आन्दोलनका घाइते तथा अपाङ्गको स्वास्थ्योपचार:  समस्या र समाधान


Download our app to get more features
Spark_health_home

नेपालमा राजनीतिक व्यवस्था परिर्वतन गर्न समय समयमा उल्लेख्य आन्दोलनहरु भए । २०५२ मा सुरु भएको १० वर्षे सशस्त्र विद्रोह ,मधेश आन्दोलन, २०६२ चैत्र २२ गते देखि २०६३ वैशाख ११ गते सम्म भएको १९ दिने जनआन्दोलनमा धेरै भन्दा धेरै जनता र विभिन्न राजनीतिक दलहरुको प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता रह्यो । द्वन्द्वको समयमा बल प्रयोग, लाठी, बुट, गोली, अश्रुग्यासद्वारा गरिएको दमन आदिबाट घाइते वनेका व्यक्तिहरु अहिले हाम्रो समाजमा उल्लेख्य संख्यामा रहेका छन् । द्वन्द्वकालमा भएका घटनाहरुको लगत तयार गर्न २०६४/०२/२७ पछि ५ वटा कार्यदलहरु वने, जसले सशस्त्र द्वन्द्व, मधेश आन्दोलन तथा जनआन्दोलनका क्रममा घाइते, अंगभङ्ग हुनपगेका व्यक्तिहरुको संख्या १४ हजार ५ सय ७८ रहेको विवरण सार्वजनिक गर्यो । जसमा ,

  •    ऐतिहासिक जनआन्दोलनका घाइते (विशिष्ट तथा प्रथम श्रेणि)–३० जना
  •    एतिहासिक जनआन्दोलनका घाइते (क तथा ख श्रेणि)–३९८४ जना 
  •    सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका घाइते  (विशिष्ट तथा प्रथम श्रेणि)–७४४ जना
  •    सशस्त्र द्वन्द्वमा अङ्गभङ्ग भएका घाइते  (क तथा ख श्रेणि)–८१९१ जना
  •    कार्यदलवाट सिफारिस भएका – १६२९ जना

माथि उल्लेखित व्यक्तिहरुलाई सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत आर्थिक सहायता नेपाल सरकारले प्रदान गर्दै आएको छ । जस अन्र्तगत जनआन्दोलनका ५०% भन्दा वढि अपाङ्गताको Grading पाएका व्यक्तिहरुलाई रु ३२०० देखि रु १०,००० सम्म मासिक रुपमा उपलब्ध गरिँदै आएको छ । त्यसैगरी सशस्त्र द्धन्द्धमा ५१% भन्दा बढी अपाङ्गताको Grading भएमा घाइतेहरुलाई निर्वाह भत्ता स्वरुप ६ हजार २ सय रुपैयाँ प्रति महिना उपलब्ध गरिँदै आएको छ । तथा ७६% भन्दा वढि अपाङ्गताका प्रतिशत निर्धारण भएका घाइतेलाई कुरुवा खर्च सहित मासिक १२ हजार ४ सय रुपैयाँ प्रति महिना उपलब्ध गराउँदै आएको छ । यसका अलावा विभिन्न समयमा नेपाल सरकार मन्त्रिपरिषद्को वैठकको निर्णयानुसार राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत पीडितहरुले रकम प्राप्त गर्दै आएका छन् ।

सशस्त्र द्वन्द्व ,मधेश आन्दोलन तथा जनआन्दोलनका क्रममा घाइते, अंगभङ्ग, अपाङ्ग हुनपुगेका व्यक्तिहरुलाई राज्यका लागि योगदान पुर्याएको ठानी २०७३/०९/२७ गतेको मन्त्रिपरिषदको निर्णयले सुविधा प्रदान गर्न सुरु गरेको हो । यस्ता व्यक्तिहरुको यथोचित उपचार,आत्म सम्मान र निर्वाह भत्ता नागरिक राहत,क्षतिर्पूिर्त तथा आर्थिक सहायता सम्बन्धित निर्देशिका २०६६(प्रथम संशोधन २०६८) वमोजिम प्र.जि.अ.को अध्यक्षतामा एउटा समिति रहने प्रावधान छ । उक्त समितिलाई मुख्य गरि घाइतेहरुलाई औषधोपचार तथा आर्थिक सहायताका लागि सिफारश गर्ने तथा घाइते, अंगभङ्ग वा अपाङ्गगताको अवस्था वा प्रतिशत निर्धारण गर्ने अधिकार दिइएको छ । उक्त निर्देशिकामा चिकित्सकको प्रेस्क्रिप्सन पश्चात घाइतेहरुको उपचर गरि स्थानीय वा केन्द्रस्तरका अस्पतालमा लागेको खर्च सोधभर्ना गर्ने समेत व्यवस्था छ । घाइतेको उपचारमा वस्ने २ जना सम्म कुरुवालाई भ्रमण खर्चको समेत व्यवस्था छ । तर सूचनाको अभाव,स्पष्ट फर्म फर्मेटहरुको अभावले यस्ता सुविधाहरु लक्षित वर्गको पहूँचसम्म सहजै पुग्न सकेको देखिदैन ।
विद्यमान समस्याहरु 

  •     सबै घाइते तथा अपाङ्गको परिचयपत्र नहुनु, भएपनि अपाङ्गताको प्रतिशत नछुट्टिनु।
  •     जि.प्र.का.तथा स्वा.तथा ज.मन्त्रालयको सिफारीश पत्रमा उपचार सम्वन्धि स्पष्ट विवरण नहुनु ।
  •     सिफारीश समितिले कार्यविधी पालना नगर्नु ।
  •     अस्पतालबाट केहि व्यक्तिले अनुचित लाभ लिने प्रयास गर्नु ।
  •     आन्दोलानसँग असम्वन्धित बिरामीले पनि सेवा लिन खोज्नु ।
  •     वढि प्रतिशत निर्धारण गराउन चिकित्सकलाई दवाव दिनुका साथै अस्पतालमा हुलहुज्जत गर्नु ।
  •     उपचार सेवा पश्चात अस्पतालले सेवा रकम सोधभर्ना नपाउनु ।
  •     उपचारको लागि वीर अस्पताल र ट्रमा सेन्टरमा मात्र भिड लाग्नु ।
  •     झन्झटिलो कार्यविधी हुनु ।
  •     अस्पताल फार्मेसीमा निःशुल्क औषधि व्यवस्था नहुनु ।

समाधान:-

  •     देशैभरीका अस्पतालहरुमा निःशुल्क उपचारका लागि सिफारीश गर्ने गरी स्पष्ट कार्यविधि वनाउनुपर्ने ।
  •     अस्पतालमा भएको घाइते अपाङ्गको शोधभर्नामा ढिलाई गर्न नहुने ।
  •     परिचय पत्र (प्रमाण खुल्ने कागज)का आधारमा कति % सहुलियत प्रदान गर्ने स्पष्ट खुलाउनु पर्ने ।(घाइतेको प्रकृति सहित)
  •     छुट्टै Software को विकास गरी अभिलेख अद्यावद्यिक राख्नुपर्ने ।
  •     सबै घाइते १४ हजार ५ सय ७८ जनालाई नै परिचयपत्रको व्यवस्था गर्ने । (जुन हाल सर्वोच्चमा रोकिएर रहेको छ ।)
  •     तोकिएको अस्पताललाई औषधि व्यवस्थाका लागि Seed Money व्यवस्था गनुपर्ने ।
  •     कार्यविधि /निर्देशिकामा समयानुसार संशोधन गरी हरेक तीनवर्षमा घाइतेहरुको पुनरावलोकन हुनुपर्ने ।

सरकारले रुखवाट, भिरवाट लडी टाउको, मेरुदण्ड आदिमा चोट लागेका व्यक्तिलाई औषधोपचार निःशुल्क गर्ने व्यवस्था भए जस्तै राज्यका लागि लडेका व्यक्तिहरु लाई सहज ,सुलभ, गुणस्तरीय स्वास्थोपचार गर्नु राज्यको दायित्व हो, जसका लागि स्पष्ट सूचना, स्पष्ट कार्यविधि तयार गर्न राज्यले ढिला गर्नुहुँदैन ।

 भेटुवाल राष्ट्रिय ट्रमा सेन्टरमा सामाजिक सेवा एकाइ प्रमुखका रुपमा कार्यरत छन् । 


                                                                                               

Last modified on 2018-12-11 07:20:52

bnc samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts norvic_hospital