गोरखा अस्पताल : दैनिक निस्कने ७० किलो फोहोर व्यवस्थापनमा समेत असक्षम 



Download our app to get more features

गोरखा, २८ मङ्सिर । सदरमुकाममा रहेको एकमात्र सरकारी अस्पताल गोरखा अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन नहुँदा उपचारमा आउने बिरामी थप बिरामी बन्ने अवस्था छ । हेल्थकेयर फाउण्डेसन नामक संस्थाले गरेको अध्ययन अनुसार अस्पतालबाट निस्कने फोहरको व्यवस्थापन राम्रो नहुँदा बिरामीहरु नाक थुनेर बस्नु पर्ने अवस्था छ । 

हेल्थकेयर फाउण्डेसनले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार अस्पतालले कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा मिसाएर फाल्ने गरेको, फोहर राख्ने भाँडामा चिन्ह नलेखिएको, कुन फोहर कहाँ फाल्ने भन्ने व्यवस्थासमेत गरेको छैन । संस्थाका निर्देशक महेश नकर्मीले अस्पतालबाट धेरैजसो जोखिमयुक्त फोहर निस्कने भए पनि त्यसलाई पुरानै ढङ्गबाट व्यवस्थापन गरिरहेको बताए । जसले वरपरको वातावरणमा समेत नराम्रो प्रभाव पारिरहेको छ । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा निर्देशक नर्कमीले भने, ‘गोरखा अस्पतालबाट दैनिक करीब ५० किलो फोहर निस्किने भए पनि त्यसको उचित व्यवस्थापन गर्न अस्पतालले सकिरहेको छैन ।’ उनले अस्पतालबाट निस्कने फोहरको न्यूनीकरण मात्रै नभएर व्यवस्थापन पनि राम्रो हुनुपर्ने जोड दिए । ‘यसका लागि अस्पतालले फोहर न्यूनीकरण नीति ल्याउनु आवश्यक छ’, निर्देशक नर्कमीले भने, ‘दीर्घकालीनरुपमा व्यवस्थापन गर्न सजिलो हुनेछ ।’ 

तुलनात्मक रुपमा केही वर्षपछि अस्पतालबाट निस्कने फोहरको मात्रा झन् बढी हुने भएकाले अहिलेदेखि नै पछिका लागि सोच्न नसके केही वर्षमा थप जटिलता सिर्जना हुनसक्ने उनको तर्क छ । ‘१० दिनसम्म अस्पतालमै बसेर हामीले अध्ययन ग¥यौं’, निर्देशक नकर्मीले भने, ‘अस्पतालका फोहर फाल्ने बाल्टिनसमेत उचित ठाउँमा राखिएको रहेछन्, कतिपय त आफू बस्ने टेबलमुनि समेत राखेको पाइयो जुन फोहर व्यवस्थापनका हिसाबले राम्रो मानिँदैन ।’ 

यस्तै ७० प्रतिशत भन्दा बढी फोहर फ्याँक्ने बाल्टिनमा कुनै सङ्के नपाइएको निर्देशक नकर्मीले जानकारी दिए । ९५ प्रतिशतभन्दा बढी सिसा, कागज, प्लाष्टिक सबै एकै ठाउँमा मिसाएर फ्याँक्ने गरेकाले अस्पतालले पछि पुनःप्रयोग गर्न मिल्ने र नमिल्ने फोहर छुट्याउन चाहे पनि अप्ठ्यारो हुने उनको भनाइ छ । 

सुई व्यवस्थापनमा समेत लापर्वाही
अस्पतालबाट निस्कने फोहरमध्ये सुई बढी प्रयोग भएको र त्यसलाई व्यवस्थापन गर्दा सुरक्षित सुईको नियम पनि लागू भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । अस्पतालमा डम्पिङसाइडको पनि उचित व्यवस्थापन नभएको, सरसफाइको काम गर्ने कर्मचारीले सरसफाइ गर्दा सुरक्षित सामग्रीको प्रयोगसमेत नगर्ने गरेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अध्ययनपछि संस्थाले जिल्ला अस्पतालको फोहर व्यवस्थापनका लागि तत्काल एउटा घर निर्माण गर्न सुझाव दिएको छ । घर निर्माण भए अस्पतालबाट निस्कने ९० प्रतिशत फोहर पुर्नप्रयोग गर्न सकिने उनले बताए । गोरखा नगरपालिकासँगको समन्वयमा अस्पतालबाट निस्कने फोहरको अध्ययन गरेको संस्थाले फोहर व्यवस्थापनका लागि समयसमयमा निरीक्षण गर्नुपर्ने सुझाव समेत दिएको छ । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts