राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीको तालाबन्दी, भोलीदेखि इमरजेन्सी बाहेकका सेवा ठप्प पारिने



Download our app to get more features

दाङ, २ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । 

पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग गर्दै आन्दोलनमा उत्रेका कर्मचारीहरुले दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार तालाबन्दी गरेका हुन् ।

कर्मचारी संघर्ष समितिको आहृवानमा कर्मचारीहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालयका साथै प्रशासनिक कक्षमा तालाबन्दी गरिएको र भोलीदेखि इमर्जेन्सी, प्रसूतिबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् ।

साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिमा कार्यरत कर्मचारीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समायोजन गर्नुपर्ने, करार सेवाका कर्मचारी र चिकित्सकलाई हटाउन नपाइने, साउनदेखि रोकिएको तलब दिनुपर्ने लगायतका आठ बुँदे माग राखेर कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिष्ठानले तत्काल म्याद थप गरेर समायोजन गर्नुको साटो साविक अस्पताल विकास समिति र सरकारका करार कर्मचारीलाई निस्कासन गर्न पत्र तयार पारेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका अध्यक्ष हिमराज गौतमले बताए । 

उनले आफूहरुले उठाएका माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।
 

Last modified on 2019-01-16 13:55:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts