स्ट्रोकको प्रभावकारी उपचारका लागि 'स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास' 



Download our app to get more features

काठमाडौं, २ पुष। नेपालमा स्ट्रोक (घात) सम्बन्धि रोगको उपचारमा सहयोग पुर्याउने र यसको समाधान छिटो भन्दा छिटो गर्ने भन्ने उद्धेश्यका साथ स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास २०१८ आयोजना गरिएको छ ।
नेपाल स्ट्रोक एशोसिएसन र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा नेपाली डाक्टरहरुलाई स्ट्रोक म्यानेजमेन्ट र त्यसको उपचारको बारेमा जानकारी दिने उद्धेश्यले दुई दिने तालिम कक्षा आयोजना गरिएको आयोजकले बताएको छ । देशको भौगोलिक अवस्थाले गर्दा अझैपनि काठमाडौं उपत्यकाभन्दा बाहिरका नेपालीले स्ट्रोकको गुणस्तरीय उपचार नपाईरहेको सन्दर्भमा मास्टर क्लास आयोजना गरिएको हो ।शुक्रबारदेखि शुरु सो तालिमको बारेमा बोल्दै त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन एवं नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर जे.पीअग्रवालले सीमित मानिसमा मात्र अस्पतालको पहुँच भएको नेपाल जस्तो देशका लागि यो कक्षा सहयोगी हुने बताए ।
उनले भने, ‘१० वर्षअघि स्ट्रोक थ्रोम्बोलाईसिसबारे धेरै डाक्टरहरुलाई पनि जानकारी थिएन तर अहिले धेरै जानकारी भएको छ, स्ट्रोकले मानिसको ज्यान नै जाने हुँदा जनचेतनामूलक कार्यक्रम गर्नु सबैभन्दा राम्रो हो ।’

कार्यक्रममा नेपाल स्ट्रोक एशोसिएसनका अध्यक्ष डा लेखजंग थापाले विश्वभर अन्य रोगहरुभन्दा स्ट्रोकसम्बन्धी रोगको असर बढि हुन लागेको बताए । ‘तथ्यांकहरुलाई हेर्दा २५ प्रतिशत हस्पिटल भर्ना स्ट्रोकको कारण हुने गरेको देखिन्छ र ५९ भन्दा माथि उमेरका मानिसहरुमा अधिक मात्रा यो रोग लागेको भेटिएको छ,’ डा. थापाले भने । उनले एशोसिएसनले जनचेतना बढाउनका लागि समुदायमा गएको र सुविधा नभएको स्थानमा उनीहरुलाई स्ट्रोकको बारेमा बढि जानकारी दिने गरिएको स्पष्ट पारे । कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अस्पतालमा हुने हरेक गल्तिमा डाक्टरलाई मात्र दोष दिने गरिएको गूनासो गरे ।
बिरामीको उपचार टिम वर्क हो । जसमा डाक्टर, नर्ससहितको टिमले बिरामीको उपचार गर्दछ, तर केहि भएमा तोडफोड गर्ने र क्षतिपूर्ति माग गर्ने काम बढीरहेको छ, यो रोकिनुपर्दछ, संघका अध्यक्ष श्रेष्ठले भने ।
उनले आगामी दिनमा स्ट्रोकको उपचारमा संघले पनि एशोसिएसनसँग मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरे । डा. मधु दिक्षित देवकोटाले स्ट्रोक थ्रोम्बोलाईसिसको तालिमले सबैलाई समेटने र डाक्टरहरुको सो रोगबारेको क्षमता अभिवृद्धि गर्ने बताईन् ।

‘यो मास्टर क्लासले आगामी दिनमा उपचारको स्तर वृद्धि गर्नेछ र युवा डाक्टरहरुको नयाँ समूह आउने छ, जसले मानिसहरुको उपचारको स्तरलाई माथि उठाउन सहयोग गर्नेछ,’ डा. देवकोटाले भनिन् ।
शुक्रबार र शनिवार संचालन हुने सो स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लास उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स (न्यूरो अस्पताल, बाँसबारी) मा आयोजना गरिएको हो ।
स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लासमा यो विषयका विशेषज्ञहरु डा.संजय कार्की, डा.मनोज कुमार, डा.राम कुमार घिमिरे, डा।राजु पौडेल, डा।बाबु राम पोखरेल, डा.पंकज जलान, डा.विवेक रौनियार, डा.अभिनास चन्द्र, डा.लेख जंग थापाले नेपालभरबाट छनौट गरेर आएका करिब ३० जना डाक्टरहरुलाई स्ट्रोक थ्रोम्बोलाईसिस उपचार बिधि बारे जानकारी दिए।

स्ट्रोक थ्रोम्बोलाईसिस मास्टर क्लासलाई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका साथै ग्राण्डी इन्टरनेशनल हस्पिटल, नर्भिक इन्टरनेशनल हस्पिटल, नेपाल मेडिसिटी हस्पिटल, अन्नपूर्ण इन्टिच्यूट अफ न्यूरोलोजीकल एण्ड एलाइड साइन्सेज र सिजर्नीले यसअघि देखि नै यो उपचार बिधि समर्थन गर्दै शुरु गरिसकेका छन् । सन् २०१६ मा स्थापना भएको नेपाल स्ट्रोक एशोसिएसनले सन् २०१७ मा पहिलो पटक इन्टरनेशनल स्ट्रोक कन्फ्रेन्स आयोजना गरेको थियो, जून नेपालमा स्ट्रोक म्यानेजमेन्टको क्षेत्रमा कोशेढुंगा साबित भएको थियो । स्ट्रोकको उपचार लामो समय लाग्ने किसिमको उपचार भएको र उपचारको लागि सुविधाजनक अस्पतालमा पठाउन कठिन अवस्थामा यसको उपचार गुणस्तरीय तरिकाले हुन सकोस भनेर फिजिसियन र नर्सहरुका लागि तालिम आयोजना गरिएको हो । सो तालिम प्राप्त फिजिसिजन तथा नर्सहरुले देशका विभिन्न भागहरुमा स्ट्रोकको प्रभावकारी उपचार गर्न सक्षम हुनेछन् ।
 

Last modified on 2018-12-18 06:48:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts