दै 
आयुर्वे्दिक औषधिको बढ्दो मागसँगै स्वदेशी कम्पनीको संख्या पनि बढिरहेको छ । नेपालमा हाल करिब ८० वटा आयुर्वे्दिक औषधि कम्पनी उत्पादनका लागि दर्ता गरिसकेका छन् । यसमध्ये ४२ कम्पनीले आफ्नो उत्पादन बजारमा पठाएका छन् । केही वर्षअघिसम्म अधिकांश आयुवेर्दिक औषधि भारतबाट आयात हुँदै आएको थियो । तर, अहिले कुल मागको २५ प्रतिशत औषधि नेपाली कम्पनीबाटै उत्पादन हुन थालेको आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले बताए । शास्त्रीय प्रणाली (आयुर्वे्दिक प्राचीन ग्रन्थमा दिइएको) बाट उत्पादित आयुर्वे्दिक औषधिको माग नेपालमा मात्र नभई विश्व बजारमा समेत बढेको छ । तर, नेपाली कम्पनीले ठूलो मात्रामा औषधि उत्पादन गर्न सकेका छैनन् । हाल नेपालको कुल मागको करिब २५ प्रतिशत औषधि नेपाली कम्पनी उत्पादन गर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा पनि माग बढ्दो 
अहिले पनि हामी आयुर्वे्दिक औषधिका लागि भारतकै भर पर्नुपरेको छ । त्यसैले लगानीका लागि आयुर्वेद औषधि उत्पादन ठूलो सम्भावनाको क्षेत्रका रूपमा रहेको छ । एलोपेथिकका तुलनामा आयुर्वे्दिक औषधिको ‘साइड इफेक्ट’ कम हुने भएकैले पछिल्लो समय युरोप तथा अमेरिकी मुलुकमा समेत आयुर्वे्दिक औषधिको प्रयोग बढ्दै गएको डा. ज्ञवालीको भनाइ छ । परम्परागत ढंगबाट सञ्चालन हुँदै आएका आयुर्वेदिक औषधि कम्पनीले पछिल्लो समय आधुनिक प्रणाली अपनाउन थालेसँगै विदेश निर्यात पनि बढेको छ । नेपालबाट युरोपका विभिन्न देशमा करिब ३० भन्दा बढी प्रकारका जडीबुटीजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात भइरहेको छ ।

कच्चा पदार्थको कठिनाइ 
आयर्वेदको तीन स्रोत रहेको छ । वनस्पतिजन्य, प्राणीजन्य र खनिजजन्य । नेपालमा स्थापित कतिपय आयुर्वे्दिक औषधि उद्योगले अहिले पनि भारतबाट कच्चा पदार्थ ल्याउने गरेका छन् । उता, नेपालबाट भने ठूलो परिमाणमा जडीबुटी विदेश निर्यात भइरहेको छ । नेपालबाट सबैभन्दा बढी चीनमा जडीबुटी निर्यात हुने गरेको छ ।

नेपालमा आयुर्वेदिक औषधि उत्पादनका लागि आन्तरिक कच्चा पदार्थ जडीबुटी कति खपत हुन्छ भन्ने कुनै तथ्यांक न सरकारसँग छ न निजी क्षेत्रसँगै छ । नेपालमा जति जडीबुटी संकलन हुन्छ, त्यसको ९० प्रतिशत विदेश निर्यात हुने र बाँकी १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । नेपालबाट विदेश खासगरी भारत र चीन वार्षिक करिब सात हजार पाँच सय मेट्रिक टन निर्यात हुने गर्छ । निर्यात हुने जडीबुटी ६५ देखि ७० प्रकारका छन्, जसमध्ये २० प्रकारको जडीबुटी माग एकदम उच्च छ । स्वदेशी गुणस्तरीय जडीबुटी विदेश निर्यात हुने र विदेशी कमसल जडीबुटी स्वदेश भित्रिने क्रम बढिरहेको छ ।

कच्चा पदार्थका लागि सरकारले के गर्यो  ?
आर्थिक वर्ष २०७३र०७४ को बजेटमा जडीबुटी एवम् गैरकाष्ठ प्रजातिको उत्पादन, प्रशोधन र बजारीकरणका लागि पकेट क्षेत्र निर्धारण गरिने, कर्णालीलगायतका विभिन्न भौगोलिक क्षेत्रमा पाइने टिमुर, लप्सी, लौठसल्ला, बोधिचित्त, रुद्राक्ष, तेजपात, अर्गेली, च्युरी, चिराइतो, श्रीखण्ड र मेन्थाजस्ता विशेषप्रकारका जडीबुटीको व्यावसायिक उत्पादन वृद्धि गर्न किसानलाई ज्ञान, सीप, प्रविधि र अनुदान उपलब्ध गराइने र यी सबै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्रीले घोषणा गरेका थिए । तर, अझैसम्म कर्णालीमा जडीबुटी कुहिरहेका छन् । प्राकृतिक जडीबुटीको अत्यधिक दोहन भइरहेको छ । उदाहरणकै लागि हेर्ने हो भने यार्सागुम्बाको चोरी निकासी तथा अव्यवस्थित संकलनलाई हेर्न सकिन्छ ।


वर्तमान अवस्था 
आयुर्वेदको विकास र जडीबुटीको प्रवद्र्धन कागज र भाषणमा मात्र सीमित भइरहेको छ । जसबाट आयुर्वेद चिकित्सा क्षेत्रमा काम गरिरहेका निजी क्षेत्र समेतमा नैराश्य छाएको छ । देशबाट जडीबुटी अवैध रूपमा सस्तोमा बिदेसिन्छ र ती जडीबुटीबाटै बनेका औषधि ी महँगोमा विदेशबाट आयात गरी सेवन गर्न हामी बाध्य छौं । आमसर्वसाधारणको आयुर्वेदप्रति चासो छ तर सरकार, आयुर्वेद स्वास्थकर्मी, आयुर्वेदका क्षेत्रमा काम गर्ने संघ–संस्था जनताको चाहनाबमोजिम आयुर्वेदको क्षेत्रलाई फराकिलो बनाउन सकिरहेका छैनन् ।

अन्त्यमा, 
आयुर्वेदको उपचार आधुनिक चिकित्साविज्ञानभन्दा फरक छ । सबै औषधि जडीबुटीबाट बनाइन्छ । हरेक रोगको उपचारमा प्रयोग हुने औषधि, रोगका कारण र बिरामीको अवस्थाअनुसार फरक–फरक हुन्छन् । त्यसैले कुनै पनि आयुर्वे्दिक उपचारका लागि आयुर्वेदका डाक्टरलाई जँचाएर मात्र उपचार गर्नुपर्ने द्रव्यगुण विज्ञान विशेषज्ञ प्रा.डा. श्याममणि अधिकारीले बताए । बजारमा पाइने तयारी आयुर्वे्दिक औषधि आफूखुसी सेवन गर्नु हानिकारक हुने अधिकारीको जिकिर छ । त्यसैले जथाभावी आयुर्वे्दिक नाम सुन्नेबित्तिकै औषधि सेवन नगरौं । चिकित्सकको सल्लाहमा मात्र आयुर्वे्दिक औषधि सेवन आयोग्य जीवनका लागि लाभदायक हुने प्रा.डा. अधिकारीको ठहर छ ।

Last modified on 2018-11-06 06:35:28

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital