ट्रमा सेन्टरबाट उपचार सेवा लिने बढ्दै

एकै वर्ष एक लाख बिरामीको उपचार



Download our app to get more features

काठमाडौ, १७ पुस । राष्ट्रिय ट्रमा सेन्टरबाट उपचार गर्नेको संख्या वर्षेनी बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्दा सो अस्पतालबाट सेवा लिनेको संख्या निरन्तर बढिरहेको छ ।

अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष ०७४÷७५ मा ओपिडिबाट नयाँ बिरामी ६१ हजार ७ सय ३४ जनाले सेवा लिएका छन् भने इमर्जेन्सीबाट १६ हजार ४ सय ४१ जनाले सेवा लिएका छन् । यस्तै गरीमा फलोअप बिरामीको संख्या २९ हजार ८ सय ४१ छ । अस्पतालले उपलब्ध गराएको तथ्यांक अनुसार अस्पतालमा भर्ना भएको बिरामीको संख्या ३ हजार ८ सय ६१ रहेको छ भने डिस्चार्जको संख्या ३ हजार ८ सय २४ रहेको छ ।

आर्थिक बर्ष ०७३÷७४ मा ट्रमा सेन्टरबाट सेवा लिनेको संख्या आर्थिक वर्ष ०७४÷७५ को भन्दा कम छ । यस वर्षमा ओपिडिमा नयाँ आएका बिरामीको संख्या २९ हजार ७ सय ५९ छ । इमर्जेन्सीबाट भने १० हजार ९ सय ५२ जनाले सेवा लिएका छन् । चालु आर्थिक वर्षमा फलोअप बिरामी १४ हजार ८९ जनाले सेवा लिएको अस्पतालले जनाउको छ । यसैगरी अस्पतालमा भर्ना भएर सेवा लिएका बिरामीको संख्या भने २ हजार ९ सय ८९ रहेको छ भने डिस्चार्ज भएका बिरामीको संख्या २ हजार ८ सय ३३ छ ।

आर्थिक वर्ष ०७२÷७३ मा नयाँ १९ हजार ७ सय ३७ जना विरामीले सेवा लिएका छन् । यस वर्ष इमर्जेन्सीबाट ५ हजार ४ सय ७७ जनाले सेवा लिएका छन् । फलोअप बिरामीको संख्या भने यस वर्ष ८ हजार ५ सय ८६ रहेको अस्पतालले जनाएको छ । अस्पतालमा भर्ना भएर सेवा लिनेको संख्या ३ हजार ७ सय ११ रहेको छ भने डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ९१ जना छ । अस्पतालको तथ्यांक हेर्दा तीन वर्षयता सबै भन्दा कम आर्थिक वर्ष ०७२÷७३ मा बिरामी आएका छन् ।

दैनिक १६ वटासम्म शल्यक्रिया

ट्रमा सेन्टर सञ्चालनको सुरुका दिनमा दैनिक १२ वटा शल्याक्रिया हुनेमा अस्पतालले सेवा विस्तार गरेसँगै अहिले दैनिक १६ वटा शल्यक्रिया हुने गर्छ । आर्थिक वर्ष ०७२÷७३ मा ट्रमा सेन्टरबाट १४ सय ३५ जनाको मेजर शल्यक्रिया भएको छ । पछिल्लो वर्ष भने मेजर र माइनर गरी जम्मा ३ हजार १ सय २९ शल्यक्रिया भएको छ । यस्तैगरी आर्थिक वर्ष २०७४÷७५ मा भने ४९ सय २१ शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालमा आउने विरामीहरुमा महिला भन्दा बढी पुरुष छन् । अस्पतालमा आउने सबै खाले विरामीमा महिला भन्दा पुरुष बढिरहेको अस्पतालले जनाएको छ ।

यसकारण बढे ट्रमा आउने बिरामी

अस्पतालले स्पनाकालदेखि नै सेवामा सुधार गर्दै आएकोले अस्पतालमा सेवा लिनेको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ । न्युनतम शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्दै आएकोले अस्पताल प्रति आकर्षण बढ्दै गएको अस्पतालको दाबी छ । यो अस्पताल ९ मंसिर ०७१  औपचारिक रुपमा सञ्चालनमा आएको हो ।  

दुर्घटना, हिंसा, चोटपटकका कारणबाट हुने स्वास्थ्य समस्या हाडजोर्नी तथा नशा, मुटु शल्य चिकित्सक, प्लाष्टिक सर्जन, नाक, कान, घाँटी र दन्त शल्य चिकित्सा लगायतको पूर्ण विशेषज्ञ सेवा प्रदान हुँदै आएको अस्पतालले जनाएको छ ।

Last modified on 2019-01-02 07:12:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts