नर्सको संख्या ८५ हजार, २५ हजार मात्रै सेवामा



Download our app to get more features

काठमाडौं, ३ माघ । नर्सहरुको बेरोजगारीले चरम सिमा नागेको छ । ८५ हजार ८ सय ६ जना नर्स उत्पादन भएकोमा देशभर करिब २५ हजार मात्रै रोजगार छन् । बाँकी करिब ४ हजार ८ सय ६ जना नर्स बेरोजगार छन् । बेरोजगार नर्स मध्ये सेवा परिवर्तन गर्ने, विदेशिने र मृत्यु हुनेको संख्या २० हजार माथि रहेको छ ।

सरकारी, निजी अस्पताल तथा नर्सिङ होममा नर्सहरुमाथी चरम आर्थिक तथा सामाजिक शोषण हुने गरेको नेपाल नसिंङ् संघ आफै बताउछ । नर्सहरु माथि हुने गरेको चरम शोषण नै आर्थिक हो । उत्पादन भएका नर्सलाई राज्यले रोजगारी दिन नसक्नु र सेवामा आवद्ध भएका नर्सहरुले पनि सन्तोक भएर बिरामीको सेवामा लाग्न नपाउनु आफैमा दुखको कुरा हो । देशको समग्र स्वास्थ्यको अवस्था हेर्ने हो भने, ६० प्रतिशत स्वास्थ्य सेवा नर्सहरुको भरमा छ । 

सरकारी सेवामा १२ हजार मात्रै 
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय देशमा ८५ हजार ८ सय ६ जना नर्स दर्ता भएका छन् । जसमध्ये ४९ हजार ८ सय ४० नर्स बेरोजगार छन् । सरकारी र निजी अस्पताल र विभिन्न स्वास्थ्य सस्थामा गरी २५ हजारको संख्यामा नर्सहरु कार्यरत रहेका छन् । सरकारी सेवामा १२ हजारको संख्यामा नर्सहरु रहेको स्वास्थ्य मन्त्रालय नर्सिङ शाखाले जनाएको छ । निजी स्वास्थ्य सस्थामा झण्डै १३ हजारको हाराहारीमा नर्सहरु कार्यरत रहेका छन् । 
तत्कालीन कम्युनिटी नर्सिङ प्रशासक कबिता अर्यालका अनुसार निजी स्वास्थ्य सस्थामा काम गर्ने नर्सहरुको एकिन तथ्याङक छैन । तर १२ हजार अनुमान गरिएको छ ।  

एक हजार जनसंख्यामा एक भन्दा कम नर्स 
विश्व स्वास्थ्य संगठनले प्रति एक हजार जनसंख्या बराबर २.५ अर्थात कम्तिमा ३ जना नर्स आवश्यक पर्ने बताएको छ । नेपालमा भएका २५ हजार नर्स र नेपालको कुल जनसंख्यालाई आधार बनाउँदा एक हजार जनसंख्यामा एक नर्स पनि पर्न आउँदैन । हाल २५ हजार नर्सले २ करोड ६४ लाख बढी जनसंख्यालाई सेवा प्रवाह गरिरहेको अवस्था छ । 

विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार नेपालमा प्रति एक हजार जनसंख्यामा ०.४ नर्स पर्ने गरेका छन् । यो दर अत्यन्तै न्युन हो । भारतमा प्रति एक हजार जनसंख्यामा २ जना नर्स छन । भुटान १, श्रीलङ्का २, चीन २, बेलायत ९, अमेरिका १०, अष्ट्रेलिया ११ र जापानमा ११ जना नर्स प्रति एक हजार जनसंखयामा रहेका छन् ।  

सबै नर्स खपत हुन सक्छ  
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८ हजार ३ सय १४ स्वास्थ्य संस्था रहेका छन् । हालको जनसंख्यालाई आधार मान्दा हाल नेपालमा ६८ हजार ४ सय ९० जना नर्सको आवश्यकता रहेको छ । अहिले ५० हजार बढी नर्सहरु बेरोजगार रहेको अवस्थामा यो जनशक्ति स्वदेशमा खपत हुन्छ ।  सरकारले संघिय संरचना संगै वडा, विद्यालय र उद्योग क्षेत्रमा एक जना नर्स राख्ने नीति लिएको छ, यदी सरकारले लिएको यो नीति लागू गरेको खण्डमा हाल ५० हजार नर्सले वेरोजगार भएर बस्नु पर्दैन । सामान्य तया १ सय वेडको अस्पतालमा एक नर्सले ४ देखि ५ विरामी हेर्छन । तर नेपालका स्वास्थ्य सस्थामा एक नर्सले नजरल वेडमा ४० जना सम्म बिरामी हेर्ने गरेका छन् । 

आईसियुमा एक विरामी १ नर्स ईमजेन्सीमा १ विरामी २ नर्स हुनु पर्छ । अप्रेशन थ्रिएटरमा १ बिरामी ३ नर्स आवश्यक पर्छ । तिन सिफ्ट गर्दा १ सय वेडको अस्पतालमा ७० जना नर्स चाहिन्छ । यसलाई आधार मान्दा हाल देशमा भएका स्वास्थ्य सस्थामा ६८ हजार ४ सय ९० जना नर्स खपत हुन्छ । 

स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्थाको संख्या 
केन्द्रीय अस्पताल                             ८ 
स्वास्थ्य विज्ञान प्रतिष्ठान                     ६
क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल अस्पताल      १८
जिल्ला अस्पताल                             ८४
पिएचसी                                        १९८
स्वास्थ्य चौकी                                ३,३००
बर्थिङ सेन्टर                                 २००
निजी स्वास्थ्य सस्था                        ४५००

जम्मा                                           ८,३१४ 

यसरी हुन्छ बेरोजगारीको समाधान
देशभर ३४ हजार विद्यालय रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विद्यालय एक नर्सको कार्यक्रम अगाडी सारेको छ । केही विद्यालयमा भने नर्स राख्न विज्ञापन समेत भएको छ । सरकारलले विद्यालयमा किशोर किशोरीलाई  यौन तथा प्रजनन शिक्षा र उनिहरुको स्वास्थ्यका बारेमा विद्यालय तहबाटै जानकारी गराउन एक विद्यालय एक नर्स राख्ने कार्यक्रम ल्याएको हो । देशमा नर्सको बेरोजगारीले चरम सिमा नाघेका बेला सरकारले ल्याएको उक्त कार्यक्रम पूर्णरुपमा पालना भए कुनै पनि नर्सले बेरोजगार भएर बस्नु पर्ने छैन । ८५ हजार ८ सय ६ जना नर्स दर्ता मध्ये ठुलो संख्यामा विदेश गएका छन भने कतिपयको मृत्यु भइसकेको छ । त्यस्तो संख्याको खोजि गर्नेहो भने झण्डै २० हजार नर्स कम हुन आउँछ ।

Last modified on 2019-01-17 14:25:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts