इन्फ्लूएन्जा एच वान एन वानको संक्रमणबाट ५ जनाको मृत्यु  



Download our app to get more features

काठमाडौं, १६ माघ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पुसदेखि हालसम्म करीब डेढ महिनाको अवधिमा इन्फ्लूएन्जाका कारण ५ जनाको मृत्यु भएको हो । उनीहरूको काठमाडौंको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इन्फ्लूएन्जा सेन्टरमा मंसिरदेखि हालसम्म ६ सय ४ इन्फ्लूएन्जाको आशंकामा र्‍याल परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण गरिएका बिरामीमध्ये ३ सय ५ जनामा इन्फ्लूएन्जा देखिएको थियो ।

त्यसमध्ये २ सय ७२ जनामा इन्फ्लूएन्जा एच वान एन वान देखिएको थियो भने १४ जनामा एच  थ्री देखिएको थियो । यस्तै २९ जनामा इन्फ्लूएन्जा बी प्रमाणित भएको महाशाखाले जनाएको छ । 

जनस्वास्थ्य प्रयोगशालामा इन्फ्लूएन्जाको आशंकामा दैनिक ६० जनासम्म र्‍याल परीक्षणका लागि आउने गरेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला इन्फ्लूएन्जा सेन्टरका कन्सल्टेन्ट डा. विष्णु उपाध्ययले बताए ।
काठमाडौं लगायत देशभर प्रकोपको रूपमा देखिएको इन्फ्लूएन्जा स्वाइन फ्लू नभएको उनले बताए ।

‘इन्फ्लूएन्जाको आशंकामा परीक्षणका लागि आउनेहरूमा विभिन्न अस्पतालमा भर्ना भएका बिरामी छन्,’ डा. उपाध्ययले भने, ‘तर यो स्वाइनफ्लू होइन । 

मौसम परिवर्तनसँगै भाइरल इन्फेक्सनका कारण काठमाडौं उपत्यकामा इन्फ्लूएन्जाको संक्रमण बढेको चिकित्सकहरूले बताएका छन् । इन्फ्लूएन्जा भाइरल संक्रमणको रूपमा देखिएकाले सजकता अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

दीर्घरोगी तथा अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा इन्फ्लूएन्जाको संक्रमण छिटो देखिने गरेको डा. पुनले बताए । उनले भने, ‘मौसम परिवर्तनको समय भएकाले अहिले इन्फ्लूएन्जाका कारण मासिहरू त्रसित बनेका छन् ।’

यस्ता व्यक्तिलाई बढी जोखिम 

६५ वर्ष माथिका वृद्धवृद्धा
बालबालिका
अंग प्रत्यारोपण गरेका व्यक्ति
छातिसम्बन्धी रोग भएका व्यक्ति 
मधुमेह, उच्च रक्तचाप तथा दमका बिरामी
दीर्घरोगी 

अन्तिम अवस्थामा अस्पताल पुग्दा मृत्यु

इन्फ्लूएन्जा संक्रमित व्यक्ति अन्तिम अवस्थामा उपचारका लागि अस्पताल पुग्दा उनीहरूको मृत्यु हुने गरेका डा. पुनले बताए । 

‘यो भाइरल इन्फेक्सन भएकाले छिटो संक्रमण हुन्छ । अहिलेसम्म मृत्यु भएकाहरू अन्तिम अवस्थामा अस्पताल पुग्दा उनीहरूको मृत्यु भएको हुनसक्छ,’ डा। पुनले भने,  ‘यसले फोक्सोमा संक्रमण गर्ने भएकाले दीर्घरोगीहरूले सामान्य रुघाखोकी लाग्दा घरेलु उपचार गरेर हुँदैन, अस्पताल जानुपर्छ ।’

नेपालमा वर्षाको समय र जाडोको अन्त्यतिर यसको संक्रमण बढी हुने भएकाले इन्फ्लूएन्जाबाट बच्न सजग हुनुपर्ने डा. पुनले बताए ।

इन्फ्लूएन्जाको लक्षण

ज्वरो एकसय डिग्रीभन्दा माथि हुने 
श्वास फेर्न गाह्रो हुने
घाँटी दुख्ने
पखला लाग्ने
बालबालिकामा बान्ता हुने 
यस्ता लक्षण देखिएमा अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुपर्ने डा. पुनको भनाइ छ ।

इन्फ्लूएन्जाबाट यसरी बच्न सकिन्छ 

व्यक्तिगत सरसफाइमा ध्यान दिने 
नियमित सन्तुलित खाना खाने 
धूलोधूवाँबाट बच्ने 
संक्रमित व्यक्तिले सकेसम्म भीडभाडमा नजाने

इन्फ्लूएन्जाको संक्रमण छिटो हुने भएकाले संक्रमित व्यक्ति र घरका अन्य सदस्यले सरसफाइमा विशेष ध्यान दिनुपर्ने डा. पुनको भनाइ छ ।

Last modified on 2019-01-30 12:46:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts