के गर्दैछ राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा एकाई ?



Download our app to get more features

अर्थो, न्यूरो, स्पाइन, बर्न र प्लाष्टिक सर्जरी सम्बन्धी उपचार सेवा प्रवाह गर्ने एक मात्र विशिष्टिकृत सरकारी अस्पताल हो राष्ट्रिय ट्रमा सेन्टर । २१ वर्षअघि सन् ६ जुन १९९७ मा तत्कालिन भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजराल नेपाल भ्रमणमा आउँदा शिलान्यास भएको र त्यसको ६ वर्षपछि सन् २००३ मा नेपाल र भारत सरकारबीच ट्रमा सेन्टर निर्माण गर्ने सहमति भए अनुसार यो अस्पताल ११ वर्षमा पुरा भएको हो । 
त्यसपछि पनि करिब चार वर्ष अस्पताल सञ्चालनमा आएन । ९ मंसिर ०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बखत नेपालका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालालाई हस्तान्तरण गरेपछि औपचारिक रूपमा यो सेन्टर सञ्चालनमा भएको हो ।

दश रोपनी क्षेत्रफलमा फैलिएको यो भवनमा जमिनमुनि २ तल्ला र जमिनमाथि ७ तल्ला छ । दुर्घटना, हिंसा, चोटपटकका कारणवाट हुने स्वास्थ्य समस्या, हाडजोर्नी तथा नशा, मुटु शल्यचिकित्सा, प्लाष्टिक सर्जरी, नाक, कान, घाँटी र दन्त शल्यचिकित्साको पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न तथा अहिले सवारी दुर्घटना नेपालमा मृत्युको चौथो कारण बनेको सन्दर्भमा दुर्घटनामा परेकाहरूको मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालित यो अस्पतालमा १५० वटा साधारण शैया ३२ वटा आकस्मिक शैया,७ वटा अप्रेशन पश्चात बिरामीलाई राखिने शैया र ११ वटा आईसीयू शैया गरी जम्मा दुई सय वटा नेपाल सरकारबाट स्वीकृति प्राप्त शैयाहरू रहेका छन् । सफा र फराकिला वार्डहरू, आधुनिक प्रविधियुक्त सेवा अनि भौतिक पूर्वाधारको बन्दोवस्तले परम्परागत सरकारी अस्पतालप्रतिको धारणलाई खण्डित गर्ने यस अस्पतालले काठमाडौंको मुटुमा करिव १२९ वर्ष अगाडि स्थापित वीर अस्पतालको पुरानो संरचना र बिरामीको चापलाई समेत नियन्त्रण र व्यवस्थापनमा सहज भएको छ । त्यसको अलावा यस अस्पतालमा करिव ५२ जना चिकित्सक १५४ जना नर्स, ३७ जना प्राविधिक कर्मचारी र २९ जना प्रशासनीक कर्मचारी समेत गरी जम्मा २ सय ८० जना राष्ट्रसेवक कर्मचारी छन् ।

अस्पताल सञ्चालनमा आएपश्चात दिनानुदिन उल्लेख्य सुधार गरिदै आएको यस अस्पतालमा कर्मचारीको हाजिरी गर्ने विधुतीय यन्त्र,लुगा धुने मेसीनहरू,मेसीनरी र अन्य औजारहरूमा पानीको अशुद्धता र कडापनले हुनसक्ने नोक्सान कम गर्ने शुद्धिकरण मेसीन सञ्चालनमा रहेका छन् । साथै उपचार सम्बन्धी उपकरणहरूको सुरक्षाका लागि जरूरी ठाउँहरू ५ वटा अपरेशन थिएटर,आई.सी.यू.,पोष्ट अपरेशन कक्ष, प्रयोगशाला र इमर्जेन्सी एक्स रे कक्षमा एसी जडान गरिएको छ । अस्पतालका सामाग्री तथा गतिविधि निगरानी गर्न ७२ वटा सी.सी. क्यामेरा जडान गरेर मोवाइल एपवाट समेत हेर्न सकिने बनाइएको छ । अस्पताल र स्वास्थ्य सेवा सम्बन्धी सम्पूर्ण गतिविधिलाई अनलाइनमा आधारित बनाउन ९ वटा सफ्टवेयर उपयोग गरिएको छ । अस्पतालको आफ्नै औषधि पसल सञ्चालनमा आएको छ । विपन्न नागरिक उपचार सहायताका लागि वेग्लै कोष भएको सामाजिक सेवा एकाई स्थापना भएको छ । २०० शैयाको पूर्ण क्षमतामा सञ्चालित यो अस्पतालले कुनै घटना, दुर्घटना वा चोटपटक लाग्दा निजी अस्पतालमा गएर महँगो शुल्क तिर्न वाध्य गरीव  जनताका लागि सकेसम्म न्यूनतम शुल्क र नभए नि ःशुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालजन्य फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न अत्याधुनिक मेसीन जडान गरिएको छ साथै ब्लडबैंक स्थापना भएको छ । 
विगत दुई दशकमा नेपालले सर्ने र नसर्ने रोगको उपचार क्षेत्रमा केही काम गरे पनि दुर्घटना,हिंसा,चोटपटकका कारणवाट हुने स्वास्थ्य समस्या सम्वोधन गर्ने विशेष क्षमतायुक्त संस्था स्थापना गर्न सकेको थिएन । त्यसमाथि प्राकृतिक प्रकोप,जलवायु परिवर्तनको नकारात्मक असर,सडक दुर्घटना, हिंसा र चोटपटकका कारणले हुने स्वास्थ्य समस्याहरूमा भारी परिर्वतन हुँदा पनि यसको सम्वोधन गर्न ध्यान नपुग्दा मुलुकले अनपेक्षित क्षति वेहोर्दै आएको थियो र छ । जस्तो कि नेपालमा सडक दुर्घटनामा मर्ने दर प्रति १० हजार सवारी साधनमा १७ जना छ , जुन संसारमा सवैभन्दा वढि र चिन्ताजनक अवस्था मध्येमा पर्छ । अझ मृत्युका कारण मध्ये सवै उमेर समूहको हिसाव गर्दा चोट पटक चौथो कारण मानिन्छ भने उत्पादनशील उमेर समूहमा यो पहिलो कारण हुन्छ । सडक दुर्घटनाका कारण मात्र कुल गार्हस्थ उत्पादनमा ०.८ प्रतिशत नोक्सानी मुलुकले वेर्होछ भने संसारभर रोगको भारमा १२ प्रतिशत त यस्तै दुर्घटना वा चोटपटक नै हुने गर्छन् ,जसका कारण दैनिक १६००० को ज्यान जाने गरेको छ । अझ प्राकृतिक प्रकोपको समय जस्तै २०७२ को विनाशकारी भूकम्प आदी जस्ता घटनामा यस्ता ट्रमा सेन्टरको आवश्यकता र उपादेयता अझ वढि वोध हुने गर्दछ । मिति २०७४ वैशाख ३ गतेवाट अस्पतालले संञ्चालन गरेको “विस्तारीत स्वास्थ्य सेवा”ं¬ (भ्ज्क्) कार्यक्रमका कारण समय अभावका कारण बिरामीले शल्यक्रिया गर्न लामो समय पर्खन नपर्ने वातावरण तयार गरिएको छ । जस अन्तर्गत नियमित समय पछि साँझ ५ वजे देखि वेलुका ९ वजेसम्म शल्यक्रिया सञ्चालन हुने गर्दछ । नियमितरूपमा दैनिक करिव १२ वटा सम्म शल्यक्रिया हुने सेन्टरमा सेवा विस्तार भएपछि थप ४ वटा शल्यक्रिया हुने गरेको छ ।
तीन आर्थिक वर्षहरूमा यस अस्पतालले प्रदान गरेका सेवा विवरण तल प्रस्तुत गरिएको छ .

 सामाजिक सेवा एकाई
संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हक अन्तर्गत राखेको छ । सरकारले संविधानको भावना समेतलाई दृष्टिगत गरी निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा कार्यक्रम लागू गरेको छ । सो कार्यक्रम अन्र्तगत माघ ०६५ देखि २५ शैयासम्मका अस्पतालहरूमा आम नागरिकलाई सूचीकृत अत्यावश्यक औषधि निःशुल्क प्रदान गर्न सुरू गरेको छ । साथै लक्षित समूहका बिरामीलाई अत्यावश्यक औषधि तथा अन्तरङ्ग, बहिङ्ग, र आकस्मिक सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ । केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चलस्तरका अस्पतालमा मन्त्रालयले सशर्त र निःशुल्क औषधिका लागि अनुदान रकम उपलब्ध गराई सो रकमवाट लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशीक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने प्रावधान अनुसार यस अस्पतालले सेवा उपलब्ध गराउदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा एकाईको कार्यालय व्यवस्थापन र नियुक्त सहजकर्तालाई तलब वापत १० लाख अनुदान रकम उपलब्ध गराई १२ वटा लक्षित समूहका बिरामीलाई औचित्य हेरी निःशुल्क वा आंशीक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्ने प्रावधान स्पष्ट रूपमा तोकेर माघ ०७३ वाट राष्ट्रिय ट्रमा सेन्टरमा सामाजिक सेवा एकाई स्थापना गरेको छ । यस सामाजिक सेवा एकाईले देहाय बमोजिमका बिरामीलाई सहुलियत ,स्वास्थ्य सेवा व्यवस्थित, पारदर्शी र प्रभावकारी तवरवाट प्रवाह गर्दै आएको छ .

१.    १२ वटा लक्षित समूहका बिरामीहरू

  • गरिब
  • असहाय
  • अपाङ्गता भएका व्यक्ति
  • ज्येष्ठ नागरिक
  • लैङ्गिक हिंसापीडित (बालबालिका समेत)
  • महिला स्वास्थ्य स्वयंसेविका
  • प्राकृतिक प्रकोप वाट पीडित (भूकम्प, बाढी, पहिरो, आगलागी आदि)
  • शहिद परिवार
  • कुपोषित वालवालिका
  • प्रहरिले ल्याएका थुनुवा
  • दुर्घटनामा परेका आकस्मिक बिरामी (अविभावक नभएका)
  • सीमान्तकृत तथा लोपोन्मुख आदिवासी, जनजाति

   २.  अस्पतालले छुट्टयाएका १०% निःशुल्क शैयामा रहेका बिरामी र वेवारीशे व्यवस्थापन
   ३.  जनआन्दोलन र शसस्त्र द्धन्द,मधेश आन्दोलनका घाइतेहरू
   ४.  स्वास्थ्य विमा गराएका विमित बिरामीहरू
   ५. विपन्न नागरिक औषधोपचार कार्यक्रम अन्तर्गत रू एक लाख सम्म सहुलियत पाउने हेड इन्जिुरी र स्पाइनल इन्जिुरीका बिरामी । 

सामाजिक सेवा एकाई तोकिएका ३६ वटा अस्पतालमा उपलव्ध सेवा तोकिएका लक्षित वर्गका बिरामीलाई निःशुल्क वा सहुलियत रूपमा उपलब्ध गराउन सहजीकरण गर्ने संस्थागत व्यवस्था हो । लक्षित समुहका बिरामीहरूको स्वास्थ्य सेवामा समतामुलक पँहुँच एवं उपयोग अभिवृद्धि गर्दै बिरामीहरूलाई निःशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरू यस अस्पतालले पनि प्रदान गर्दै आएको छ, जसले गरिव वर्गको स्वास्थ्य सेवामा  पँहुचका साथै विभिन्न अस्पतालहरूबीच रहेको प्रेषण सेवालाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन समेत  सहयोग पुगेको छ । 
यस ट्रमा सेन्टरले माथि उल्लेखित लक्षित समुहका बिरामीलाई उनीहरूको आर्थिक अवस्थाको मुल्यांकन वा परिचय पत्रका आधारमा पहिचान गरी निःशुल्क वा आर्थिक छुट सेवा प्रदान गर्दै आएको छ । जसका लागि बिरामीले अस्पतालमा नाम दर्ता गरेपछि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम प्रेस्कृप्सन कागज, परिचय पत्रको प्रतिलिपी (लक्षित वर्ग खुल्ने) सहित राष्ट्रिय ट्रमा सेन्टरको पहिलो र भुई  तल्लामा रहेका सामाजिक सेवा एकाईका शाखाहरूमा गई तोकिएको अनुसूची फारम भरेर काउन्टरमा गई सहुलियतको बिल प्राप्त गर्न सक्छन् । 
लक्षित समुहका बिरामीलाई यस एकाईले बाहिर र इमर्जेन्सीमा बढीमा २५ सयसम्मको र अन्तरंगका बिरामीलाई बढीमा १० हजारसम्मको उपचार सेवामा छुट सुविधा प्रदान गर्छ । साथै, आकस्मीक र अन्तरंगका बिरामीलाई प्रेषण गरी अन्य अस्पतालमा लैजान परेमा आवश्यकताका आधारमा दुरी हेरी बढीमा पाँच हजारसम्म एम्बुलेन्स खर्च छुट गर्दै आएको छ । सामाजिक सेवा एकाई स्थापना तथा सञ्चालन निर्देशिका २०६९ (परिमार्जित २०७४) वमोजिम भएको संस्थागत व्यवस्था अन्तर्गत रहेको सामाजिक सेवा एकाई व्यवस्थापन समितिले आवश्यकता र औचित्यका आधारमा माथि उल्लेखित रकम भन्दा बढीको सहुलियत समेत प्रदान गर्दै आएको छ । 
दैनिक प्रदान गरिने छुटको विवरण अनलाईन मार्फत स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्याङ्कन महाशाखामा पठाउने गरिएको छ । दैनिक कार्यसञ्चालन, सहजीकरण, सेवा प्रवद्र्धन र अभिलेखनमा सहयोग पुर्याउन एक जना फोकल पर्सन र ७ जना सहजकर्ताका साथै आव. ०७३÷७४ मा १० लाख, आव २०७४÷७५ मा २३ लाख र आव ०७५÷७६ मा ३० लाख निम्न शीर्षकमा खर्च गर्नसक्ने गरी सरकारले उपलव्ध गराएको छ । 

  • परामर्श (सहजकर्ता)
  • अतिरिक्त सुविधा
  •  प्रचारप्रसार
  •  कार्यालय सामान 
  • समीक्षा वैठक
  • औषधि, खाना, रेफरल, कुरूवा खर्च
  •  स्थापना तथा उपकरण खर्च

 

दश प्रतिशत निशुल्क शैया

अस्पतालले १० प्रतिशत शैया निःशुल्क दिनेगरी छुट्याएको छ । यी शैयामा विपन्न, बेवारिसे बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । विपन्न बिरामीको हकमा ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिला तथा कमजोर आर्थिक सामाजिक अवस्था भएका बिरामीलाई प्राथमिकता दिने गरिएको छ ।
निःशुल्क शैयामा उपचार लिने बिरामीहरूले ‘म विपन्न हो’ भनि आफै घोषणा गरी स्वघोषणा फारम भर्नुपर्ने हुन्छ । सो शैयामा उपचार गराइरहेका बिरामीको फोटोसहितको विवरण अस्पताल परिसरमा सर्वसाधारण सबैलै देख्ने गरी टाँस्ने व्यवस्था मिलाएको छ । सो विवरण मासिक रूपमा सम्बन्धित निकाय स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा माहाशाखामा समेत पठाउने गरिएको छ । यी सैयाबाट हालसम्म तीन सयले सेवा लिइसकेका छन् । 

जनआन्दोलन तथा द्धन्द्धका घाइतेलाई प्रदान गरीएको सेवा

विगतका विभिन्न द्धन्द्ध क्रममा घाइते भएका व्यक्तिहरूको उपचार नेपाल सरकारले जारी गरेको ‘माओवादी सेनाका घाइते, अपाङ्ग लडाकुहरू, सशस्त्र द्धन्द्ध, ऐतिहासिक जनआन्दोलन र मधेश आन्दोलनका घाइते अपाङ्गका लागि पुनःस्थापना एवं हेरचाह निर्देशिका २०६८’ मा व्यवस्था भए बमोजिम बिरामीहरूको घाइतेको नर्धारण भएको वर्गीकरण र निजहरूको उपचारसँग सम्बन्धित अन्य प्रमाण कागजात हेरेर औषधोपचार गर्ने व्यवस्था समेत यस सामाजिक सेवा एकाईले गर्दै आएको छ । सो सेवा प्राप्त गर्ने व्यक्तिहरूले स्वास्थ्य मन्त्रालयमा रहेको समन्वय शाखामा गई सम्पर्क राख्नु पर्ने हुन्छ । निज व्यक्तिहरूका हकमा यस अस्पतालबाट हुन सक्ने औषधोपचार र औषधि समेत गरी लागेको रकम नियम अनुसार मन्त्रालयबाट सोधभर्ना हुने व्यवस्था छ । हालसम्म १४३ जनाले करिब ६ लाख बरावरको उपचार सेवा पाएका छन् ।

स्वास्थ्य विमा कार्यक्रम  
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न स्वास्थ्य बिमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट वित्तिय संरक्षण प्रदान गर्न, आर्थिक जोखिम न्यूनीकरण गरी स्वास्थ्य क्षेत्रमा हुने खर्चलाई उपलब्धीमुलक बनाउन तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहँुच सुनिश्चित गर्न स्थापना गरिएको संस्थागत व्यवस्था तत्कालीन ‘सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति’ हाल ‘स्वास्थ्य बिमा बोर्ड’ सँग यस राष्ट्रिय ट्रमा सेन्टरले गरेको सम्झौता बमोजिम आब ०७४÷०७५ बाट बिमीत सदस्यलाई सदस्यता क्रियाशिलता, सुविधा थैलीको बाँकी रकम र सदस्यको प्रथम स्वास्थ्य संस्था हेरेर स्वास्थ्योपचार गर्न थालिएको छ । 
जसका लागि बिरामीले तोकिएको प्रथम सेवा विन्दुवाट प्राप्त प्रेषण पुर्जा र स्वास्थ्य बिमा सदस्यता परिचय पत्रसहित यस सामाजिक सेवा एकाईमा सम्पर्क गर्नुपर्ने हुन्छ । हालसम्म दुई हजार १८ जनाले १४ लाख ९१ हजार बराबरको उपचार सेवा पाएका छन् । अस्पतालमा कार्यरत कर्मचारी र आश्रित परिवारको स्वास्थ्य उपचार शुल्कको भार कम गर्ने उदेश्यले राष्ट्रिय ट्रमा सेन्टरले सामाजिक सेवा इकाइमार्पmत सम्पूर्ण कर्मचारी र निजहरूका आश्रित परिवार सदस्यको स्वास्थ्य बिमा समेत गराई १ जेठ ०७५ बाट कर्मचारीलाई समेत स्वास्थ्य बिमाको माध्यमबाट स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।
 

Last modified on 2018-12-03 09:52:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts