औषधि उद्योगीको आरोपः नेपाली औषधि बजारलाई निर्भर बनाइराख्न भारत 'लगानी' गर्दैछ



Download our app to get more features

काठमाडौं, ३० पुस । स्वदेशी औषधि उद्योगीहरुले सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा स्वदेशी उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने लेखेपनि कामले भने बेवास्ता गरेको गुनासो गरेका छन् ।

उनीहरुले स्वदेशी उद्योगलाई धरासायी बनाउन भारतले अनुचित लगानी गर्ने गरेको पनि दावी गरेका छन् । राजधानीमा आइतवार स्वास्थ्य पत्रकार मञ्चसँग अन्तक्र्रिया गर्दै नेपाल औषधि उत्पादक संघका पदाधिकारीहरुले नेपाली उत्पादनलाई धरासायी बनाउँदै आफ्नो दवदवा कायम राख्न खोजेको बताएका हुन् । औषधि उत्पादक संघका अध्यक्ष दीपक प्रसाद दाहालले नेपालमा औषधिको निर्भरता बढाउन भारतले नेपाली आयातकर्तामार्फत लगानी गर्ने गरेको बताए । उनले भने, 'भारतले औषधि उत्पादन र निर्यातलाई प्राथमिकतामा राखेको छ । विदेशमा भारतीय औषधिको बजार विस्तार गर्न उसले अनुचित लगानी गरेर आयातकर्ताहरु मार्फत चलखेल गर्छन ।' भारतले एक प्रतिशत औषधि उत्पादन गरे नेपाललाई निःशुल्क औषधि दिनसक्ने भन्दै दाहालले नेपालमा पनि भारतीय बजारका औषधि सस्ता र गुणस्तरीय भन्ने देखाउन नेपाली औषधि उद्योग र उत्पादनविरुद्ध प्रचार गरिएको आरोप लगाए ।

अध्यक्ष दाहालले औषधि व्यवस्था विभाग लगायत निकायका अधिकारीहरुलाई समेत भारतीय कम्पनी र औषधि नियामक कम्पनीहरुले प्रभावमा पार्ने जिकिर पनि गरे । 'स्वदेशी कम्पनी भ्रमण गर्न आइदिनुस न भन्दा नमान्ने तर भारतीय कम्पनीहरु दुईचार दिनमै दर्जनौं अवलोकन गर्ने यो कस्तो विभेद हो ?' दाहालले प्रश्न गरे ।

उनले बजेट र नीति तथा कार्यक्रममा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने र औषधि लगायत वस्तुमा आत्मनिर्भरताको बाटो लिने लेखिएपनि व्यवहारमा ठीक विपरित भएको बताए ।

संघका महासचिव प्रज्ज्वलजंग पाण्डेले भारतीय बजारका औषधि र नेपाली बजारका औषधिलाई बेढंगी तवरले तुलना गरेर नेपाली बजारमा नेपाली उत्पादनप्रतिको विश्वास घटाउन खोजिएको आरोप लगाए । उनले डब्लुएचओको रिपोर्टको हवाला दिँदै भारतमा उत्पादन हुने १० प्रतिशत औषधि कमसल भएको बताए  । 'अझैपनि ३० प्रतिशत औषधि भारतबाट अवैध रुपमा नेपाल आउने गरेको छ । त्यसलाई नियन्त्रण नगर्दासम्म स्वदेशी उद्योग फस्टाउन सक्दैन ।' पाण्डेले भने ।

कार्यक्रममा औषधि उत्पादक संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भारतीय उत्पादनसँगको निर्भरता बढाउन खोज्नु भनेको स्वदेशी उद्योगलाई धरासायी बनाउनुभएको धारणा राखे । उनले स्वदेशी उद्योगहरु गुणस्तरमा धेरै अगाडी रहेको भन्दै स्वदेशी उद्योगको अवलोकन गर्न सबै निकायलाई अपिल गरे ।कार्यक्रममा संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठ, महेश गोर्खाली, संस्थापक अध्यक्ष, प्रदीप वैद्य, औषधि उद्योगी बाबुराम भट्टराई लगायतले नेपाली औषधि उद्योगको अवस्था, राज्यले गर्नुपर्ने दायित्व लगायतका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

मञ्चका अध्यक्ष कल्पना आचार्यले औषधिको विषय प्राविधिक तथा बढो संवेदनशील विषय रहेको भन्दै समाचार लेख्दा विशेष ध्यान दिनुपर्ने बताइन । उनले पत्रकारहरु वाच डगको भूमिकामा समेत रहेको भन्दै खबरदारी गरी राख्ने बताइन । 

केहीदिन अघि बसेको औषधि परामर्श समितिको बैठकमा औषधिको मूल्य निर्धारण र स्वदेशमै बन्ने औषधिहरुको आयात रोक्ने विषयले प्रवेश पाएसँगै औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघबीच शीतयुद्ध सुरु भएको छ । औषधि आयातकर्ताहरुले भारतीय औषधि गुणस्तरीय र सस्तो भएको र नेपाली औषधि कम्पनीले बढि मूल्य असुलेको आरोप लगाएसँगै नेपाली औषधि उत्पादक संघले आफ्नो धारणा सार्वजानिक गरेको हो ।

Last modified on 2019-01-15 10:28:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts