शरीरभरि मासुको पोका आएपछि उपचार सहयोगको आशमा धनेश्वर



Download our app to get more features

महोत्तरी, १७ मङ्सिर । महोत्तरी गौशाला–१ का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि मासु पलाएको छ । उनको शिरदेखि पैतलासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उनको शरीरमा मकैको दानादेखि आलुजस्ता मासुका थैला रहेका छन् । आफ्नो शरीरमा पलाएको मासु देखेर साथीलेसमेत घिन मानेपछि १० कक्षा पास नगर्दै पढाइको यात्रालाई उनले टुङ्ग्याउनुप¥यो । ‘साथीहरु मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिन, स्कूल जानै छाडेँ । सँगै पढेका साथी अहिले कहाँ कहाँ पुगिसके’, उनले दुखेसो गरे ।

मासुका थैलाका कारण सुत्दा, बस्दा पोको पेलिएर असह्य पीडा हुने उनले बताए । सुत्न बस्न नमिलेर छटपटिँदै रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी बताउँछन्् ।
‘जिउभरि फोकैफोका छन्, सानोतिनो कामबाहेक अरु केही गर्न सक्दैनन्, गहुँ्रगो वस्तु बोक्न–उठाउन पनि सक्दैन तर के गर्नु श्रीमान् हो, माया त लाग्छ नै’ धनेश्वरकी श्रीमती तिलादेवी महतोले भनिन् । उनले भनिन्, ‘श्रीमान्को अवस्था देखेर उनलाई भन्दा बढी पीडा आफूलाई नै महसुुस हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ ।’ 

उनले समस्यामा समाधान हुने आसमा औषधि उपचार पनि धेरै गरेको बताइन । ‘हजारौँ रुपैयाँ खर्च भइसक्यो तर, अलिकति पनि ठीक हुने नामै छैन । ठीक भइदिए त अर्को जुनी पाएको जस्तो हुन्थ्यो ।’ उनले भनिन् ।
उनको यो समस्या जन्मजातदेखि कै हो । धनेश्वरको शरीरमा जन्मदै औँलामा एउटा गिर्खा थियो । करिब एक वर्षको हुँदा घरपरिवारले त्यो गिर्खालाई लौवा (हजाम) बाट काट्न लगाएपश्चात् दिनदिनै शरीरभरि मासुको डल्ला पलाएको आमा रामवति देवी महतोले बताइन । उनले भने, ‘जन्मदा दाहिने हातको एउटा औँलामा एउटा गिर्खा मात्र थियो, पछि त्यसलाई काटेपछि विस्तारै शरीरभरि नै मासु पलायो’, उनले भनिन्, ‘हामीले त हातमा हुँदा राम्रो देखिँदैन, तेल मालिस गर्नसमेत असहज हुन्छ, त्यही भएर काट्न लगायौँ तर त्यसको पाप हामीलाई छोडेर मेरो छोरालाई लाग्यो ।’ 

‘मैले जतो पीडा अरुले भोग्नु नपरोस्’
भनिन्छ, दैव नै दाहिने भएन भने कसको के लाग्छ र ! दैवको देन होस् वा मेरो कर्मको फल जे छ त्यो त छँदैछ, तर मैले जस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने भगवान्सँग कामना गर्छु । यो निको नहुने रोगको भूमरीमा अथाह दुःख कष्टका साथ जीवन जिउने भन्ने मैले अठोट गरिसकेको छु’, धनेश्वरले आफ्नो पीडा सुनाए, ‘अपाङ्गताका नाममा विभिन्न संस्थाहरु खुलेका छन्, सरकारले पनि ठूलो धनराशि खर्चेको छ । तर म जस्ता व्यक्तिका लागि अहिलेसम्म कुनै सहयोग आइपुगेको छैन ।’  रासस 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts