ढाडको नशा च्यापिएको उपचारमा प्रभावकारी इन्डोस्कोपी स्पाइन सर्जरी (भिडियोसहित)



Download our app to get more features

विकसित देशहरूमा मेरुदण्ड वा ढाडको नशा च्यापिएको, साँघुरिएको उपचारमा इन्डोस्कोपी स्पाइन सर्जरी प्रयोग हुन थालेको धेरै भयो । यसको प्रभावकारिता विश्वभर बढ्दो छ । मेरुदण्ड वा ढाडको नशा साँघुरो भएको च्यापिएको वा अन्य समस्या भएमा यो प्रविधिबाट कसरी उपचार गरिन्छ ? यसका फाइदा के के छन् भन्ने विषयमा अर्थोपेडिक तथा स्पाइन सर्जन डा. अभय यादवको भनाइ यस्तो छ :-

केही वर्ष अघिसम्म नेपालमा स्पाइन वा मेरुदण्डको दुखाईलाई त्यती वास्ता गरिदैन थियो । सोही कारण पनि स्पाइन सम्बन्धी दुखाई वा रोग लिएर अस्पताल आउने बिरामीको संख्या निकै कम थियो । तर, पछिल्लो समय यस समस्याको बारेमा धेरै सचेत बन्दै गएका छन् । 

के हो इन्डोस्कोपी स्पाइन सर्जरी ?

इन्डोस्कोपी स्पाइन सर्जरी भनेको स्पाइन सर्जरीहरूमा सबै भन्दा नयाँ र उत्तम सर्जरी हो । यसलाई दुरबिनबाट गरिने शल्यक्रिया पनि भनिन्छ ।  स्पाइन वा ढाडको नसा आउने ठाउँ साँघुरो भएको वा नशा च्यापिएको ठाउँमा लोकल एनेस्थेसिया दिई सानो प्वाल पारिन्छ । सो प्वालबाट इन्डोस्कोपीको प्रविधि (दुरविन) शरीरभित्र छिराएर के कस्तो समस्या छ सो हेरिन्छ । समस्या पत्ता लगाएपछि आवश्यक सामाग्री शरीरभत्र पठाएर शल्यक्रिया गरिन्छ । जसलाई इन्डोस्कोपी स्पाइन सर्जरी भनिन्छ । 

कसरी गरिन्छ इन्डोस्कोपी स्पाइन सर्जरी ?

इन्डोस्कोपीमार्फत जुन ठाउँको नशामा समस्या देखिएको छ, त्यहाँ लोकल एनेस्थेसिया दिई सानो प्वाल पारिन्छ । आवश्यक उपकरणको सहायताले  नशामा कहाँ, कति, कसरी बन्द भएको, च्यापिएको वा साँघुरिएको छ एकीन गरिन्छ र सर्जरी गरिन्छ । 

धेरै ठाउँमा समस्या भए इन्डोस्कोपी स्पाइन सर्जरी गर्छ त ? 

एउटा प्वालबाट दुरबिन छिराई इन्डोस्कोपी गरि दुई ठाउँसम्मको शल्यक्रिया गर्न सकिन्छ । धेरै ठाउँमा समस्या आयो भने यो प्रविधि अपेक्षाकृत प्रभावकारी नहुन सक्छ । 

इन्डोस्कोपी सर्जरीका फाइदा 

यो प्रविधिबाट शल्यक्रिया गर्दा धेरै फाइदा हुन्छ । पुरानै तरिकाले शल्यक्रिया गर्दा बिरामीलाई पुरै बेहोस बनाउनु पर्ने, शरीरको धेरै भाग काट्नु पर्ने हुन्छ । पहिला छाला, मासु र हड्डी काटेर मात्र कहाँ समस्या हो थाहा हुने हँुदा निकै अप्ठयारो र झन्झटिलो हुन्थ्यो । यसो गर्दा धेरै मांशपेशी नष्ट हुने, घाउ निको हुन लामो समय लाग्ने, रक्तश्राव धेरै हुने, अस्पतालमा धेरै दिन बस्नु पर्ने, घाउ पाक्ने सम्भावना हुन्थ्यो । साथै खानपानमा पनि मुख बार्नु पर्ने हुन्थ्यो । तर, यो प्रविधिबाट शल्यक्रिया गर्दा त्यस्तो हुँदैन । यसका अन्य फाइदा निम्न छन् :-

  • सानो प्वाल पारेर शल्यक्रिया गर्ने हुँदा घाउ पनि सानो हुने ।
  • पुरै बेहोस बनाउनु पर्दैन । लोकल इनेस्थेसियाबाट शल्यक्रिया गर्ने हुँदा साइड इफेक्टबाट बचाउन सकिने ।
  • रक्तश्राव कम हुने ।
  • घाउ छिट्टै निको हुने ।
  • लामो समय अस्पताल बस्नु पर्दैन । 
  • साधारण खाना खान मुख बार्नु पर्दैन । 
  • तनाव कम, समयको बचत र घाउ छिटो निको हुन्छ ।

पुनः दोहोरिने सम्भावना कत्तिको रहन्छ ?  

यो प्रविधि र पुरानो प्रविधि दुबैबाट शल्यक्रिया गर्दा दोहोरीने सम्भावना उस्तै रहन्छ । तर, पुरानो प्रविधि भन्दा यो हरेक दृष्टिले निकै प्रभावकारी र स्तरीय मानिन्छ ।

सेवा नेपालको सबै अस्पतालमा उपलब्ध छ त ?

यो प्रविधि यति धेरै प्रभावकारी हुँदाहँुदै पनि नेपालमा भने केही वर्ष अघि मात्रै भित्रिएको हो । विस्तारै यो प्रविधि फैलने क्रममा छ । तर, स्पाइनका बिरामी धेरै भएको नेपाल जस्तो देशमा यो प्रविधि सबै अस्पतालमा उपलब्ध नहुनु दुःखद् कुरा हो । यसलाई सबै नागरिकको पहुँचमा पुर्याउन सरोकारवालाले आवश्यक दिन जरुरी छ । 

कत्तिको महंगो छ ?

धेरैमा इन्डोस्कोपी प्रविधि महंगो होला भन्ने भ्रम छ । तर त्यसो होइन, यो प्रविधिबाट शल्यक्रिया गर्दा लगभग पुरानै तरिकाले शल्यक्रिया गरे जत्तिनै खर्च हुन्छ । यसमा लाग्ने खर्च अस्पताल अनुसार फरक फरक पनि पर्न सक्छ । समय, खर्च र साइड इफेक्ट हुने सम्भावना न्यून रहेकाले पनि यो प्रविधि निकै उपयुक्त मानिन्छ ।

Last modified on 2019-01-03 06:30:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts