सबै वडामा प्रसूति केन्द्र स्थापना



Download our app to get more features

बेझाड, ३० पुस । पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ । 

स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका त्यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत मिलेको छ ।  प्रसूति सेवा नहँुदासम्म जिल्ला सदरमुकाम तानसेन जानुपर्ने बाध्यता थियो । 

गाउँपालिकालाई शून्य होमडेलिभरी पालिका बनाउन जनप्रतिनिधिको पहलमा सबै वडामा प्रसूति सेवा केन्द्र स्थापना गरिएको हो । 

चालू आर्थिक वर्षको साउनयता ८२ सुत्केरी भएकोमा ७८ ले स्वास्थ्य संस्थामा पुगेर बच्चा जन्माएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक शिवप्रसाद अर्यालले बताए। करीब ९५ प्रतिशत गर्भवती सुरक्षित किसिमबाट स्वास्थ संस्थामा पुगेर सुत्केरी भएको पाइएको छ । यसलाई शतप्रतिशत पु¥याउन गाउँपालिकाले स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । 

गाउँपालिकामा संस्थागत सुत्केरी बढाउन स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माउने महिलालाई प्रोत्साहन स्वरुप रु एक हजार ५०० रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। 

गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य सेवाको पहुँच बढाउन प्रत्येक वडामा गर्भवती तथा सुत्केरीको तथ्याङ्क सङ्कलन, वस्तुस्थितिको अध्ययन र योजना निर्माण गरिएको छ । 

यसैगरी पूर्ण पोषण र बालमैत्री गाउँपालिका घोषणाका लागि गाउँपालिकाले तयारी गरिरहेको छ । पूर्ण पोषणयुक्त गाउँपालिका घोषणाका लागि महिला स्वास्थ्य स्वयंसेविका, सहयोगी सहजकर्ता तथा अन्य सरोकारवालाई तालीम प्रदान गरिएको छ । रासस

Last modified on 2019-01-14 11:25:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts