नेपाल नर्सिङ दिवस

नर्सिङ पेशा: चुनौति नै चुनौति !



Download our app to get more features

आज नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

नर्सहरु स्वास्थ्य प्रणालीको परिवर्तनका संवाहक हुन् । जुन सुरुवाती दिनदेखि नै पुष्टि भएको हो ।

आज पनि बिरामीहरुको सम्पूर्ण जिम्मेवारी नर्सको काँधमा हुन्छ । नर्सहरुको लगनशिलता र कठिन परिश्रमले नर्सिङ पेशालाई थप विशिष्ट बनाएको छ । मानिसको स्वास्थ्य र समग्र स्वास्थ्य क्षेत्रमा नर्सिङ पेशाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । जनस्वास्थ्यकर्मीका नाताले नर्सहरुले अस्पतालमा मात्र नभई बिरामीको परिवार र समाजलाई पनि हेरचाह एवं परामर्श सेवा दिने गर्छन् । बिरामीसँग निकट भै सेवा प्रदान गर्ने भएकाले पनि नर्सिङ पेशाको आवश्यक्ता झनै बढेको छ । अहिले प्रत्येक परिवारले उनीहरुको हेरचाह गर्न घरैमा एकजना नर्स भइदिओस् भन्ने चाहना राख्छन् । यसलाई सम्मानजनक पेशा मानिएपनि उनीहरु आर्थिक शोषणको शिकार बन्न बाध्य छन् । 

नेपालमा करिब ३० हजार नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्य छन् । पछि गएर जागिर पाउने आशमा धेरै नर्स स्वयंसेवीका रुपमा अस्पतालहरुमा काम गर्न बाध्य छन् । पैसा हुनेहरु थप अध्ययनका लागी विदेश जान्छन् भने केही नर्सले मात्र नेपालको निजी मेडिकल कलेज एवं अस्पतालमा जागिर पाउँछन् । 

नर्सहरुको बढ्दो विदेश पलायनले नेपालमा क्षमतावान नर्सहरु बढ्न सकेका सकेका छैनन् भने पुराना नर्सहरु प्रतिस्थापन हुन सकेका छैनन् । विकसित मुलुकहरुले नेपाल जस्ता विकासउन्मुख राष्ट्रबाट क्षमतावान नर्सहरु लानु पनि अर्को समस्या हो । विदेश जाने मोहका कारण पनि नया पुस्ता नर्सिङ पेशातर्फ आकर्षित छन् । उनीहरुले विदेश गएर थप तालिम र शिक्षा लिनुपर्ने हुन्छ । विदेश पलायन हुनुका मुख्य कारणहरुमा महत्वाकांक्षा, थप अध्ययन, स्वदेशमा रोजगारीको अभाव, असन्तुष्टी र विदेशमा प्राप्त हुने थप पैसा र सुविधा हो । एक अध्ययनमा उल्लेख भएअनुसार ५५ दशमलव २२ प्रतिशत नर्स आफ्नो पेशाबाट सन्तुष्ट छैनन् । 

यतिमात्र हैन, नर्सहरु राम्रो कमाई र पेशागत सन्तुष्टीका लागी खाडी मुलुक जस्तै, दुबई, मलेशिया पनि जाने गरेका छन् । उनीहरुले अस्पताल र नर्सिङ होममा अझै जागिर पाएका छैनन् । उनीहरु अझै होमकेयर नर्सिङमै सीमित छन् । जसले गर्दा उनीहरुमाथि घरेलु कामदारको व्यवहार हुने गरेको छ । एकजना नर्सले (नाम खुलाउन नचाहेकी) दुवईबाट फर्किएर आएपछि पैसामात्र सबै कुरा नभएको इज्जत र प्रतिष्ठा ठूलो नभएकाले आफु फर्किएको गुनासो गरिन् । खाडी मुलुक गएका नर्सहरुले बिरामीसँगै एउटै कोठामा सुत्नुपर्ने एवं  विदा नपाउने लगायतका समस्या भएको उनको अनुभव छ । नर्सहरु परिवर्तन गर्दा बिरामीको हेरचाहमा तलमाथि हुनेभन्दै उनीहरुलाई बिदा नदिने प्रवृत्ति रहेका उनको गुनासो छ । खाडी मुलुकका महिलाले नर्सहरु उनीहरुको श्रीमानहरुलाई आकर्षित गर्न बसेको भनेर दुव्र्यवहार गर्ने गरेको समेत उनले सुनाइन् । 

कम क्षमतावान नर्सहरु उत्पादन हुनुका कारण पनि अस्पतालहरुले विश्वास नगर्ने वातावरण बनेको छ । सबै नर्सिङ कलेजको आफ्नै अस्पताल नहुनाले पनि क्षमतावान नर्स उत्पादन हुन नसकेको अवस्था छ । भर्खरै पढाई सिध्याएका नर्सहरुले धेरै अस्पतालमा बिना पैसा काम गरेको देखेको छु । कुनै अस्पतालले भने पकेट खर्चका नाममा २–३ हजार दिनेको गरेको पनि पाइएको छ । यो भनेको नर्सिङ शिक्षा, उनीहरुको ज्ञान र क्षमताको अवमूल्यन हो । 

त्यस्तै, कार्यभार र विशेषज्ञताको आधारमा हेर्ने हो भने नेपालमा बिरामी र नर्सको अनुपात मिलेको छैन । प्रायजसो अस्पतालमा ३०–४० जना बिरामीलाई १–२ जना नर्सले हेरचाह गर्नुपरेको छ । नर्सको आवश्यक्ता र रिक्तताको आधारमा नर्स पदस्थापन गर्ने संयन्त्र अझै बनाइएको छैन । देशको बढ्दो जनसंख्या र स्वास्थ्यकर्मका लागि अझे धेरै नर्स आवश्यक छ । तर, यसमा खासै सुधार हुन सकेको छैन । 

२४ घण्टे ड्युटी र विभिन्न सत्रमा परिवर्तन हुने ड्युटीले घरपरिवारमा पनि समस्या निम्त्याउने गर्छ । जसले गर्दा धेरै नर्सले आफ्नो पेशा परिवर्तन गर्न बाध्य हुने गरेका छन् । कामको भार, अत्याधिक बिरामीको सेवा तथा कामको जस नपाउने कारणले पनि उनीहरु आफ्नो पेशाप्रति सन्तुष्ट हुन सकेका छ्रैनन् । नर्सिङ पेशाको पेशागत सुरक्षा र थप अध्ययन एवं वृतिविकासको अभाव पनि यसको अर्को कारण हो । 

नेपालमा नर्सहरुलाई कम पैसामा काम लगाउने कारणले विदेश पलायन हुने संख्या बढ्दो छ । केही नर्सले मसँग भने अनुसार उनीहरुले ६ देखि १४ हजारमात्र तलव पाउने गुनासो गरेका छन् । बिएन पास गरेकाले मात्र बढीमा २० हजार पाउने गरेको तीतो यर्थाथ छ । तर, पिसीएल पढ्न तीन लाख र बिएस्सी नर्सिङ पढ्न १२ वा सोभन्दा बढि पैसा लाग्छ । 

अन्त्यमा, नर्सिङ पेशा महान र प्रतिष्ठित छ । मानव सेवा र हेरचाह त्यति सजिलो विषय होइन । यसका लागि कडा मेहेनत र लगनशिलता चाहिन्छ । यदी हामीसँग इच्छा र चाहना छ भने थोरै सुविधामा पनि हामी सन्तुष्ट हुन सक्छौं ।

 

सबैलाई नर्सिङ दिवसको शुभकामना !  

Last modified on 2019-01-29 07:13:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts