पाल्पाका सवा लाखले गराए स्वास्थ्य बीमा



Download our app to get more features

पाल्पा, २१ मङ्सिर ।  पाल्पामा स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले ०७३ देखि शुरु गरेकोे स्वास्थ्य बीमा कार्यक्रममा यहाँका एक लाख १ हजार २ सय ५० आबद्ध भइसकेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८ सय ७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बीमा गराइसकेका छन् । गत असार मसान्तसम्म दुई हजार पाँच सय नागरिकले स्वास्थ्य बीमा गराएका थिए भने साउनबाट १ मङ्सिरसम्म २८ हजार ८ सय ५० जना थपिएका छन् । जिल्लामा पाँच हजार ५ सय ४२ परिवारले स्वास्थ्य बीमामा नाम दर्ता गराएका छन् । ‘नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ, भने नवीकरणमा भने आकर्षण केही कम’, ज्ञवालीले भने । 

आर्थिकरूपमा विपन्न र गरीब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमबाट यहाँका नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेका छन् । रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भीड छ । यहाँ दैनिक २ सय ५० हाराहारीमा बिरामी आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झा बताउँछन् । 
तनहुँ घिरिङका हुमबहादुर कुमाललाई मुटु रोगले सतायो । कुमाललाई मुटु रोगको उपचार गर्न आर्थिक अवस्था नाजुक हुँदा परिवारमा निकै चिन्ता छायो । रामपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुगेका कुमाललाई अस्पतालका डाक्टरले भरतपुर बाहिर पठाएपछि उनी निकै चिन्तित भए । ‘भरतपुर अस्पतालमा उपचार गर्नसक्ने परिवारको आर्थिक क्षमता थिएन, तर बीमा गरेको हुँदा अस्तालले निःशुल्क उपचार गरिदियो’ उनले भने । उपचारमा शुरुमा अस्पतालले एक लाख ५० हजार रकम लाग्ने भन्दा उनी आत्तिएको बताए । तर बीमा गरेका कारण पूरै औषधि उपचार निःशुल्क भएपछि कुमालले औषधि उपचारमा समस्या झेल्नुपरेन । अहिले उनी मज्जाले हिँड्डुल गर्छन । उनको मुटुरोगको समस्या पनि ठिक हँुदै गएको छ । 

बीमापछि औषधि र उपचारमा सहुलियत
स्वाथ्य बीमा गरेपछि औषधि उपचारमा निकै सहुलियत पुगेको रामपुर नगरपालिका–५ का लीलादेवी खनालले बताइन । ‘हामीजस्ता गरीब नागरिकलाई बीमा गरेपछि औषधि उपचार कसरी गर्ने होला भन्ने समस्या हट्दै गएको छ” खनालले भनिन् । स्वास्थ्य बीमा कार्यक्रम गरीब दःुखी, विपन्न नागरिकको लागि वरदान सावित  भएको बीमाकर्ता बालकृष्ण खनाल बताउँछन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम जस्तै गरीब, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याउन उनको अनुरोध छ । 

यी स्थानबाट दिइन्छ बीमितलाई सेवा
स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्यहरू केन्द्र ताहँु र खस्यौली, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 
पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार पाँच सय तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमाप्रति सदस्य ४ सय २५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ । 

कुन कुन सेवा निःशुल्क पाइन्छ ?
स्वास्थ्य बीमा गरेपछि बहिरङ्ग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस

Last modified on 2018-12-07 13:46:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts