समस्यामा रुमलिदै कान्तिले पार गर्यो ५६ वर्ष 



Download our app to get more features

काठमाडौं, २२ पुस । कान्ति बाल अस्पतालले आज ५७औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले कान्ति अस्पतालले अब न्याय पाउने बताए । कार्यक्रममा यादवले कान्ति बाल अस्पताललाई कसरी केन्द्रिय अस्पताल बनाउने प्रतिबद्धता जनाए । सो अवसरमा राज्यमन्त्री यादवले अस्पतालका विभिन्न वाडको अबलोकन पनि गरेका थिए ।

कार्यक्रममा अस्पतालका निर्देशक गणेशकुमार राईले कान्ति अस्पताल सरकारको प्राथमिकतामा कहिल्यै नपरेको बताए । सरकारको प्राथमिकतामा नपर्दा अस्पतालले सधै समस्या झेल्न परेको उनले बताए । अस्पतालको चुहिने छाना मुख्य समस्या रहेको उनले सुनाए । उनले कान्ति बाल अस्पताल भए पनि बालमैत्री हुन नसकेको बताए । सधै समस्या भएका कारण बालमैत्री बन्न नसकेको राइले बताए । साथै अस्पतालमा भएका उपकरण  पनि पुराना भइसकेको र यसलाई स्तरोन्नती गर्न जोड दिए । 

कान्ति अस्पतालमा क्यान्सर पीडित बालबालिकाको पनि उपचार हुन्छ । क्यान्सरका र अन्य बिरामीलाई जुनसुकै बेला रगत आवश्यक पर्छ । ‘तर अस्पतालमा रहेको ब्लड बैंक दिनको १२ घण्टा मात्रै खुल्छ ।’ निर्देशक राईले भने ‘अस्पतालमा जनशक्तिको कारण ब्लड बैंक १२ घण्टा मात्रै सञ्चालन गरिरहेका छौं ।’ ब्लड बैंक २४सैं घण्टा सञ्चालन गर्न थप जनशक्ति आवश्यक रहेको राईले बताए । 

यसैगरी अस्पतालमा प्याथोलोजिष्ट र बिरामी कुरुवा घर पनि आवश्यक रहेको निर्देशक डा. राईले बताए । कान्ति अस्पतालमा बिरामी कुरुवा घर छ तर यो प्रर्याप्त छैन । राईले भने ‘बच्चाको अस्पताल भएकोले बिरामी कुरवा एक जनाले मात्र हुँदैन । त्यस्तैले यहाँ कुरुवा घर कहिले पनि खाली हँुदैन् ।’

विविध समस्या भए पनि साधन स्रोतले भ्याएसम्म अस्पतालले प्रभावकारी सेवा दिइरहेको निर्देशक राईले दावी गरे । सरकारले प्रत्येक वर्ष सबै अस्पताललाई बजेट बढाएर पठाउने तर कान्ति बाल अस्पताललाई भने घटाएर पठाउने गरेको राईले आरोप लगाए । आर्थिक वर्ष ०७४÷०७५ मा अस्पताललाई २१ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा चालू आर्थिक वर्षमा १९ करोड २० लाख रुपैंयाँमा मात्रै विनियोजन भएको उनले बताए ।  

राईले कान्ति बाल अस्पताललाई अध्ययन अध्यापन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सरकारसँग आग्रह गरे । अस्पतालमा ३ सय ६८ शैय्याको संरचना भए पनि ३ सय ८ शैय्या मात्रै सञ्चालनमा छन् । अस्पतालको ५२ रोपनी जग्गा खालीे छ । 


 

Last modified on 2019-01-07 13:29:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts