पूर्व युवराज पारसलाई भएको हृदयघात ‘वंशाणुगत’



Download our app to get more features


काठमाडौं, १५ माघ । पूर्व युवराज पारस शाहलाई भएको हृदयघात वशांणुगत भएको चिकित्सकहरुले बताएका छन् । 
शाहको स्वास्थ्य अवस्थाबारे जानकारी दिन नर्भिक अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा उपचारको नेतृत्व गरिरहेका मुटुरोग विशेषज्ञ डा। यादवदेव भट्टले वंशानुगत रुपमै उनमा मुटुको समस्या देखिएको बताए ।

उपचारमा संलग्न अर्का चिकित्सक डा। जेपी जैसवालले राजपरिवारको पछिल्लो तीनचार पुस्तामा नै मुटुरोग रहेको स्मरण गरे ।

उनले भने, पूर्व राजपरिवारमा तत्कालिन राजा त्रिभूवन, महेन्द्र र पारसका बुबा ज्ञानेन्द्र शाहलाई पनि हृदयघात भएको थियो । त्यसैले उहाँलाई वंशानुगत रुपमै हृदयघातको जोखिम उच्च भएकाले बारम्बार धमनी खोल्नुपरेको हो । 

चिकित्सकका अनुसार शाहको मुटुको धमनी पुरै रोकिएपनि बेहोस चाहीँ भएका थिएनन् । हृदयघात हुँदा बेहोस नै हुन्छ वा हुनुपर्छ भन्ने नभएको चिकित्सकले जानकारी दिए । शाहलाई कडा हृदयघात भएपछि सोमवार नर्भिक अस्पतालमा राखिएको हो ।

अस्पतालका अनुसार शाहको अरु पक्ष सुधारात्मक रहेपनि कोलस्ट्रोल नियन्त्रणमा आउन नसकेकाले जोखिम कायमै छ । शाहको स्वास्थ्य अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले दुईपटक फोन गरेर जानकारी लिएको पनि अस्पतालले जनाएको छ ।

Last modified on 2019-01-30 07:08:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts