सरकारले उत्पादन गरेका विशेषज्ञ चिकित्सक लाइसेन्स विहीन



Download our app to get more features

काठमाडौं १० पुष । सरकारले देशभर विशेषज्ञ चिकित्सकको अभावलाई पुर्ती गर्न वि.सं. २०७२ देखि आफै विशेषज्ञ चिकित्सक एमडी पढाउन सुरु गर्यो । तीन वर्षमा  पहिलो ब्याज पासआउट भएका छन् । चिकित्सक अभाव झेल्न सरकारले चिकित्सा शास्त्र अध्ययन सस्थान आईओएम, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीको पठन पाठन ०७२ देखि सुरु गरेको हो । पहिलो व्याजमा ७२ जना विशेषज्ञ चिकित्सक पास भएका छन्  । तर, उनिहरुको लाइसेन्स नभएका कारण सेवामा अवरोध भएको छ । एमबीबीएसको प्रमाणपत्र भएपनि विशेषज्ञ सेवा दिन नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ लाइसेन्स प्रमाणपत्र परिक्षा पास गर्नुपर्छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने, हामीले ७२ जना विशेषज्ञ चिकित्सक उत्पादन गरेका छौं । तर, उनिहरुको लाइसेन्स नभएका कारण पोष्टिङ्ग गर्न समस्या भएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार देशभर करिब ६ सय विशेषज्ञ चिकित्सक कार्यारत छन् भने अझै ३ हजारको संख्यामा आवश्यक छ । सोही आवश्यकता पुर्ती गर्न सरकार आफैले तीन वर्ष अगाडीबाट एमडीको पढाई सुरु गरेको हो । 

स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिलमा अस्थाई प्रमाणपत्र उपलब्ध गराउन पत्रचार गरेको छ । काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, पत्र प्राप्त भएको छ । त्यस विषयमा हामी छलफलरत छौं । तर, विशेषज्ञ सेवा दिनका लागि परिक्षा पास अनिवार्य छ । सरकारले नै उत्पादन गरेका चिकित्सक भएपनि विशेषज्ञ चिकित्सक लाईसेन्स अनिवार्य रुपमा पास गर्नै पर्छ । 

काउन्सिलका अनुसार ७२ जनाले परिक्षा पास नगरि विशेषज्ञका रुपमा सेवा दिएको पाइए गैरकानुनी ठहरीने छ । काउन्सिलले आगमी फाल्गुन अन्तिममा विशेषज्ञ चिकित्सक दर्ता परिक्षा लिदैछ । सो परिक्षामा उनिहरु सामेल भई पास गर्नुपर्ने छ । दुई महिना सम्म उनिहरुको पोष्टिङ्ग रोकिदा सेवामा गंभिर समस्या देखिने मन्त्रालय बताउँछ । 

मन्त्रालयका अधिकारी भन्छन, ७२ जना सबैले परिक्षा पास नगर्न सक्छन्, त्यस बिचमा काउन्सिलले अस्थाई प्रमाणपत्र उपलब्ध गराएको खण्डमा सेवा संचालनमा सहज हुने थियो ।
 

Last modified on 2018-12-26 09:47:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts