सामुदायिक अस्पताल निर्माण हुने



Download our app to get more features

सुर्खेत, २९ पुस। कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ । 

रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो । शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिम्खडाले संयुक्तरुपमा अस्पातल निर्माण अभियानको घोषणा गरेका छन् । 

उद्घाटन कार्यक्रममा कानूनमन्त्री भण्डारीले कर्णालीको कष्टकर विगतलाई बिदाई गर्ने अभियानमा लाग्नुभएका पत्रकार लामिछानेको प्रशंसा गरे । उनले ३६ वर्ष मात्र आयु भएका कर्णालीका नागरिकको पीडा र आँसुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताए। 

प्रदेशका १० जिल्लाका नागरिकलाई सो प्रतिष्ठानले स्वास्थ्य सेवा दिइरहेको छ । नयाँ स्थापना हुने सो अस्पतालका लागि प्रतिष्ठानले जनशक्ति उपलब्ध गर्ने मन्त्री भण्डारीले आश्वासन दिए । अस्पताल निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए। 

पत्रकार लामछिानेले यार्सागुम्बा बेच्ने तर सिटामोलका लागि तड्पिने कर्णालीवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पताल निर्माण अभियानमा लागेको बताए । उनले अस्पताल निर्माणमा तीनै सरकारको सहयोगको अपेक्षा रहेको बताए । यो काममा राजनीतिक वा अन्य कुनै स्वार्थबाट अलग रहेर काम गर्न उनले आग्रह गर् । 

कार्यक्रममा नगर प्रमुख बरालले अनुमानित रु १० करोड लागतमा अस्पताल निर्माण गरिने बताए। स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने बताउँदै उनले सो अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराए । 

प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही, सुशिला शाही, प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावल, अस्पताल निर्माण अभियानका सदस्य डा मुकुल ढकालसहितले निर्माणकार्य अभियान उदाहरणीय बनाएर लैजानुपर्नेमा जोड दिएका थिए। रासस

Last modified on 2019-01-13 13:49:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts