सूर्ति नियन्त्रण सम्बन्धी 'एपिक्याट' सम्मेलन सम्पन्न, नेपालका दुई ठूला महानगरका मेयर नै गएनन्

कानून कार्यान्वयन गर्न नसकेका काठमाण्डौ र चितवनका मेयर गएनन



Download our app to get more features

काठमाण्डौ, २२ मंसिर । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगको रोकथामका लागि एशिया प्रशान्त क्षेत्रका शहरका मेयरहरुको अलायन्स (एपीक्याट)को तेश्रो सम्मेलन सिंगापुरमा सम्पन्न भएको छ । 

डिसेम्बर ४ देखि ६ सम्म सिंगापुरको होटल होलिडे इनमा चलेको सम्मेलनमा यस क्षेत्रका १२ वटा देशबाट प्रतिनिधिहरु सहभागी भए । सम्मेलनले सूर्तिजन्य पदार्थको नियन्त्रणका साथै नसर्ने रोग रोकथामको लागि संयुक्त सात बुँदे प्रतिवद्धता जनाएका छन् । सम्मेलनका क्रममा विभिन्न शहरहरुबाट आएका प्रतिनिधिले सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि गरेका प्रयास तथा अभियानहरुका बारेमा प्रस्तुति दिएका थिए । महामारीको रुप लिँदै गरेको नसर्ने रोगहरुको न्यूनिकरणमा बाधक भइरहेको सूर्तिजन्य पदार्थका प्रयोगलाई घटाउने उद्देश्य स्वरुप द युनियन र इण्डोनेशियाको स्वास्थ्य मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनमा नेपालका दुईवटा महानगरका प्रतिनिधिसहित सहित २३ वटा भन्दा बढि शहरबाट गर्भनर, मेयर, उपमेयर, कर्मचारी एवं प्रतिनिधि सहभागी भएका हुन् । 

उनीहरुले आफ्नो देशमा नगरपालिका तथा शहरहरुमा सूर्तिजन्य पदार्थको उत्पादन, बिक्रि वितरण र प्रयोगलाई न्यूनीकरण गर्न सञ्चालन गरेका कार्यक्रम र भावी योजनाहरुका बारेमा सुनाएका थिए । सोही क्रममा उनीहरुले विभिन्न सात बुँदे संयुक्त प्रतिवद्धता जनाएका हुन् । 

यस्ता छन् प्रतिवद्धताहरुः 

  •   सार्वजानिक स्थान, कार्यस्थल, तथा सार्वजानिक यातायातका क्षेत्रलाई शतप्रतिशत रुपमा धूमपानमुक्त बनाउने एवं घर तथा सामाजिक समारोहलाई धूमपान मुक्त बनाउने प्रेरित गर्ने
  •   सूर्तिजन्य पदार्थको विज्ञापन, प्रवद्र्धन र प्रायोजनलाई निषेध गर्ने 
  •   राष्ट्र तथा सरकारलाई सूर्तिजन्य पदार्थको बट्टा तथा प्याकेजमा अधिकतम चेतावनीमूलक तस्विर राख्न तथा प्लेन प्याकेजिंगका लागि सहयोग गर्ने्
  •   सूर्तिजन्य पदार्थमा कर बढाउन राज्य सरकारलाई सहयोग गर्ने 
  •   जनस्वास्थ्यलाई जगेर्ना गर्न सूर्तिउद्योगहरुको हस्तक्षेप र प्रभावलाई कम गर्दै लैजाने
  •   सूर्तिजन्य पदार्थ विरुद्ध अन्तिम लडाईं स्वरुप सूर्तिरहित पुस्ता निर्माणको अभियानलाई बढावा दिने 
  •   क्षेत्रीय सहकार्य र अलायन्सलाई निर्माण र विस्तार गर्दै लैजाने

सम्मेलनले विश्व स्वास्थ्य संगठनले नसर्ने रोग न्यूनीकरण तथा रोकथामका लागि मानेका न्यूनतम आधारलाई मानेको छ । जसअन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग घटाउने, रक्सिको घातक प्रयोगलाई कम गर्ने, अस्वस्थ खानपानलाई घटाउने, शारीरिक निश्क्रियतालाई घटाउने, मुटु र मधुमेहजन्य रोगलाई व्यवस्थापन गर्ने, क्यान्सर व्यवस्थापन  तथा क्रोनिक स्वाशप्रश्वासका रोगलाई व्यवास्थापन गर्ने पर्दछ । एपीक्याट सम्मेलनले आफ्ना प्रतिवद्धता अनुरुपमा भएका  र हुने प्रगतिहरुलाई सामयिक रुपमा समिक्षा गर्दै जाने पनि निर्णय गरेको छ । 

नेपालको फितलो सहभागिता, कानून कार्यान्वयन गर्न नसकेका काठमाण्डौ र चितवनका मेयर गएनन
झण्डै दुई दर्जन एशियाली शहरहरुको सहभागिता रहेको कार्यक्रममा नेपाली शहरहरुले खासै बलियो उपस्थिति र प्रतिवद्धता जनाउन सकेनन् । सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि ऐन भएपनि कार्यान्वयन गराउन नसकेको नेपालले सम्मेलनमा पनि फितलो उपस्थिति जनायो । सम्मेलनमा काठमाण्डौ महानगरपालिका र चितवन महानगरपालिकाका मेयरलाई कार्यक्रममा निमन्त्रण गरिएपनि उनीहरु गएनन् । काठमाण्डौबाट मेयर विद्यासुन्दर शाक्य नगएपछि महानगरको वडा नं १४ कि अध्यक्ष शोभा सापकोटाले सहभागिता जनाइन् । उनी आफैलाई सूर्तिजन्य पदार्थको नियन्त्रणका बारेमा नेपालमा भइरहेका नीतिगत तथा व्यवहारिक कामहरुको बारेमा जानकारी थिएन । 

त्यस्तै चितवनबाट पनि मेयर रेणु दाहाल सहभागी नभएपछि प्रमुख प्रशासकीयक अधिकृत नेत्र सुवेदीले कार्यक्रममा भाग लिए । उनले कार्यक्रममा चितवनमा भएका सूर्तिजन्य पदार्थ नियन्त्रणका कार्यक्रमका बारेमा केही भन्न सकेनन् । चितवनमा पनि अझै सन् २०११ मा पास भएका सूर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि ऐनको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । सुवेदीले विस्तारै चितवनलाई सूर्तिरहित शहर बनाउने योजना भने सुनाए । उनले चितवनमा पछिल्लोसमय चलाइएको हरित शहर निर्माण तथा सफाई अभियानका बारेमा प्रस्तुति दिए । 

खगराज अधिकारीले जोगाए इज्जत 
सम्मेलनमा नेपालको तर्फबाट संसदको शिक्षा, खेलकुद तथा स्वास्थ्य समितिका सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले बलियो सहभागिता जनाए । सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि नेपालमा सबैभन्दा बढि भुमिका खेलेका अधिकारीले सन् २०१५ मा सूर्तिजन्य पदार्थको बट्टा तथा प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक तस्विर राख्ने कानून कार्यान्वयन गराएबापत प्रतिष्ठित ब्लुमबर्ग फिल्यान्थ्रोपिज अवार्ड पाएका थिए । उनले संसदीय समितिमार्फत आफुले नेपालमा सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नसर्ने रोग न्यूनीकरणमा खेलको भूमिका हरुका बारेमा जानकारी गराए । उनीसहित युनियनको एशिया प्रशान्त क्षेत्रीय उपनिर्देशक रहेका तारासिंह बमले नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणमा भएका भूमिका र त्यसका उपलब्धिहरुका पनि जानकारी दिए । त्यसो त उनी सो कायक्रमका आयोजक मध्येका थिए । उनले नेपालको प्रतिनिधित्व गरेका होइनन् । 

सम्मेलनमा नेपाल सहित एशिया प्रशान्त क्षेत्रका भारत, बंगलादेश, म्यानमार, इण्डोनेशिया, टिमोर लिस्टे, लाओस, फिलिपिन्स, मलेसिया, सिंगापुर, भियतनाम र कम्बोडियाका जनप्रतिनिधि, कर्मचारी तथा प्रतिनिधिहहरु सहभागि थिए । 

सिंगापुरबाट फर्किएपछि उद्धवराज भेटुवालको रिपोर्ट 

Last modified on 2018-12-09 07:08:44

1 Comments

  1. भरत बहादुर कँवरon Sat, Dec 08 2018 10:19 PM

    सूर्तिजन्य पदार्थ तथा नसर्ने राेग राेकथाम सम्बन्धी नेपाल सरकारकाे फाेकल प्वाईण्टकाे रुपमा जिम्मेवारी पाएकाे राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशकज्यूलाई उक्त सम्मेलनमा यश केन्द्रबाट हुने सहभागिताबारे जानकारि नभएकाे भन्ने बुझियाे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts