चिसोले बिरामीलाई सकस



Download our app to get more features

जुम्ला, १७ माघ । हिमपातसँगै जुम्लामा बढेको अत्यधिक चिसोका कारण बिरामीको सङ्ख्या पनि बढेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार दैनिक एकसयभन्दा बढी चिसोका बिरामी आउने गरेका छन् । चिसोका कारण दम, रुघाखोकी, झाडापखाला र पेट दुख्ने बिरामी बढेका हुन् । चिसोले बिरामीलाई निकै सकस भएको छ । चिसो तथा अन्य समस्याका कारण बिरामीको सङ्ख्या बढेपछि प्रतिष्ठानले उपचारमा चासो बढाएको जनाएको छ । 

प्रतिष्ठान भर्ना भएका चिसो तथा अन्य रोगका बिरामी जुम्ला, मुगु र कालिकोटका बढी छन् । गत हप्तादेखि भइरहेको हिमपातसँगै अत्यधिक बढेको चिसोले जनजीवन कष्टकर बन्नाका साथै हवाई उडानसमेत हुनसकेको छैन । 

कालीकोट र मुगुबाट गाडीमा आउने बिरामीलाई निकै सकस भएको छ । प्रतिष्ठानका चिकित्सक सूर्यमान लिम्बूले भने, “अन्य समयको तुलनामा यतिखेर चिसोका बिरामी बढिरहेका छन्, चिसोले विशेषगरी बूढाबूढी, बालबालिका र गर्भवती महिला समस्यामा छन् ।” उनका अनुसार प्रतिष्ठानमा आइसीयुसहित भेन्टिलेटर र अक्सिजन प्लान्टको व्यवस्था भएकाले सिटीस्क्यान गर्नुपर्नेबाहेक अरु बिरामी आएमा अन्यत्र सिफारिश गर्नुपर्ने स्थिति छैन । 

प्रतिष्ठानको आइसीयुमा हाल भीरबाट लडेर गम्भीर घाइते भएका तातोपानी–७ का बालक रोशन कुँवर र ब्रेनस्टोनका बिरामी धनबहादुर रावललाई राखिएको छ भने अन्य सयौँ बिरामी विशेष तथा सामान्य वाडमा उपचाररत छन् । आर्थिक वर्ष २०७४÷७५ मा मात्रै ४५ हजार बिरामीले उपचार सेवा लिएका थिए । प्रतिष्ठानको स्तरोन्नोतिसँगै जिल्लाभित्र र बाहिरका बिरामीको चाप बढ्दै गएको रजिस्ट्रार विश्वराज काफ्लेले बताए। 

उनले भने, “अब चिकित्सक र औषधि नपाएर कर्णालीबासीले मर्नुपर्ने स्थिति छैन, हामीसँग उपकरण र विशेषज्ञ चिकित्सकसहित ४० भन्दा बढी चिकित्सक मात्रै छन् ।” प्रतिठानले आफ्नो सेवा विस्तार र कर्णालीका स्वास्थ्यकर्मीको क्षमता विकास गर्न कालीकोट, मुगुलगायत कर्णालीका जिल्ला अस्पतालमा गएर उपचार पद्धतिबारे स्वास्थ्यकर्मीलाई आवाश्यक ज्ञान, सीप दिने गरेको डा सूर्यमान लिम्बूले बताए। 

बिरामी नरेन्द्र सुनारले गत वर्षको तुलनामा यो वर्ष प्रतिष्ठानले न्यानोका लागि आवश्यक कम्मलको व्यवस्था गरेको जानकारी दिए। रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts