औषधि किन्न अक्षयकोष



Download our app to get more features

बलेवा, १९ पुस  । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि एकाइले सहयोग अभियान सञ्चालन गरेको हो । 

गत असोजमा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने गरी अक्षयकोष स्थापना गर्न लागेको हो । लोपोन्मुख अवस्थामा पुगेको स्थानीय सोरठी नाचको प्रदर्शन र स्वस्फुर्त चन्दा दानको माध्यमबाट सहयोग जुटाउने काम चलिरहेको छ । 

एकाइले सञ्चालन गरेको अभियानमा हालसम्म रु ११ लाख ७० हजार सङ्कलन भएको एकाइ प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए। “हामीले स्थानीय सोरठी समूहसँग सहकार्य गरेर बेँसीजनमा देउसीभैलो खेलिरहेका छौँ”, भण्डारीले भने, “देउसीमा दान गर्ने र एकाइलाई माया गर्ने सबैको सहयोगले हाम्रो लक्ष्यभन्दा धेरै रकम सङ्कलन भएको हो ।” 

रु पाँच लाखको अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ शुरु गरिएको अभियानमा झण्डै १०० जनाले सहयोग गरेका छन् । स्थानीयवासीले रु पाँच हजारदेखि ६० हजारसम्म सहयोग गरिरहेको भण्डारीले जानकारी दिए । सहयोगकै भरमा आवश्यक सामग्रीको जोहो गरेर एकाइ सञ्चालनमा आएको थियो । गाउँपालिकाले स्थापना गरेको स्वास्थ्य एकाइका लागि एक अहेब, एक अनमी र एक कार्यालय सहयोगी काममा खटाइएको छ । 

सामुदायिक स्वास्थ्य एकाइका लागि गाउँपालिकाले उपलब्ध गराएका औषधि प्राप्त नहुने भएकाले औषधिको व्यवस्था गर्न र कार्यालय व्यवस्थापन तथा उपचार सामग्रीको व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न लागिएको भण्डारीले जानकारी दिए। 

“एकाइमा आउने सबै औषधि बच्चाका लागि दिन नमिल्ने खालका हुन्छन्”, भण्डारीले भने, “एकाइले दिन मिल्ने सबैखाले औषधि कसैलाई किन्न नपरोस् भनेर अभियान थालेका हौँ ।” अक्षयकोष स्थापना अभियानका लागि गाउँलेले खुलेर सहयोग गरेका छन् । स्वास्थ्य एकाइले सञ्चालन गरेको अभियानले गाउँलेलाई सहयोग पुग्ने भएकाले आफूहरूले खुलेर सहयोग अभियान चलाएको स्थानीय खुमबहादुर भण्डारीले बताए । 

“एकाइ स्थापना हुनुपूर्व सामान्य स्वास्थ्य सेवा लिनका लागि समेत घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो”, भण्डारीले भने, “गाउँमै स्थापना भएको एकाइलाई सवल बनाउनका लागि हामीले दिल फुकाएका छौँ ।” अक्षयकोषका लागि व्यक्तिगत सहयोगका साथसाथै सामाजिक संस्थाहरूले समेत सहयोग गरेको एकाइले जनाएको छ । सहयोग अभियान जारी रहेकाले रु १५ लाखसम्म सहयोग उठ्ने अनुमान गरिएको छ । सहयोगवापत उठेको रकमलाई कार्यविधि बनाएर परिचालन गर्ने र त्यसबाट आएको ब्याज रकमले एकाइका लागि आवश्यक औषधि, कार्यालयको व्यवस्थापन र उपचार सामग्रीको व्यवस्थापन गरिने छ । 

स्थापना भएको चार महीनाको अवधिमा एक हजार ३२३ बिरामीको उपचार गरेको एकाइले प्रसूति र खोप सेवाबाहेकका स्वास्थ्यचौकीले उपलब्ध गराउने सबै सेवा उपलब्ध गराउँदै आएको छ । प्रत्येक महीना आँखा, दाँत तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको एकाइमा काठेखोलाका विभिन्न वडाबाट बिरामी आउने गरेको प्रमुख भण्डारीले जानकारी दिए। रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts