स्वास्थ्य मन्त्रालयले पठाएन सामाजिक सेवाको रकम, कर्मचारीको आन्दोलन बाधक



Download our app to get more features

काठमाडौं, पुस १३ । सरकारले अस्पतालहरुमा सामाजिक सेवा इकाई स्थापना गरि गरिब विपन्नलाई उपचारमा सहयोग गर्ने कार्यक्रम चलाएपनि पछिल्लो ६ महिनायता बजेट नपाठाउँदा इकाई हरु निरुत्साहित हुन थालेका छन् । साउन महिनामा नै सामाजिक सेवा इकाईहरुमा रकम पठाउनुपर्ने हो तर मन्त्रालयले दोस्रो चौमासिक सुरु हुदाँ पनि पठाउन सकेको छैन ।

सामाजिक सुरक्षा इकाईको रकम नआउँदा बिरामीले पाउने सुवा सुविधा अस्पतालले प्रदान गर्न नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक सेवा इकाई प्रमुख अर्जुन भेटुवालका अनुसार बजेट रकम समयमा नै अस्पतालमा नपठाउँदा काम गर्ने कर्मचारी, अस्पताल लगायत बिरामी समेतलाई मार परेको छ । यस वर्षको सामाजिक सेवा अन्तर्गतको रकम अस्पतालमा समयमा नै नपुग्नुमा कर्मचारीको ढिलासुस्ती भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले दावी गरे । कर्मचारीहरु आन्दोलन गरिरहेका छन् त्यसैले यस्ता कामहरु अड्किरहेका छन् । उनले भने 'कर्मचारीहरुले महत्वपूर्ण कामहरु अड्काएर आफ्ना माग पुरा गराउन दवाव दिइरहेका छन् ।;

स्वास्थ्य मन्त्रालयले देशभर ३६ वटा अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना गरेको छ । त्यस मध्ये केन्द्रिय अस्पतालमा स्वास्थ्य मन्त्रालयबाट सिधैं रकम पठाउनु पर्छ । त्यसमुनीका अस्पतालमा भने प्रदेश सरकारले पठाउँछ । प्रदेश सरकारलाई सिधै अर्थ मन्त्रालयबाट रकम जान्छ । तर सामाजिक सुरक्षा अन्तरगत कुन कुन शीर्षकमा रकम बाँडफाट गर्ने भन्ने योजना स्वास्थ्य मन्त्रालयले नै पठाउँछ । सहुलियत उपचार सम्बन्धी योजना सबै प्रदेशमा पठाइसकिएको मन्त्रालयले जनाएको छ । ढिलासुस्तीका कारण अहिलेसम्म सामाजिक सेवा इकाइको रकम सबै अस्पतालले पाइसकेका छैन् । केन्द्रिय अस्पतालको हकमा एउटाले पनि पाएका छैनन् । सामाजिक सेवा इकाई मार्फत अस्पतालले गरिब, विपन्न, अति विपन्न, एकल महिला लगायतका बिरामीलाई फार्मसी खर्च , खाना तथा बाटो खर्च, रातो कार्ड भएका अपांगहरुले यो सेवा पाउँछन् ।

सामाजिक सेवा इकाइ स्थापना भएका ३६ वटा अस्पतालमा १५ वटा अस्पतालमा स्वास्थ्य मन्त्रालयले रकम पठाउनु पर्छ । कुन अस्पतालमा कति रकम पठाउने भन्ने कुरा मन्त्रालयबाट स्वीकृत भएपनि रकम अझै नगएको हो । सामाजिक सेवा इकाइ अन्तगर्त सरकारले यो वर्ष ३६ वटा अस्पताललाई बजेट मार्फत ६ करोड ९८ लाख रुपैंया छुट्याएको छ । त्यसमध्ये केन्द्रीय अस्पताललाई २ करोड ६५ लाख रुपैया छुट्याइएको स्वास्थ्य मन्त्रालयका बरिष्ठ जेसी सल्लाहाकार सिताराम प्रसाइले जानकारी दिए । 

मन्त्रालयबाट रकम जाने अस्पतालहरु निम्न छन्

वीर अस्पताल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,

परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल,

राष्ट्रिय ट्रमा सेन्टर,

वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,

गंगालाल हृदय रोग अस्पताल,

धुलिखेल सामुदायिक अस्पताल,

केएमसी , सिनामंगल,

सिएमसि, चितावन,

टि.यु. शिक्षण अस्पताल,महाराजगन्ज

पाटन अस्पताल,

नोवेल अस्पताल विराटनगर,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,

कान्ति बाल अस्पताल,

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल

 

यी सवै अस्पतालमा कति रकम पठाउने भन्ने बारेमा मन्त्रालयमा टुंगो लागे पनि कामको ढिलासुस्तिका कारण रकम नपुगेको मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालय स्रोतका अनुसार मंसिरको अन्तिम सातामा मन्त्रालयले स्विकृत गरेपनि कर्मचारीहरु आन्दोलित हुँदा काम अड्किएको छ ।

Last modified on 2018-12-29 06:00:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts