संचय कोषले संचयकर्तालाई १० लाखसम्मको स्वास्थ्य बीमा गरिदने



Download our app to get more features

काठमाडौं, २९ कात्तिक । कर्मचारी संचयकोषले संचयकर्ताहरुलाई १० लाखसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ । संचयकर्ताको रोग र अवस्था हेरी स्वास्थ्य उपचारको लागि कोषले बीमा गरिदिन लागेको हो । संचयकर्ताको स्वास्थ्य बीमा गर्ने विषयमा बुधबार कोष र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कोषका प्रमुख तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख वीरबिक्रम रायमाझीले हस्ताक्षर गरेका छन् । यो बीमा स्किम मंसिरदेखि तीन वर्षसम्मका लागि लागू हुनेछ।

कोषमा ६ लाख संचयकर्ता
संचय कोषमा हाल ६ लाख भन्दा बढी संचयकर्ता आबद्ध छन्। यो स्किम सुरु भएपछि संचयकर्ताहरुले सामान्य अवस्थामा वर्षमा एक लाखसम्मको स्वास्थ्य उपचार खर्च पाउने छन्। यस्तै जटिल प्रकारका रोग लागेको अवस्थामा संचयकर्ताले वर्षमा १० लाखसम्मको उपचारको खर्च पाउने जनाइएको छ । संचयकर्ताको सुविधा बृद्धि गर्दै थप संचयकर्ताहरु आकर्षित गर्नका लागि कोषले यो कार्यक्रम ल्याएको कोषले जनाएको छ । यो कार्यक्रममा बीमा गरिदिने बापत तिर्नुपर्ने प्रिमियम कोषले नै बेहोर्नेछ। संचयकर्ताले यसमा केही पनि नगरे हुन्छ। नेपालभर बीमा कम्पनीका शाखाबाट दावी भुक्तानी लिनसकिने व्यवस्था गरिएको छ।

यसरी पाउनेछन् संचयकर्ताले भुक्तानी
सम्झौता अनुसार औषधि उपचारका लागि भुक्तानी पाउनको लागि संचयकर्ताले संचय गर्न लागेको ६ महिना भएको हुनुपर्ने छ। यसमा औषधि उपचारमा संचयकर्ताले सर्जन वा डाक्टरको शुल्क वर्षमा ३० हजारसम्म दावी गर्न पाइने छ । यस्तै अधिकतम २० हजार जाँच शुल्क, एक्स–रे, वा विशेषज्ञ शुल्क बापतको खर्च दावी गर्न पाइने छ। यस्तै कर्मचारीले अस्पतालमा भर्ना भइ उपचार गरेपछि प्रतिदिन २ हजार नबढ्नेगरी वर्षमा २५ हजारसम्मको दावी गर्न पाउने छन्।
वर्षमा औषधि खरिद गरे बापतको १५ हजारसम्मको दावी गर्न पाइने यो योजनामा प्रसुती हुँदा  ९ हजार खर्च दावी गर्न पाइने छ। कडा रोगका लागि उपचार खर्च दावी गर्दा भने सरकारले तोकेका रोग लाग्दा उपचार गर्दा खर्च भएमा दावी गर्न पाइने छ।

कहाँ कहाँबाट उपचार गरे पाइन्छ भुक्तानी ?
नेपाल सरकारले स्वीकृत दिएका देशभरका अस्पताल, नर्सिङ होममा उपचार गराउँदा यो कार्यक्रमले समट्ने छ भने निजी क्लीनिकमा गरिएको उपचारलाई यसले मान्यता दिने छैन। त्यस्तै नेपालमा उपचार हुननसक्ने डाक्टरको सिफारिस भएमा विदेशमा उपचार गरिएको खर्चको दावी पनि यसमा गर्न मिल्ने छ।
 

Last modified on 2018-11-16 15:23:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts