स्वास्थ्यमा नयाँ 'फड्को': औषधिको प्रभावकारिता अब रगतमा मापन हुने



Download our app to get more features

काठमाडौ १३ पुस । सरकारले औषधिले शरीरमा काम गरे नगरेकोबारे स्वस्थ मानिसको रगतमा मापन गर्ने भएको छ । औषधिको गुणस्तर माथि चौतर्फिरुपमा प्रश्न उठेपछि अब बजारमा आउने औषधिको प्रभावकारिता स्वस्थ मानिसको रगतमा मापन गरिने भएको हो । औषधिको सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागले यस्तो कदम चालेको जनाएको छ ।

औषधि व्यवस्था विभाग र चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमबीच प्रयोगशाला संचालन र प्रभावकारीता मापनका लागी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

 

औषधिको प्रभावकारीता नेपालमा पहिलोपटक जाँच
सरकारले नेपालमा प्रयोग हुने औषधिको प्रभावकारीता पहिलोपटक जाँच गर्न लागेको हो । यसअगाडी गुणस्तर मात्रै मापन हुँदै आएको थियो, विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भने । उनका अनुसार औषधिले शरीरभित्र कति काम गरेको छ, त्यसका आधारमा मात्रै औषधि बजारमा ल्याउन दिइने छ । 

जेनेरिकको औषधिमा प्रश्न 
जनस्वास्थ्य ऐन २०७५ ले चिकित्सकले औषधि सिफारीस गर्दा अनिवार्य रुपमा जेनेरिक नाममा सिफारीस गर्नुपर्ने व्यवस्था गरेको छ । जेनेरिक नाममा औषधि सिफारीस गर्दा बजारमा उपलब्ध एकै खालका औषधिहरु एक आपसमा प्रयोग गर्न मिल्ने हुन जरुरी रहेको छ । एकैखालका औषधिको समकक्षता कायम भएको हुनुपर्दछ । त्यसैले जेनेरिकका नाममा गुणस्तरीय औषधि उत्पादन गरेपनि त्यसको प्रभावकारीता कम हुनसक्ने देखेपछि त्यसलाई रोक्न सरकारले बायोइक्युभ्यालेन्स तथा थेरापिटिक ड्रग प्रयोगशाला संचालनमा ल्याएको हो । यसले रगतमा औषधिको मात्रा कति हुनु पर्ने र कति छ भनेर मापन गर्नेछ महानिर्देशक ढकालले भने । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले फर्मास्युटिकल्स इक्युभ्यालेन्सको लागि एकै प्रकारको बनावट मात्रा तथा एकै प्रकारको गुणस्तर निर्धारण विधि हुन जरुरी भएको बताए । थेरापिटिक इक्युभ्यालेन्सको लागि उपलब्ध औषधि स्वस्थ मानिसमा परिक्षण गरी औषधि नियमन निकायले तोकेको समयमा औषधि बायोइक्युभ्यालेन्स तथा थेरापिटिक ड्रग अनुगमन गरिने छ । 

विगतमा परिणाम जाँचिन्थ्यो 
सरकारले अहिलेसम्म बजारमा आएका औषधिको भौतिक गुण, जैविक गुण, परिणाम हेर्दै आएको थियो । तर, अब गुणस्तर मात्रै हेरिने छैन । औषधिले काम गरे नगरेको यकिन गर्न स्वस्थ मानिसको रगतमा परिक्षण गरिने छ । आईओएमका डीन प्रा.डा जगदीश प्रसाद अग्रवालले संझौता एतिहासिक अवसर भएको बताए । उनले भने, चिकित्सकका लागि महत्वपुर्ण अवसर हो । धेरै औषधिमा शंकाहरु छन् । ती औषधिले काम गरेको छ वा छैन, भन्ने बारे आफै मापन गर्न सकिने भएको छ । औषधि उत्पादक कम्पनीले परीक्षण गर्दा नक्कली रिपोर्ट दिनसक्ने भएकाले सरकार आफैले मापन गर्ने भएको हो । 

यसरी हुन्छ जाँच
औषधि व्यवस्था विभागका महानिर्देशक ढकालका अनुसार क्यापसुल, ट्यावलेट फममा रहेका औषधिमात्रै रगतमा जाँच गरिने छ । झोलको मात्रा भने सिधै रगतमा घुल्ने भएकाले त्यसको प्रभावकारीता जाँच गर्न कठिन हुन्छ । कुनै ट्याब्लेट चाँडो घुल्ने हुन्छ कुनै ढिलो तर, त्यसको प्रभावकारीता रगतमा बराबर देखिनु पर्छ । विगतमा परीक्षण गरि राम्रो भनिएको औषधि र नयाँ आएको औषधि स्वस्थ मानिसमा खुवाएर परिक्षण गरिने छ ।
 
औषधि उत्पादक कम्पनीले आफ्ना भोलेन्टियरलाई परिक्षणमा सामेल गराउन सक्नेछन् । उनिहरुलाई तोकिएको रकम र बीमा पनि गरिने छ । औषधि खुवाउनु अगाडी उनिहरुको सबै स्वास्थ्य परीक्षण गरिन्छ । तर, यो निकै ठुलो चुनौतिको विषय पनि हो ढकालले भने ।

Last modified on 2018-12-28 14:42:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts