गलत उपचार पद्धतीको परिणाम : क्यान्सरको बिरामी, पायल्सको उपचार



Download our app to get more features

५–७ वर्ष अघिसम्म क्यान्सर भन्ने बित्तिक्कै अब बिरामीको मृत्यु भईहाल्छ भन्ने आम सोच थियो । कतिपयले त क्यान्सर सरुवा रोग हो बिरामीको वरपर जानु हुँदैन भनेर बिरामीको छेवैमा जान समेत दिदैन थिए । जसले बिरामीको आत्मबल घटेर झनै गलाउने गर्दथ्यो । तर अहिले कम्तिमा क्यान्सर अरुलाई सर्दैन र क्यान्सर हुने बित्तिकै मर्ने होइन भन्ने ज्ञान बढ्दै गएको छ । तर क्यान्सर नै हुन नदिन के गर्न सकिन्छ ? क्यान्सर के हो ? क्यान्सरको कारण के हो ? यसबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतान भने अझै कम छ । जसका कारण क्यान्सर भईसकेपछि मात्र अस्पताल पुग्नेहरु धेरै छन् । र केहीले भने अस्पताल पुगेर पनि डाक्टरले सही परिक्षण गर्न नसक्दा रोग पत्ता लाग्न सक्दैन । बिरामीलाई भित्रभित्रै रोगले खोक्रो वनाईसकेको हुन्छ ।

यही कुरा लागू भयो मेरो ३० वर्षका श्रीमान् जगन्नाथ ढकाललाई । हामीमा क्यान्सर रोगबारे अनविज्ञता भएर होईन, अस्पताल पुगेर पनि डाक्टरले सही परीक्षण नगर्दा भनौ यो उपचार पद्धती गलत हुँदा वर्षाैदेखि रोग एउटा, उपचार अर्काे भयो । म आफै पनि १० वर्ष देखी काठमाडांैमा स्वास्थ्य पत्रकारिता गरिरहेको छु । मेरो मामा एमडी डाक्टर हुनुहुन्छ र हाम्रो भान्जा र भान्जी एमडी गरिरहनु भएको छ । र पनि हामीलाई रोग पत्ता लाग्न १० वर्ष लाग्यो ।

कारण एक मात्र थियो, यहाँको स्वास्थ्य परीक्षण पद्धती गलत थियो । हरेक पटक अस्पताल जाँदा सतही परीक्षण मात्र भईरह्यो । अहिले सोच्छु हामी जस्तो जानेबुझेको परिवारमा त रोग पत्ता लाग्न यो हालत भयो भने दुरदराज जसलाई केही पनि थाहा छैन, त्यस्ता व्यक्तिहरुले त उपचार नै नपाई अकालमै ज्यान गुमाईरहेका छन् । मेरो श्रीमानको दिशामा २०¬–२२ वर्षको उमेर छदा देखि नै रगत देखिने गथ्र्याे तर भनियो यो पायल्स हो । धेरै पटक विभिन्न अस्पतालमा स्वास्थ्य परीक्षण भयो तर सवै ठाँउमा भनियो यो पायल्स नै हो । सोही अनुसार खाने औषधि, मलमको प्रयोग ८ वर्षदेखी गरियो । खानपान कडाईका साथ बारियो । भान्सामा कहिल्यै अदुवालाई प्रवेश दिइएन । भनिन्छ, अदुवा पायल्सको लागि विष नै हो । औषधि खाँदा र मलम लगाउदा केही कम भएको जस्तो लागेर हामीलाई पनि पायल्स नै हो भन्ने भयो । हेर्दा उहाँ सामान्य नै, हृष्ठ पुष्ठ पनि । वर्षहरु बित्दै गए, अनि रोग पनि पुरानो हँुदै गएछ । दिशामा रगत देखिए पनि भित्र कही कतै नदुख्ने, अप्ठयारो अनुभव नहुने । चार महिनाअघि मात्र एक्कासी थकान बढे जस्तो, स्वाँस्वाँ हुने भयो अनि अनुहार पनि बिरामीको जस्तै देखिन थाल्यो । हामीले भान्जी डा. प्रतिभा पराजुलीको सल्लाहमा रगत परीक्षण गरायांै । रगतमा हेमोग्लोबिनको मात्रा घटेर ७ दशमलब ८ पुगेछ । तुरुन्तै २ पिन्ट रगत दिइयो । यति हुँदा पनि हामीलाई थाहा थिएन उहाँलाई क्यान्सर भईसकेको छ भनेर । शायद हामीलाई आजसम्म पनि थाहा हँुदैन थियो की रगतमा हेमोग्लोबिन घटाउने कारक क्यान्सर हो भनेर यदी हामी मनमोहन मेमोरीयल अस्पताल नपुगेको भए ।

भान्जी डा. प्रतिभा पराजुली सोही अस्पतालमा कार्यरत भएकाले हामी रगत चढाउन मनमोहन अस्पताल पुगेका थियौ । यसरी पायल्सका कारण रगतमा हेमोग्लोबिन ७ दशमलब ८ सम्म कमी हँुदैन भनेर मेरो मामा डा. हिरा खड्का, भान्जा डा. रोशन पराजुली, भान्जी डा. प्रतिभा पराजुली र भान्जीका सहकर्मीहरुसँगको सल्लाह पश्चात सोही अस्पतालको सर्जिकल डाक्टरसँग भेट्यौ ।
सर्जीकल टिमका डाक्टरहरुले रगत चढाउन पर्ने अवस्थामा मेरा श्रीमान्लाई देखेपछि पायल्सका कारण यस्तो हुनै सक्दैन, पायल्सका कारण शरीरमा यति धेरै हेमोग्लोबिन घट्न सक्दैन भनेर जीकिर गरे ।  उनीहरुले सामान्य ट्युमर या क्यान्सर पनि हुन सक्नेतर्फ संकेत गरे, हामी झस्कियौ । उनीहरुले तुरुन्तै क्रोनोस्कोपीको टेष्टका लागी प्रिस्क्राईव गर्नुभयो । डाक्टरसँग विवाद पनि भयो, क्यान्सरका सम्वन्धमा । धेरै वटा अस्पतालमा धेरै डाक्टरसँग भेट्दा कसैले पनि क्यान्सरको शंकासम्म पनि गरेका थिएनन् । पायल्स नै हो भनेर आयुर्वेदिक पद्धतिमार्फत उपचार गर्न हामी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको आयुर्वेदिक अस्पताल कीर्तिपुर पनि गयांै । डाक्टर रामआधार यादवले परीक्षण गर्दा उहाँले मलद्धारबाट मासु टुक्रा नै निकालेर हामीलाई अत्याउदै तुरुन्तै अप्रेशन गनुपर्छ भनेर आफ्नो क्लिनकमा बोलाउनुभयो । मापदण्ड विपरित बल्खुमा सञ्चालित डाक्टर यादवको केयर आयुर्वेदिक क्लिनिक जहाँ एकदमै फोहोर र दुर्गन्ध थियो, त्यहाँ लगेर अप्रेशन गराउने योजना भईसकेको रहेछ तर फोहोरमा टिक्न नसकेर फर्कियौ र हामीले डाक्टरलाई सचेत पनि गरायौ, यो क्लिनिक कि डम्पिङ साइट हो भनेर प्रश्न गर्यौ । यस्ता क्लिनक त कति छन् कति निगरानी गरेर कार्वाहीको दायरामा ल्याउने कुरा कुरामा मात्र सिमित छ ।

फेरी प्रसंग जोडांै मनमोहन मेमेरियलका सर्जिकल डाक्टरको क्रोनोस्कोपी गर्ने निर्णयलाई । तर, मेरो श्रीमान बिरामी हुनु भन्दा अगावै थाईल्याण्डमा व्यवसायीक मिटिङका लागी जानुपर्ने कार्यक्रम तय भईसकेको थियो । श्रीमान्लाई रगत चढाउनुपरे पनि सामान्य अवस्थामा नै रहेकाले पारिवारिक सल्लाह बमोजिम थाईल्याण्डको बसाईपछि क्रोनोस्कोपी गर्ने निधो भयो । थाईल्याण्डको एक साताको बसाईपछि नेपाल आए लगत्तै भोलिपल्टै हामी नेपाल मेडिसिटी अस्पताल गयौ । त्यहाँ पनि डाक्टरलाई हेमोग्लोबिनको मात्रा घटेर रगत चढाउन परेको सम्मको सबै हिस्ट्री बतायौ । पायल्सले यत्रो रुप लिदासम्म नि अप्रेशन नगरेको भनेर डाक्टरले हकार्नु भयो तर उहाँ पनि पायल्स नै हो भन्नेमा निश्चिन्त हुनुन्थ्यो । तुरुन्तै अप्रेशन गर्नुपर्छ तर त्यो भन्दा अगाडी पायल्सको आकार कत्रो छ भन्ने पत्ता लगाउन क्रोनोस्कोपी परीक्षण गर्नुपर्छ भन्नुभयो । हामीले भोलिपल्ट नै सो परीक्षण गर्यौ । मेडिसिटीमा आईपुग्दासम्म हामीले यो क्यान्सर हो भन्ने त कल्पना पनि गरेका थिएनौ किनकी हामी यो भ्रममा थियौ कि यो पायल्स हो र पायल्स हो भन्नेमा हामी ढुक्क पनि थियौ किनकी हामीले डाक्टरकै प्रिस्क्रिप्सन बमोजिम वर्षौदेखि औषधि लिईरहेका थियौ । क्यान्सर त कल्पना वाहिर थियो । मआफैले धेरै पटक क्यान्सर विज्ञहरुसँग अन्तरवार्ता लिएकी छु र यस्तो किसिमको क्यान्सर ५० वर्ष नाघेकोलाई बढी हुने सम्भावना छ भनेर धेरैपटक समाचार पनि लेखेकी थिए । तर, मेरो श्रीमानको केशमा यस्तो भएन, उहाँलाई त ३० वर्षको उमेरमा नै यस्तो किसिमको क्यान्सर लागिसकेछ । जब मेडिसिटीमा क्रोनोस्कोपीको रिपोर्ट आयो तब थाहा भयो कि मेरो श्रीमान्लाई त जीवनमा कहिले पनि पायल्स नै भएको रहेनछ । अव झन् झन् डरको कौतुहल्ता बढ्दै गयो, वर्षाैदेखि पायल्स भनेर औषधि लिईरहेको अवस्थामा पायल्स नै नभएको रिपोर्ट आएपछि बायोप्सी टेष्ट गर्यौ । त्यतिन्जेलसम्म लागेको थियो यो सामान्य ट्युमर होला । तर यो त परिवारमा कसैले पनि कल्पना नगरेको, क्यान्सर पो रहेछ । यो रेक्टल (मलद्धार) क्यान्सर रहेछ । सुन्ने बित्तिकै परिवारमा सबैको होस हवास गुमेको जस्तो भयो । केही दिन साह्रै कठिन भयो ।

किनकी अब हामीलाई लाग्यो १० वर्ष अघि देखि पायल्स भन्ठानेको समस्या त पायल्स नै होईन रहेछ । अब शरीरभर क्यान्सरले प्रभुत्व जमाईसक्यो होला । शरीरभर फैलिसक्यो होला । उपचार पनि सम्भव छैन होला भन्ने मात्र लागिरह्यो । क्यान्सरको सेललाई शरीरभर स्थान जमाउन, वर्ष, महिना, दिन कुनुपर्दैन, सेकेण्ड नै काफी हुन्छ भन्नेसम्मको ज्ञान हामीमा छदैथ्यो । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर राजेन्द्रप्रसाद बरालसँग मेरो ८ वर्षअघि देखी नजिकको सम्वन्ध थियो । मैले उहाँसँग धेरैपटक भेटेर क्यान्सरका सम्वन्धमा रेडियो रिपोर्ट बनाएकी थिए । नर्भिक अस्पतालमा मेरा २ जना दाजुसहित म डाक्टर बराललाई भेट्न गए । त्यतिबेला मेरो श्रीमान कामको शिलशिलामा दिल्ली हुनुन्थ्यो । डाक्टर बराललाई पनि सवै हिस्ट्री बतायौ । उहाँले निकै चिन्ता जताउनुभयो यति जाने वुझेको परिवारमा पनि यस्तो घटना निम्तिन्छ भनेर । तर रोगले सानो ठुलो, जानेको, नजानेको भन्दो रहेनछ । हुनत डाक्टर बराल आफै क्यान्सर विशेषज्ञ र पनि उहाँको परिवारमा ५४ जना क्यान्सरबाट पिडित हुनुन्थ्यो । जुन दिन डाक्टर बराललाई हामी भेट्न गएका थियौ त्यतिबेला पनि भन्नुभएको थियो हिजो भर्खरै मात्र मेरो ससुरालाई समेत क्यान्सर भएको थाहा भयो । सायदः डाक्टर बरालले आफ्नो परिवारमा पनि धेरै जनालाई क्यान्सर भएको जानकारी गराउनु हाम्रो लागी गहिरो सहानुभुति र धैयर्तालाई गुमाउनुहुन्न भन्ने प्रेरणाको शन्देश थियो । उहाँले भन्नुभयो ‘तुलसा कत्ति पनि बिचलित नहुनु क्यान्सर निको हुन्छ, त्यो तिमीलाई पनि थाहा छ, मात्र कुन स्टेज हो त्यो महत्वपुर्ण छ, तुरुन्तै उपचार थालिहाल्नुपर्छ ।’

मेरो श्रीमान पनि पेशाले सञ्चारकर्मी हुन । तर कुकुरलाई औधी माया गर्ने, अझ कुकुर शौखीन भनौ न । तीन वर्ष जति भयो हामी कुकुर पालन व्यवसायमा आबद्ध छौ । यही व्यवसायका कारण उहाँ नेपाल भन्दा बढी देश वाहिर पुग्नुहुन्छ । श्रीमान दिल्लीमा नै भएकाले हामीले उतै परीक्षण गराउने सल्लाह गर्यौ र राजीव गान्धी क्यान्सर अस्पतालमा सबै परीक्षण गरियो । त्यहाँको पिटी–स्क्यान रिपोर्ट नआउन्जेल हामी सबै छट्पटाईरहेका थियौ की शरीरभर फैलिसक्यो होला, उपचार सम्भव पो छ कि छैन भन्ने डरले । मनमा यस्तै कुराले ढ्यांग्रो ठोकिरहेको थियो । तर हाम्रो भाग्य बलियो भन्नुपर्छ यति लामो समयदेखी क्यान्सरको लक्षण देखापरे पनि उहाँलाई क्यान्सरले भर्खर भर्खर मात्र छोएको रहेछ अर्थात् एडीनो क्यार्सिनोमा सुरुको अवस्थाको मात्र क्यान्सर भएको पुष्टि भयो । हामीले खुशीको लामो सास फेर्यौ, सुरुको अवस्थाको क्यान्सर त आजभोलि सामान्य जस्तै भईसक्यो । बेलैमा उपचार गरे यो पुर्ण रुपमा निको हुन्छ । हो अब मेरो श्रीमानको शरीरवाट केही समयपछि पुर्ण रुपमा क्यान्सर रित्तिनेछ । उपचारले क्यान्सरलाई घटाउँदैछ । उपचार त एक ठाँउमा छ, त्यो भन्दा ठुलो, महत्वपुर्ण र बलियो त आत्मबल छ मेरो श्रीमान्संग । बरु हामी धेरै तर्सियौ तर सुरुका दिनदेखी मेरो श्रीमान् क्यान्सर भयो भनेर कत्तिपति बिचलित हुनुभएन । त्यसैले पनि होला राजीव गान्धी क्यान्सर अस्पतालका डाक्टरहरु भन्ने गर्छन् यस्तो बिरामी नगन्य मात्रामा हुन्छन् । आत्मवल एकदमै धेरै भएकाले आधा उपचार सकिदासम्म पनि क्यान्सर भएको जस्तो अनुभव आजसम्म पनि गर्नुभएको छैन । डाक्टरहरु भन्ने गर्छन्, ऊ कहिल्यै पनि चिन्तित देखिएनन्, कहिल्यै पनि डराएन । उनमा आत्मवल यति धेरै छ कि उसको आत्मवल देखेर वरिवरिका अरु क्यान्सर बिरामी छक्क पर्छन ।

मेरो श्रीमान्को पहिलो चरणको उपचार सकिएको छ । अप्रेशन अघिको रेडियसन र किमो सकियो र पनि उहाँको स्वास्थ्यमा कुनै पनि फरकपना हामीले भेट्टाएको छैनौ । अहिले पनि आफ्नो व्यवसायमा एक्टिभ हुनुन्छ । पहिला जस्तो अहिले पनि उस्तै, जोश जाँगरमा कत्ति पनि कमी आएको छैन । अब १० दिन पछि अप्रेशनको लागी दिल्ली जानुछ र पनि आफ्नो दैनिक काममा हिडिरहनु भएको छ । पहिलो चरणको रेडियसन र किमोले उहाँको स्वास्थ्यमा थप सुधार आएको छ । उहाँमा देखिएको यो आत्मबलले हामीलाई पनि थप हौसला बढेको छ । क्यान्सर केही होईन, वलियो आत्मवल भए हरेक रोगसँग लड्न सकिन्छ र आत्मबलले क्यान्सरलाई समेत हराउन सक्छ भन्ने उदाहरण भएर उभिनु भएको छ । अरु क्यान्सर बिरामीसँग पनि यस्तै आत्मवल हुनु जरुरी छ । ताकी क्यान्सर नै आत्मबलसंग हारोस् ।

उपचार पद्धती र डाक्टरको दखलतामा अवका नयाँ विरामीले प्रश्न गर्न नपरोस् अनिफेरी पनि डाक्टरको उचित परामर्श र सही परीक्षणको अभावमा अस्पताल पुगेर पनि रोग पाल्नुपर्ने मेरो श्रीमान्को जस्तो अवस्था नदोरियोस् । मैले यो वास्तविकता उजागर गर्नु उद्देश्य भनेको अरुलाई पनि मेरो जस्तै समस्या नदोरियोस् र पिडा भोग्न नपरोस् र बेलैमा सचेत वनाउनु हो । क्यान्सर रोगको उपचार छ, निको हुन्छ र यो उपचार नेपालमै सम्भव पनि छ  । मात्र चिन्ताको विषय यो हो कि, रोग निदानमा किन समस्या आउँछ ?

 

Last modified on 2019-01-03 09:09:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts